
१० भदौ, काठमाडौं। श्रीकृष्ण जन्माष्टमीका अवसरमा सोमबार काभ्रेमा कन्या पुजन गरिएको छ ।
१२२ वर्षअघि बनेपामा शुरु गरिएको ‘कन्यापूजा’ (रजस्वला नभएका बालिका) लाई हरेक वर्ष यही दिन पूजिन्छ । वि.सं. १९५९ देखि वर्षैपिच्छे कृष्ण जन्माष्टमीका दिन कन्या पुज्दै आएको सनातन कन्या–पूजा प्रबन्ध समितिका मूलकर्ता सुरकृष्ण वैद्यले जानकारी दिए ।
उनका अनुसार केही वर्षदेखि जिल्लाका खड़पु, सांगा, जनागाल, बुडोल, २८ किलो, पलांचोक लगायत विभिन्न स्थानमा समेत कन्या पूजा गरिएको छ । कन्या पूजामा बनेपाका मात्र करिब ७ हजार कन्या पुजिनेछ भने काभ्रेपलाचोकमा सबै गरी १० हजार कन्या पूजिएको छ ।
कन्या पूजामा भोलाखाँ टोलबाट तिन्धारा तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबायाँ पेटीमा कन्या लस्करै बस्छन्। कन्यालाई पुज्न काठमाडौं, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाट पनि भक्तजन आउने गरेका छन् ।
कन्यापूजामा समितिमार्फत १३५ श्रद्धालुले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाई वितरण गर्छन्। पूजामा सामेल प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल दलेररातो टीका लगाइदिने प्रचलन छ ।
रजस्वला नभएका तथा बेल–विवाह नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता छ।
बनेपाका ‘भोछिभोया’ खलक चण्डेश्वरीका सन्तति मानिने भएकाले कुनै जाति या वर्गका आधारमा भेदभाव नराखी उपस्थित कन्याको पूजा गरिन्छ । बनेपा–९ मा रहेको भोलाखाँ टोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्यापूजा सुरू हुन्छ।
किंवदन्तीअनुसार कुनै समय बनेपाका एक नेवार समुदायका व्यक्तिले धेरै दुःख भएपछि घरको बुइँगलमा राखेर आफ्ना घरका कन्यालाई पूजा गरेका थिए। सुरूमा नेवार समुदायका रजस्वला नभएका कन्या मात्र पुजिँदै आइए पनि केही समयपछि सबै जातजातिका कन्यालाई पूजामा सामेल गराउँदै आएको छ ।
कन्यापूजामा नेपाली चलचित्र बर एण्ड बधुको कलाकारहरु आँचल शर्मा, किरण केसी, विजय लामा, बिवेक कर्माचार्य, रबीन्द्र खड़का, कुसुम शर्मालगायतको टोलीले कापी, बिस्कुटलगायत सामग्री वितरण गरेका थिए ।
प्रतिक्रिया 4