+
+

नेटफ्लिक्स सिरिज ‘कान्दाहार हाइज्याक’लाई लिएर नेपाल र भारतमा किन भइरहेको छ विवाद ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते १४:०६

काठमाडौं । नेटफ्लिक्समा अहिले स्ट्रिमिङ भइरहेको वेब सिरिज ‘आईसी ८१४ : द कान्दाहार हाइज्याक’ चर्चासँगै विवादमा तानिएको छ । यो थ्रिलर सिरिजको चर्चा नेपालमा समेत भइरहेको छ ।

भारतीय यात्रुवाहक जहाजलाई अपहरणकारीले काठमाडौं विमानस्थल हुँदै अफगानिस्तानको कान्दाहार पुर्‍याएको वास्तविक घटनाको कथावस्तुमा सिरिज बनेको छ । यो घटना २४ डिसेम्बर १९९९ मा भएको थियो ।

विजय बर्माको शीर्ष भूमिका रहेको सिरिजको छायांकन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर गरिएको छ । यो सिरिजको प्रस्तुतीकरणलाई लिएर नेपाली नेटिजनले सामाजिक सञ्जालका पेजहरुमा बहस थालेका छन् ।

वास्तविक घटना भएपनि सिरिजको चित्रण यथार्थपरक नभएको उनीहरुको तर्क छ । विमानस्थलमा सुरक्षा खुकुलो बनाइएकोदेखि सुरक्षामा खटिने प्रहरीलाई कमजोर देखाइएको, हाइज्याक गरिंदाको दृश्यमा ‘आई लभ यु काठमाण्डू’ लेखिएको टिसर्ट लगाएर काठमाडौंलाई बदनाम गरिएको तर्क उनीहरुले गरेका छन् ।

पछिल्लो समय भारतीय फिल्मले नेपाल र राजधानी काठमाडौंलाई अपराध गर्ने जक्सन थलोको रुपमा चित्रण गर्दै आएको र यो रोकिनुपर्ने तर्क समेत गरिएको छ । भारतीय फिल्मको उक्त प्रवृत्तिलाई यो सिरिजले निरन्तरता दिएको बताइएको छ ।

भारतमा भने विमान अपहरणमा संलग्न पात्रको नामलाई लिएर विवाद चलिरहेको छ । पात्रको नाम शंकर र भोला जस्ता हिन्दूको नाम राखिएकोप्रति आपत्ति जनाइएको छ । कतिपयले सिरिज बहिष्कारको माग गरिरहेका छन् ।

यो विवादबीच भारतको सूचना तथा प्रसारण मन्त्रालयले नेटफ्लिक्सको भारतका कन्टेन्ट प्रमुखलाई स्पष्टीकरणका लागि बोलाएको छ ।

यो वेब सिरिज ‘आईसी ८१४ : द कान्दाहार हाइज्याक’ पत्रकार श्रीन्जय चौधरी र अपहरणमा परेका विमानका पाइलट क्याप्टेन देवी शरणले लेखेको पुस्तक ‘फ्लाइट इन फियरः द क्याप्टन्स स्टोरी’मा आधारित छ ।

विजय वर्मा, नसिरुद्दीन शाह, पंकज कपुर, अरविन्द स्वामी, मनोज पाहवा, अनुपम त्रिपाठी, दीया मिर्जा, पत्रलेखा, अमृता पुरी, दिव्यन्दु भट्टाचार्य र कुमुद मिश्रा मुख्य भूमिकामा छन् । यो श्रृंखला गत साता (२९ अगस्ट) मा रिलिज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?