+
+

कंगनाको फिल्म ‘इमर्जेन्सी’को भारतीय कांग्रेस र सिख समुदायले किन गरिरहेका छन् विरोध ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते १३:३३

काठमाडौं । बलिउड अभिनेत्री तथा भाजपा सांसद कंगना रनौतले आगामी फिल्म ‘इमर्जेन्सी’ को रिलिज रोकिएको बताएकी छन् । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्मको प्रमाणीकरण रोकेको उनको भनाइ छ ।

एक्समा एक भिडियो सन्देश जारी गर्दै उनले भनेकी छन्, ‘ज्यान मार्ने धम्की धेरै भएकाले प्रमाणीकरण रोकिएको हो । सेन्सर बोर्डका सदस्यलाई पनि धम्की आइरहेको छ । इन्दिरा गान्धीको हत्या हामीमाथि नदेखाउन, पञ्जाबको दंगा नदेखाउने दबाब छ । मलाई थाहा छैन अब के देखाउने हो ।’

उनले भनिन्, ‘थाहा छैन, फिल्म एक्कासि ब्ल्याकआउट भयो । यो विश्वास गर्न सकिंदैन । देशको अवस्था हेर्दा साह्रै नराम्रो लाग्छ ।’ यसअघि उनले दिएको एक अन्तर्वार्तामा किसान आन्दोलनको नाममा ‘बदमास’ले हिंसा फैलाइरहेको बताएकी थिइन् ।

छवि गलत देखाइएको सिख समुदायको आरोप

यो फिल्म रिलिजअघि नै विवादमा परेको छ । फिल्ममा आफूहरुको छविलाई गलत तरिकाले देखाइएको सिख समुदायको आरोप छ । मध्यप्रदेशको सिख संगतले जबलपुरको कलेक्टर कार्यालयसम्म र्‍याली निकाल्यो । कलेक्टर मार्फत प्रधानमन्त्रीलाई बुझाइएको पत्रमा फिल्मलाई पूर्णरुपमा प्रतिबन्ध लगाउन भनिएको छ ।

ट्रेलर आउने बित्तिकै पञ्जाबको बठिंडामा प्रदर्शन सुरु भएको थियो । प्रदर्शनकारीले कंगनाको पुत्ला पनि जलाएका थिए । फिल्मको ट्रेलरमा ऐतिहासिक तथ्यलाई गलत चित्रण गर्दै सिख समुदायको भावनामा ठेस पुर्‍याइएको आरोप छ । फिल्मले सामाजिक दुर्भावना निम्ताउने उनीहरुको भनाइ छ ।

रोबर्ट वाड्राले भने कंगना संसदमा बस्न योग्य छैनन्

कांग्रेस महासचिव प्रियंका गान्धी वाड्राका पति रोबर्ट वाड्राले किसान आन्दोलनको क्रममा कंगनाले दिएको बलात्कारबारेको बयानको निन्दा गरेका छन् । यस्तो व्यक्तिलाई संसदमा बस्न दिन नहुने उनको भनाइ छ ।

वाड्राले भने, ‘उनी (कंगना) महिला हुन् । म उहाँलाई सम्मान गर्छु, तर मलाई लाग्छ कि उहाँ संसदमा बस्न योग्य हुनुहुन्न । उनी शिक्षित छैनन् । मलाई लाग्छ उनले अन्य मानिसको बारेमा सोच्दिनन् । उनी केवल आफ्नो बारेमा मात्र सोच्छिन् । महिला सुरक्षाको मुद्दामा सिंगो देश एकजुट भएर अगाडि बढ्नुपर्छ भन्ने मेरो अपील छ ।’

कंगनाको भनाइप्रति भाजपाले असहमति जनाएको थियो

कंगनाले दिएको अर्को अन्तर्वार्तामा सरकार बलियो नभएको भए पञ्जाब बंगलादेश बन्ने बताएकी थिइन् । जब यो बयानको विरोध भयो, बीजेपीले यो विचार कंगनाको आफ्नै रहेको र पार्टीको होइन भन्यो ।

बीजेपीले अगस्ट २६ मा प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पार्टी कंगनाको भनाइसँग असहमत छ । कंगनालाई पार्टी नीतिका विषयमा बोल्न दिइँदैन । पार्टीले उनलाई यस्तो अभिव्यक्ति नगर्न पनि निर्देशन दिएको थियो ।’

कंगनाको बयानमा विपक्षी नेता राहुल गान्धीले भनेका थिए, ‘बीजेपी सांसदले किसानलाई बलात्कारी र विदेशी शक्तिका प्रतिनिधि भन्नु उनको किसान विरोधी नीति र आशयको प्रमाण हो । खाद्यान्न प्रदायकको इज्जत र मर्यादामाथि हमला गरेर मोदी सरकारले किसानलाई गरेको धोका लुकाउन सकिंदैन ।’

कंगनाले भनिन् डर र धम्कीले इतिहास बदल्न सकिदैन

कंगनाले भनेकी छन्, ‘मलाई यस्तो लाग्छ कि यो देशले बलात्कारलाई महत्वहीन बनाउन कहिल्यै छोड्ने छैन । आज यी वरिष्ठ नेताले बलात्कारलाई साइकल चलाउनेसँग तुलना गरे । रमाइलोका लागि महिलामाथि हुने बलात्कार र हिंसा, राष्ट्रको मानसिकतामा यति गहिरो जरा गाडिएको छ कि ठूला फिल्म निर्देशक वा राजनीतिज्ञ नै किन नहोस् भनेर महिलाको खिल्ली उडाउन प्रयोग गरिन्छ ।’

रनौतले धम्की र धम्कीले इतिहास बदल्न नसकिने बताइन् । ‘१७ वर्षीया युवतीमाथि ३०–३५ गोली चलाइएको थियो । आकाशबाट गोली चलेको थिएन । कसरी मारियो, त्यो देखाउनुपर्छ । कलाकारको आवाज दबाउन कतिपयले उनको निधारमा बन्दुक राखेका छन् । हामी यी सबै कुरासँग डराउँदैनौं,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?