+
+
उदीयमान उद्यम :

नेपाली फर्निचर अब्बल बनाउँदै आवास फर्निचर, वार्षिक ४० करोडको उत्पादन

खासगरी आवासबाट उत्पादित डेस्क–बेन्च काठमाडौंका नाम चलेका राम्रा स्कुल, कलेजले पनि प्रयोगमा ल्याउन थालेपछि अहिले माग धान्न नसकेको उद्योगका प्रबन्ध निर्देशक निर्माण बताउँछन् ।

टोपराज शर्मा टोपराज शर्मा
२०८१ भदौ २३ गते १९:०५

२३ भदौ, बुटवल । आधुनिक डिजाइन, आकर्षक अनि लोभलाग्दो फिनिसिङका सामान देख्ने बित्तिकै धेरैको दिमागमा विदेशी होला भन्ने परिहाल्छ ।

तर, रुपन्देही देवदह भलुहीस्थित आवास स्टिल एन्ड फर्निचर उद्योगका उत्पादनले चिनियाँ फर्निचरलाई डिजाइन, फिनिसिङ, गुणस्तर र मूल्य सबैमा टक्कर दिँदै नेपाली फर्निचर पनि अब्बल छन् भन्ने सावित गर्दैछ ।

कोरोना महामारीका बेला भएको ‘लकडाउन’ मा विदेशी फर्निचर आयात प्रतिस्थापन गर्ने गरी युवा उद्यमी निर्माण श्रेष्ठ थैवले गुणस्तरीय र टिकाउ फेन्सी फर्निचर उत्पादन अवधारणा ल्याएका थिए ।

निर्माण बुटवलको औद्योगिक–व्यापारिक घराना आवास ग्रुपको परिवारका तेस्रो पुस्ता हुन् । व्यवस्थापनमा स्नातक अध्ययन गरेका निर्माणले प्लस टु पढ्दैदेखि परिवारको व्यापार हेर्न थालेका थिए।

चिनियाँ कुर्सी, टेबुल, सोफा किनेको दुई चार महिनामै टुटफुट हुने समस्या हुन्थ्यो ।  ग्यारेन्टी/वारेन्टी नभएकाले बिक्रीपछिको सेवा नपाउँदा ग्राहकले चिनियाँ फर्निचर प्रयोग गर्दा धेरै दुःख र झन्झट बेहोरेको देखेका उनाले यस्तो समस्या नहुने गरी टिकाउ र आकर्षक फेन्सी फिनिसिङका फर्निचर उत्पादन थाले ।

कोरोनाका बेला विदेशबाट सामान आयात ठप्प भएको थियो । त्यही मौकामा आधुनिक शैलीका फर्निचर बजार ल्याएपछि छोटो समयमै नेपालमा राम्रो पकड बनाउने अवसर निर्माणले पाए । त्यसमाथि स्कुल–कलेजका डेस्क, बेन्च र पार्टी चेयरमा १० वर्ष, अफिस कुर्सीमा एक वर्ष, आउटडोर फर्निचरमा दुई वर्ष वारेन्टी दिएपछि विदेशी फर्निचरको सट्टा आवास फर्निचर धेरैको रोजाइ बन्न थाल्यो ।

बाहिरी आँखाले मात्र नभई आवासका फर्निचर गुणस्तर र टिकाउमा पनि चिनियाँ र भारतीयभन्दा अब्बल भएपछि हरेक वर्ष माग र उत्पादन बढ्दै गएको छ ।

विदेशी फर्निचर हेर्दा आकर्षक भए पनि बिक्रीपछिको सेवा (टुटफुट भए गुनासो गर्ने र मर्मत गर्ने सुविधा ) नभइरहेको अवस्थामा आफ्ना उत्पादन पुगेका ठाउँमा मिस्त्री पठाएर मर्मत सुविधा दिएपछि आवासका फर्निचरप्रति विक्रेता र उपभोक्ता आकर्षण ह्वात्तै बढेको हो ।

बजारमा आवास फर्निचरको माग बढेपछि एउटा उद्योगले माग अनुसार पुर्‍याउन सकेन । अनि, रुपन्देही भलुहीसँगै काठमाडौं नैकापमा पनि उद्योगको उत्पादन इकाइ सञ्चालनमा आइसकेको छ ।

खासगरी आवासबाट उत्पादित डेस्क–बेन्च काठमाडौंका नाम चलेका राम्रा स्कुल, कलेजले पनि प्रयोगमा ल्याउन थालेपछि अहिले माग धान्न नसकेको उद्योगका प्रबन्ध निर्देशक निर्माण बताउँछन् ।  काठमाडौं सहित आवास फर्निचर सातै प्रदेशमा पुगेको उनले बताए ।

उनका अनुसार काठमाडौंका बर्नहार्ट कलेज, लिभरपुल इन्टरनेसनल कलेज, आदिम नेसनल कलेज, काठमाडौं भ्याली स्कुल, क्याम्ब्रिज पब्लिक स्कुल लगायतमा आवासका डेस्क–बेन्च प्रयोगमा आएका छन् । जसलाई विद्यार्थी र शिक्षकले समेत एकदमै मन पराएको कलेज र स्कुल सञ्चालकको भनाइ छ ।

आवासले घरायसीदेखि अफिस, होटल, रिसोर्ट, रेस्टुरेन्ट, बैंक तथा वित्तीय संस्था लगायत सबै क्षेत्रमा प्रयोग हुने फर्निचरका दर्जनौं फेन्सी डिजाइन उत्पादन बजार ल्याएपछि  चिनियाँ र भारतीय फर्निचर प्रयोग गर्दै आएका नेपाली उपभोक्ताको ध्यान खिच्न सफल भयो ।

उद्योगले डेस्क–बेन्च साथै इनडोर र आउटडोरमा प्रयोग हुने कुर्सी, टेबुल, रिभल्भिङ कुर्सी, सोफा, भिजिटिङ चेयर र झुला उत्पादन गर्दै आएको छ । उनको उद्योगबाट विभिन्न मोडेल र डिजाइनका १ हजार थरी कुर्सी उत्पादन हुने गरेको छ ।

फेन्सी डेस्क–बेन्च र झुला उत्पादन गर्ने यो नेपालकै पहिलो उद्योग भएको सञ्चालकको दाबी छ ।

उद्योगले रुपन्देही र काठमाडौंमा गरी  करिब ४ सयलाई प्रत्यक्ष रोजगारी दिएको छ । उद्योगमा रोजगारी दिँदा विशेषगरी महिला र स्थानीयलाई प्राथमिकता दिइएको छ ।

आवास स्टिल फर्निचरमा काम गर्ने कामदार पनि सबै स्थानीय छन् । ‘६० प्रतिशतभन्दा बढी महिला कामदार छन्, महिलाहरू अलि बढी लगनशील पनि हुन्छन्, काम छाडेर विदेश जाने पनि कम हुन्छ, त्यसैले पनि महिला प्राथमिकतामा पर्छन्,’ उद्योगका अका सञ्चालक याचना थैवले भनिन् ।

उद्योगले अहिले वार्षिक ४० करोड रुपैयाँको फर्निचर बिक्री गरी विदेशबाट हुने आयात प्रतिस्थापन गरेको निर्माणले बताए ।

‘प्रत्येक वर्ष माग र बिक्री बढ्दै गएको छ, गत आर्थिक वर्ष ४० करोडको फर्निचर बिक्री भयो,’ उनले भने, ‘काठमाडौंमा पनि उत्पादन सुरु भएकाले चालु आव ५० करोडभन्दा बढीको आायत प्रतिस्थापन हुने अनुमान छ ।’

उच्च गुणस्तर, आकर्षक डिजाइनका कारण अहिले काठमाडौंका स्कुल/कलेजमा डेस्क–बेन्च माग अत्यधिक भए पनि माग अनुसार उत्पादन र आपूर्ति गर्न हम्मे परेको उद्योगका परिकल्पनाकार निर्माणले बताए ।

‘सुरुका दिनमा नेपाली उत्पादनलाई विश्वास नगर्दा मनमा पीडा भएको थियो, तर अहिले थेग्न नसक्ने गरी माग हुँदा राम्रो उत्पादनलाई बजारको समस्या हुँदैन र विदेशीसँग प्रतिस्पर्धा गर्न सक्दा सन्तुष्टि मिलेको छ,’ उनले भने, ‘हामीले विश्व बजारमा आएका फर्निचरका नयाँ डिजाइनहरू हेरेर अनि रिसर्च गरेर नेपालमै नयाँ डिजाइनका उत्पादन गर्ने हुँदा बजारको समस्या भएको छैन ।’

२०७८ सालमा स्थापना भएको उद्योगले नेपाल सरकार, उद्योग मन्त्रालयबाट उत्कृष्ट नवप्रवर्तनकारी उद्योगमा छनोट भई यो वर्ष पुरष्कृत भएको  छ ।

सरकारले युवालाई स्वदेशमै उद्यम–व्यवसाय गर्न सहज हुने वातावरण बनाइदिने हो भने आफूजस्ता युवा विदेश जान छाडेर स्वदेशमै उद्यमशील बन्न सक्ने उनको भनाइ छ ।

उद्योग सञ्चालक एवं आवास ग्रुपका प्रबन्ध निर्देशक महेश थैवले विदेशी फर्निचर आयातमा लगाइने भन्सार दर वृद्धि गरेर स्वदेशी उद्योग प्रवद्र्धन गर्ने नीति र कानुन बनाउने हो भने आफ्नो उद्योगले वार्षिक १ अर्बको फर्निचर आयात विस्थापन गर्न सक्ने बताए ।

सरकारी तथ्यांक अनुसार हाल नेपालमा वार्षिक ९ अर्ब रुपैयाँको विदेशी फर्निचर आयात हुने गरेको छ । जसमा ६० प्रतिशत चीन र ४० प्रतिशत भारतबाट आयात हुन्छ भने नेपालबाट १४ करोडको  निर्यात हुने गरेको छ ।

