+
+

चाडपर्वमा सबै सडकलाई खाल्डाखुल्डी रहित बनाइसक्छौं : भौतिकमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते १७:४९

२५ भदौ, काठमाडौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चाडपर्वमा सबै सडकलाई खाल्डाखुल्डी रहित बनाइ सक्ने बताएका छन् । राष्ट्रिय सभामा विभिन्न मितिमा सांसदहरूले उठाएका प्रश्नको मंगलबार जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा केही समय वर्षायामका कारण काम गर्न कठिनाइ भए पनि वर्षा कम भएसँगै सडक मर्मत कार्यलाई देशैभरि सुरु गरिएको मन्त्री दाहालले जानकारी दिए ।

अहिले देशभरि करिब ५ हजार किलोमिटर सडक मर्मतको क्रममा रहेको उनले जानकारी दिए । दसैं, तिहार जस्ता चाडपर्वमा सबै सडकलाई खाल्डाखुल्डी रहित बनाइ सक्ने उनको दाबी छ ।

रुग्ण ठेक्काको रूपमा रहेका आयोजनाको समस्या समाधानका लागि मन्त्रालयले प्राथमिकता दिएको उनको भनाइ छ ।

रुग्ण ठेक्काका समस्या समाधान गर्न मन्त्रालयबाट सहसचिवको नेतृत्वमा अध्ययन भइरहेको उनको भनाइ थियो । त्यस्ता आयोजनाको समस्या समाधानका लागि सुझाव दिन निर्माण व्यवसायी महासंघलाई पनि भनिएको उनले जानकारी दिए ।

मन्त्री दाहालले मन्त्रालय र निर्माण व्यवसायीको तर्फबाट प्रतिवेदन आएपछि दुवै प्रतिवेदन अध्ययन गरी निर्णय लिइने बताए ।

चालक अनुमति वितरणमा समस्या जटिल भएको उल्लेख गर्दै मन्त्री दाहालले यो समस्या समाधानका लागि मन्त्रालयले प्राथमिकता सहित मिहिन रूपमा काम गरिरहेको बताए ।

चालक अनुमति पत्र प्रदेश स्तरबाट नै वितरण गर्न आफू नेतृत्वमा सबै प्रदेशका मन्त्रीहरू समावेश विषयगत समितिको बैठक बसिसकेको भन्दै मन्त्री दाहालले अब चाँडै प्रदेशबाट पनि वितरण थालिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?