+

‘निमेसुलाइड’ औषधि खाइहाल्ने बानी छ ? मिर्गौला रोगको जोखिम बढाउन सक्छ

२०८१ भदौ  ७ गते १३:०३ २०८१ भदौ ७ गते १३:०३
‘निमेसुलाइड’ औषधि खाइहाल्ने बानी छ ? मिर्गौला रोगको जोखिम बढाउन सक्छ

‘निमेसुलाइड’ औषधिको नाम नसुन्ने शायदै होलान् । यो औषधि टाउको, पेट वा जुनसुकै अंगको दुखाइ हुँदा फार्मेसीबाट सजिलै पाइने र किन्नलाई एकपटक पनि नसोची खाइहाल्ने औषधि मध्येमा पर्छ ।

किशोरी तथा महिलाहरुले पनि महिनावारी पीडाबाट मुक्त हुन सबैभन्दा बढी प्रयोग गर्ने औषधि यही हो । यो औषधिले दुखाइ नियन्त्रण गर्छ । यसमा कुनै शंका छैन । तर औषधिबारे ज्ञान नभई लामो समयसम्म खाँदा शरीरलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा हानि गरिरहेको हुन्छ ।

त्यसकारण चाहे ‘निमेसुलाइड’ हो वा अन्य कुनै औषधि, जुनसुकै औषधि खानुअघि त्यसबारे जानकारी लिनु आवश्यक छ ।

कस्तो हो ‘निमेसुलाइड’ औषधि ?

‘निमेसुलाइड’ दुखाइ निवारक ‘नन्स्टोरोइड एन्टिइन्फ्लेमेटरी’ समूहको औषधि हो । सन् १९८५ मा पहिलो पटक इटालीले लन्च गरिएको सो औषधि विश्वभरका ५० भन्दा बढी देशमा उपलब्ध छन् ।

निम्स औषधिले शरीरको जुनसुकै भागमा दुखाइ र सुन्निने समस्या कम गर्छ । यो औषधि ‘ओभर द काउन्टर’ एकपटक खाँदा ठूलो समस्या निम्त्याउँदैन तर पटक–पटक खाँदा स्वास्थ्यमा समस्या ल्याउँछ । त्यसैले चिकित्सकको निर्देशनमा मात्रै औषधि खानु राम्रो हुन्छ ।

‘निमेसुलाइड’ले शरीरमा के काम गर्छ ?

यो औषधिको सेवनले दिमागमा दुखाइबारे सूचना पुर्‍याउने केमिकललाई रोक्छ । जसकारण केही अवधिसम्म दुखाइको अनुभव हुँदैन वा कम हुन्छ । यो औषधिमा निमेसुलाइड हुन्छ । जसले काइक्लोअक्सिजेनेज भन्ने इन्जाइमको उत्पादनलाई रोकेर अंग सुन्नाउने प्रक्रियामा सघाउने अणुहरुहरुको उत्पादन समेत कम पारिदिन्छ ।

प्रयोग 

‘निमेसुलाइड’ले शरीरमा अस्थायी रूपमा दुखाइबाट राहत प्रदान गर्छ । यसले शरीरमा देखिने यी स्वास्थ्य समस्याको लक्षणमा काम गर्छ ।

– ज्वरो आएमा, जोर्नी, ढाड तथा मासंपेसी दुखाइमा प्रयोग हुन्छ ।

– विशेषगरी महिनावारीमा हुने तल्लो कम्मर तथा पेट दुखाइ कम गर्न पनि महिला तथा किशोरीले यो औषधिको प्रयोग गरिरहेका हुन्छन् ।

– माइग्रेन, तनाव र अन्य कारणले हुने टाउको दुखाइमा यसले राहत दिन्छ ।

– कुनै चोटपटकले शरीरको कुनै भाग सुन्निएमा पनि यसबाट राहत मिल्छ ।

– दाँतसम्बन्धी दुखाइ (बुद्धि बङ्गारा आउँदा, दाँतको उपचारको क्रममा, दाँत निकालेपछि वा दाँतमा ब्रेसेस राख्ने प्रक्रिया र आरसीटी (दाँतको जरा सफा गर्ने)को क्रममा

– रुघाखोकी लाग्दा वा सो कारणले घाँटी सुन्निंदा

– बाथरोगका कारण जोर्नीमा बढ्ने दुखाइमा

कति हुन्छ यसको मात्रा ?