नेपालको कूल भूभागको करिब आधा हिस्सा वनजंगल रहेकाले फर्निचर उद्योगमा देशलाई आत्मनिर्भर बनाउन र राज्यलाई ठूलो मात्रामा कर तिरेर योगदान गर्न सकिने सम्भावना रहेको थैव बताउँछन् ।

फर्निचर उद्योगका लागि चाहिने कच्चापदार्थ काठ, स्टिल पाइप, प्लाइउड, रेग्जिन लगायत ९० प्रतिशत सामान नेपालमै उपलब्ध हुने र १० प्रतिशत कच्चापदार्थ मात्र विदेशबाट आयात गर्नुपरेको उद्योगले जनाएको छ ।

कसरी जन्मियो आवास फर्निचर उद्योग ?

निर्माण श्रेष्ठ फर्निचर उद्योगमा आउनुअघि आफ्ना काकाहरू यज्ञश्वर र महेश थैवको लगानी रहेको मणिग्रामस्थित ज्यागुअर इन्डस्ट्रीमा काम गर्थे । ज्यागुअरले पानीको धाराका सामान उत्पादन गर्थ्यो ।

तर, निर्माणलाई त्यहाँ काम गर्दादेखि नै चिनियाँ जस्तै आकर्षक फेन्सी फर्निचर उत्पादनमा रुचि थियो । अनि, सल्लाहमै ज्यागुअर छाडेर देवदह भलुहीमा आवास ग्रुपकै तीन बिघा जग्गा रहेको ठाउँमा आधुनिक फर्निचर उत्पादन गर्ने योजना काकाहरूलाई सुनाए । काकाहरूले पनि निर्माणको प्रस्तावमा राम्रो सम्भावना देखेर फर्निचर उद्योगको नेतृत्व उनैलाई दिए ।

निर्माणका बुबाको दुर्घटनामा परेर मृत्यु भइसकेको थियो । थैव परिवारको पारिवारिक र संयुक्त लगानीमा अरू दर्जन बढी उद्योग सञ्चालनमा छन् ।

उद्योगका लागि चाहिने संरचना निर्माण, फर्निचर उत्पादनका लागि चाहिने मेसिन र काठ, फोम, कपडा लगायत सामग्रीका लागि उनले लगानी गरे । प्लास्टिक दानाबाट डोरी उत्पादन गर्ने मेसिन पनि किने । जग्गासहित यो सबैमा अहिलेसम्मको लगानी २५ करोड पुगेको उनले बताए ।

कोरोना भित्रिएपछिको लकडाउनमा अधिकांश क्षेत्रका उद्योग बन्द भए । तर, आवास स्टिल एन्ड फर्निचर उद्योगको उत्पादन रोकिएन ।

‘कोरोना महामारी अरूका लागि अभिशाप भयो, तर हाम्रो फर्निचरलाई नेपाली बजारमा चिनाउन र छिट्टै स्थापित गर्न वरदान भयो,’ निर्माणले भने, ‘लकडाउनमा पनि उद्योग बन्द भएन, कामदारलाई उद्योगभित्रै राखेर उत्पादन गरियो ।’

लकडाउनका बेला विदेशबाट फर्निचर लगायत सामान आयात बन्द थियो । यसको प्रत्यक्ष फाइदा आफ्नो उद्योगलाई भएको निर्माणले बताए ।

सुरुमा आफ्ना उत्पादनलाई ‘यति राम्रो फिनिसिङका फर्निचर पनि नेपालमै बन्छन् र ?’ भन्दै उपभोक्ताले विश्वास नगरी चिनियाँ नै होला भनेको निर्माण सम्झिन्छन् ।

‘हाम्रा उत्पादन झट्ट हेर्दा चिनियाँभन्दा कम थिएनन्, उस्तै थिए । त्यसैले सुरुका दिनमा व्यवसायी र उपभोक्तालाई विश्वास गर्न कठिन भयो । कतिपय व्यापारीले त चिनियाँ फर्निचर भन्दै बेचेको पनि थाहा भयो,’ निर्माण भन्छन्, ‘तर, प्रयोग गरेपछि अहिले देशभरिबाट राम्रो रेस्पोन्स आएको छ । पहिले चिनियाँ फर्निचर किन्नेले अहिले हाम्रा उत्पादन किन्न थालेका छन् ।’

गुणस्तरमा सम्झौता नगरी उपभोक्ताको मन जितेर प्रतिस्पर्धी मूल्यमा नेपाली उत्पादन स्थापित गरी विदेशी फर्निचर आयात प्रतिस्थापन गरी राष्ट्रलाई योगदान गर्ने नै आफ्नो उद्देश्य रहेको निर्माणले बताए ।

निर्माणलाई उद्योग हाँक्न बहिनी याचना र भाइ आवासले साथ दिएका छन् भने आवास ग्रुपका सञ्चालक काकाहरू यज्ञश्वर र महेशले सल्लाह–सुझाव दिने गरेका छन् ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?