+
+

प्रहरीको ‘सई’ बताउँदै १६ जिल्लामा ठगी गर्ने दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते ९:५०
फाइल फोटो ।

२५ भदौ, सुर्खेत । प्रहरीको सई बनेर विभिन्न १६ जिल्लामा ठगी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिका–६ का २७ वर्षीय विकास बिसी र बाँके राप्ती सोनारी गाउँपालिका–७, बाँके घर भई हाल लालपुर बस्दै आएका ३६ वर्षीय लोकबहादुर खाँण छन् ।

आफूहरु प्रहरीको सई भएको बताउँदै विभिन्न ठाउँमा ठगी गरेको सूचनाका आधारमा प्रहरीले सुरुमा बिसी र त्यसपपछि खाणलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा विभिन्न मुद्दा मिलाउने भन्दै ठगी गरेको खुलेको प्रहरीले जानकारी दिएको छ ।

कसरी खुल्यो पोल ?

चामुण्डा बिन्द्रासैनी नगरपालिका–२, का खगेन्द्र अधिकारी जबरजस्ती करणी मुद्दामा दैलेख कारागार थुनामा थिए । जवरजस्ती करणी र लागुऔषध मुद्दामा अदालतीय प्रक्रियामा जान मेडिकल परिक्षण रिर्पोट आवश्यक पर्छ ।

मेडिकल परीक्षणका लागि कर्णालीमा प्रयोगशाला छैन । त्यसैले खगेन्द्रको मेडिकल परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाइएको थियो । मेडिकल रिर्पोटको आधारमै अदालतीय फैसला हुन्छ ।

रिर्पोट नेगेटिभ आए थुनामा रहेकाहरुले सफाइ पाउनसक्ने अवस्था अधिक हुन्छ । खगेन्द्रको स्वास्थ्य परीक्षण रिपोट समयमै नआउँदा उनको मुद्दा लम्बिरहेको थियो । सोही क्रममा गत साउन २५ गते बिहान खगेन्द्रकी आमा तुलसी अधिकारी (५१)को मोबाइलमा एउटा अपरिचित नम्बरबाट फोन आउँछ ।

फोनमा एक व्यक्तिले आफ्नो नाम पूर्णबहादुर देउवा भएको र आफू विधि विज्ञान प्रयोगशाला काठमाडौँ प्राविधिक प्रहरी नायव निरीक्षक (सई) भएको बताउँछन् । फोन गरेका व्यक्तिले आफूलाई प्रहरी सई बताएपछि तुलसी झस्किइन् ।

ती व्यक्तिले फोनमै तुलसीलाई भनेका थिए, ‘तपाईंको छोराको परीक्षण प्रतिवेदन पठाइदिन्छु, तपाईंले मेरो लेखापाल विकास बिसीको नाममा रहेको एनएमबी बैकको खातामा ५८ हजार रुपैयाँ जम्मा गर्दिनुहोस् ।’

छोराको परीक्षण प्रतिवेदन छिटो आउने आसमा तुलसीले छिमेकी भतिज नाता पर्ने केशवप्रसाद भट्टराईलाई ५८ हजार २३५ रुपैयाँ जम्मा गर्न लगाउँछिन् ।

तर महिना दिन बित्दा पनि परीक्षण रिपोट आएन । तुलसीले जिल्ला प्रहरी कार्यालय दैलेखमा पूर्णबहादुर र विकासले ठगी गरेको भन्दै उनीहरूलाई पक्राउ गरी कानुनी कारबाही गरी पाऊँ भन्ने जाहेरी दिइन् ।

घटनाको विवरण सुनाउँदै जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सुनिल दाहालले भने, ‘घटनाबारे अनुसन्धान गर्दै जाँदा त हामी छक्क पर्‍यौं ।’ तुलसीको जाहेरी पछि दैलेख प्रहरी र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ठगी गर्ने व्यक्तिहरूको अनुसन्धान थाल्यो ।

फोन ट्रेसिङ गर्दै जाँदा गत भदौ ५ गते दैलेख प्रहरीले लेखापाल बताउने खातावाला व्यक्ति बिसीलाई नियन्त्रणमा लिन्छ । उनकै सहारामा आफ्नो नाम पूर्णबहादुर देउवा भएको र आफू प्रहरी ‘सई’ भएको भन्दै ठगी गर्ने खाँणलाई पक्राउ गरेको थियो ।

लोकबहादुरलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले भदौ १८ गते राती साढे १० बजे लेकवेशी नगरपालिका–२, दशरथपुरबाट पक्राउ गरेको डिएसपी दाहाल बताउँछन् ।

उनका अनुसार आफ्नो नाम बदलेर ठगी गर्दै आएका लोकबहादुर नै उक्त ठगी घटनाका मुख्य योजनाकार थिए । त्यसको मोहोरा विकास बनेको अनुसन्धानका क्रममा खुलेको डिएसपी दाहाल बताउँछन् ।

‘ठगीको मुख्य योजनाकार लोकबहादुर भएको र विकास मोहोरा बनेको अनुसन्धानमा खुलेको छ’, डिएसपी दाहालले अनलाइनखबरसँग भने, ‘ठगीको ७० प्रतिशत लोकबहादुर र ३० प्रतिशत विकाशले भाग लगाउँदै आएको देखिन्छ ।’

अनुसन्धान गर्दै जाँदा लोकबहादुरले १६ जिल्लाका १८ जना व्यक्तिलाई नक्कली सई बनेर ठगी गरेको पाइएको डिएसपी दाहालले बताए । हालसम्मको अनुसन्धानबाट विभिन्न जिल्लाका १८ जना व्यक्तिहरूबाट मुद्दा मिलाई दिन्छु भन्दै ५ लाख ६ हजार ५३५ रुपैयाँ ठगी गरेको खुल्न आएको उनले बताए । ‘थप अन्य व्यक्तिहरू समेत ठगिन सक्ने भएकोले त्यस तर्फ समेत अनुसन्धान भइरहेको छ’, उनले भने ।

लोकबहादुरले दैलेख, सुर्खेत, जाजरकोट, कालिकोट, सल्यान, भोजपुर, तेह्रथुम, मोरङ, रोल्पा, उदयपुर, संखुवासभा, दाङ, म्याग्दी, स्याङ्जा, धनकुटा र बाँके लगायत १६ जिल्लाका व्यक्तिहरूलाई ठगी गरेका छन् । उनीहरूले विभिन्न मुद्दाका पीडित र पीडकको स्वास्थ्य परीक्षण गर्नु पर्नेहरूको पहिचान गर्दै तीनका आफन्तहरूबाट पैसा असुल्दै आएका थिए ।

उनीहरूलाई दैलेख जिल्ला अदालतबाट म्याद थप अनुमति लिई हिरासतमा रोखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?