यो औषधि ‘निमेसुलाइड’ नामक ट्याब्लेटको रूपमा बजारमा उपलब्ध हुन्छ । अरू औषधि जस्तो यो औषधिको पनि आफ्नै मात्रा हुन्छ । जुन ५,  १०० र २०० एमजीमा पाइन्छ  । निम्स कति मात्रा भएको खाने भन्ने कुरा चिकित्सकले बिरामीको तौल, उमेर र अवस्था  कतिको सामान्य वा जटिल छ, सो आधारमा खान सुझाउँछन् ।

प्रयोग गर्नुअघि चिकित्सकलाई बताउनुपर्ने कुरा

‘निमेसुलाइड’ वा अन्य कुनै औषधिबाट एलर्जी छ भने यसबारेमा चिकित्सकलाई सूचित गर्नुपर्छ । कलेजो, मिर्गौला वा पेटसँग सम्बन्धित कुनै रोग वा गर्भावस्थामा यो औषधि चिकित्सकको निगरानीमा मात्र प्रयोग गर्नु उचित हुन्छ ।

त्यस्तै, आइबुप्रोफेन, फेनीटोइन, केटोरोल्याक, डिक्लाफेनाक र पारासिटामोल लिंदै गरेको अवस्थामा पनि यो औषधि लिनुपूर्व चिकित्सकलाई सोध्नु आवश्यक रहन्छ ।

सावधानी अपनाउनुपर्ने अवस्था

पहिलेदेखि नै दीर्घ ग्यास्ट्राइटिस, पेटमा रक्तस्राव, अल्सर, मिर्गौला सम्बन्धी समस्या भएको अवस्थामा यो औषधि खान हुँदैन । मुटुको ओपन हार्ट सर्जरीको उपचार गर्नुअघि यो औषधि दिइन्छ । तर यो औषधिका जटिलताका कारण त्यति राम्रो मानिंदैन ।

त्यस्तै, शरीरमा पेटलेट गडबड गर्ने रोग जस्तै, डेंगुमा हेमोरेजिक फिभर (ज्वरो), कोभिड १९ भएका बिरामीमा यो औषधिको प्रयोग गर्नु हुँदैन । यद्यपि यो औषधि कोभिड महामारी आएको बेलामा खाएको पाइयो । जुन गलत हो ।

यो अवस्थामा ‘निमेसुलाइड’को सट्टा पारासिटामोल दिनुपर्छ । यो औषधिको काम दुखाइ कम र ज्वरो घटाउने भए पनि यी अवस्थामा नदिनुको एउटै कारण भनेको साइड-इफेक्ट बढी भई अवस्था थप जटिल बनाउन सक्नु हो ।

अल्पकालीन साइडइफेक्ट

वाकवाकी लाग्नु, डायरिया हुनु, कलेजोको इन्जाइम आवश्यक भन्दा बढी बढाइदिनु, चक्कर लाग्नु जस्ता अल्पकालीन साइड-इफेक्ट देखिन सक्छ ।

औषधिको दुरुपयोगले दीर्घकालीन साइडइफेक्ट

‘निमेसुलाइड’ पारासिटामोल पछाडि दोस्रो चर्चित औषधिको नाम बनिसक्यो । पहिले चिकित्सकले अवस्था हेरेर आवश्यक सही डोज लेखेर खान सुझाउँथे । तर अहिले भने विना सिफारिस सानो समस्या हुँदा पनि खाने गलत परिपाटी छ ।

फार्मेसीले पनि बिरामीले समस्या बताएकै भरमा टन्न यो औषधि सिफारिस गर्छन् । खाने बित्तिकै चट्ट निको पनि भइदिने हुँदा यसको दुरुपयोग भएको पाइन्छ । बिरामी उपचार गराउन नआई आफैं ठीक पार्ने होडमा सेवन गर्दा कालान्तरमा मिर्गौला खराब गर्ने जस्तो गम्भीर समस्या देखा पर्छ । मिर्गौला मात्र नभई पेटमा अल्सर समेत गराउन सक्छ ।

‘निमेसुलाइड’को विकल्पमा कुनै औषधि लिन सकिन्छ ?

निमेसुलाइडको विकल्पमा सुरक्षित रुपमा लिन सकिने औषधि पारासिटामोल नै हो । पारासिटामोलको साइड-इफेक्ट र विषाक्त प्रभाव कम हुने हुँदा यो औषधि खान सकिन्छ । यसले काम पनि राम्रो गर्छ । एउटा टयाब्लेटले दुखाइ कम नभए अर्को थप्न सकिन्छ ।

औषधि ‘ओभर द काउन्टर‘ नलिऊँ

नेपालमा मनलाग्दी औषधि किन्ने र बेच्नेको लेखाजोखा छैन । अरूले सुनेको भरमा औषधि खानेहरूको संख्याको पनि ठूलो जमात छ । घरेलु उपाय र फार्मेसीबाट अन्दाजमा किनेको औषधिबाट पनि निको नहुने सम्भावना देखेपछि मात्र धेरैजसो अस्पताल जान्छन् ।

यो औषधि ओभर द काउन्टर पाइन्छ भन्दैमा चिकित्सकलाई नसोधी खानु हुँदैन । लामो समयसम्म दुखाइकै लागि यस्ता कुनै पनि औषधि विना सिफारिस खानु हुँदैन ।

डा. प्रशान्त त्रिपाठी निम्स औषधि स्वास्थ्य
डा. प्रशान्त त्रिपाठी
लेखक
डा. प्रशान्त त्रिपाठी
इन्टनरल मेडिसिन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ६९१२ अध्ययन : एमबीबीएस (केयु), एमडी (फिलिपिन्स) हाल काठमाडौं धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय