+
+

इजरायलको केयर गिभरको नतिजा कता अड्कियो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते १९:३७

२५ भदौ, काठमाडौं । केयर गिभरका रुपमा नेपाली नागरिक लैजान इजरायल सरकारले चिठ्ठामार्फत तयार गरेको नतिजा (सूची) सार्वजनिक गर्न ढिलाइ भएको छ ।

यसले गर्दा इजरायल पठाउने कामदार छनोट प्रक्रियामाथि आशंकाहरु बढेका छन् ।

इजरायल सरकारले गत १३ भदौमा रोजगारीका लागि नेपालबाट लैजाने दुई हजार २०० जनाको सूची तयार गरेको थियो । नेपालस्थित इजरायली दूतावासले सामाजिक सञ्जालबाटै चिट्ठा प्रणालीबाट कामदार छनोट गरेर इजरायल लैजानेबारे जानकारी दिएको थियो ।

वैदेशिक रोजगार विभागले तीन हजार ४६१ जना आवेदकको सूची इजरायल सरकारलाई पठाएको थियो । इजरायलले राजधानी जेरुसेलमस्थित जनसंख्या तथा अध्यागमन विभाग (पिबा) मा आयोजित एक कार्यक्रममा चिट्ठा गरेर एक हजार १९६ महिला र एक हजार ६ पुरुष कामदार छनोट गरेको थियो ।

काठमाडौंस्थित इजरायली दूतावासमा केही सरकारी अधिकारी र सञ्चाकर्मीकाबीचमा चिठ्ठा कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिएको थियो । त्यसलगत्तै इजरायलले छनोट भएकाहरुको सूची नेपाल सरकारलाई पठाएको थियो ।

तर, अहिलेसम्म सरकारले सो नतिजा सार्वजनिक गरेको छैन । सरकारले नतिजा सार्वजनिक नगरेपछि इजरायलका लागि फारम भरेकाहरु अन्योलमा छन् । कतिपय नेपालीले खाडीका विभिन्न देशबाट फर्किएर इजरायल जान आवेदन दिएका थिए । उनीहरुलाई तुरुन्तै विदेश फर्किने कि नतिजा कुर्ने भन्ने अन्योल भएको छ ।

सरकारले नतिजा सार्वजनिक गर्न ढिलाइ गरेपछि आशंकाहरु पनि बढेका छन् । इजरायल सरकारले छनोट गरेको सूची नै नेपालका सरकारी निकायले संशोधन गरेको आशंका पनि कतिपयलाई छ ।

बजारमा इजरायल पठाइदिने भन्दै विचौलिया समूहले पैसासमेत उठाइरहेकाले इजरायलले छनोट गरेको सूचीलाई प्रभावित गर्न सरकारले नतिजा प्रकाशनमा ढिलाइ गरेको आशंका बढेको एक आवेदकले बताए ।

‘केही कारण नखुलाई दुई हप्तासम्म नतिजा प्रकाशन नहुँदा सूची नै बदल्ने चलखेल हुने हो कि भन्ने आशंका आवेदन दिने धेरैमा छ’, उनले भने ।

यो विषयलाई लिएर आलोचना हुन थालेपछि श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै यसबारे स्पष्टीकरण दिएको छ ।

मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखाले इजरायल जान आवेदन दिएका केही आवेदकहरुले पेश गरेका कागजातहरुमा कैफियत देखिएकाले हाल कागजातहरु छानबिनको प्रक्रियामा रहेको बताएको छ । ‘छानबिन प्रक्रिया सम्पन्न भएपछि मात्र थप प्रक्रिया अगाडि बढाइने व्यहोरा सरोकारवाला सबैमा जानकारीको लागि अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।

गत २५ साउनमा नै सरकारले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) का लागि आवेदन दिंदा केयर तालिमका लागि भन्दै नक्कली प्रमाणपत्र पेस भएको खुलासा भएपछि सरकारले छानबिन समिति गठन गरेको थियो ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले छनोट प्रक्रियामा पेस भएका कागजातहरूको आधिकारिकताको जाँच गर्नुका साथै समग्र छनोट प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेपनि सो समितिले अझै प्रतिवेदन दिएको छैन ।

इजरायलको रोजगारीमा आवेदन दिन नर्सिङ, सीएमए र अनमीको कोर्स पूरा नगरेकाहरूलाई ३ महिनाको केयर गिभर तालिम अनिवार्य गरिएको थियो । तर, काठमाडौंमा विभिन्न तालिम केन्द्रले तालिम नै नदिई वा छोटो तालिम दिएर ३ महिने तालिमको प्रमाणपत्र बिक्री हुने गरेको खुलासा भएको थियो ।

विभागले सुरुमै इजरायलका लागि परेका ५०० भन्दा बढी आवेदन रद्द गरेको थियो । त्यसमा धेरैजसो सीटीईभीटीबाट मान्यता नपाएका संस्थाहरूको तालिम प्रमाणपत्र पेस गर्नेहरू थिए ।

यसपछि प्रतिव्यक्ति ३० हजार रुपैयाँ लिएर केयरगिभर तालिम पूरा गरेको सर्टिफिकेट बेच्न गरिएको विषय सतहमा आएको थियो । यसरी अरू संस्थाले पनि तालिम नै नदिई प्रमाणपत्र बिक्री गर्ने गरेको पाइएपछि अरू आवेदकको पनि प्रमाणपत्रको आधिकारिता र वैधता परीक्षण गर्न समिति बनाइएको थियो ।

तर, सरकारले प्रमाणपत्रमाथि सुरु भएको अनुसन्धानबारे इजरायल सरकारलाई सूचना दिएन । त्यसमाथि विभागले तीन हजार ४६१ जनाको सूची इजरायलमा पठाएपछि नियमित प्रक्रियाबाटै चिठ्ठा भयो ।

सरकारले प्रमाणपत्र छानबिन भइरहेको भन्दै चिठ्ठापछि प्राप्त नतिजा सार्वजनिक नगरेको पाइएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्री छानबिन प्रतिवेदन आएपछि आवेदकहरुको योग्यताबारे थप पुष््टयाइँ हुने बताउँछन् । छानबिन समितिको प्रतिवेदनका आधारमा के गर्ने भन्ने तय हुने उनको भनाइ छ ।

अब सरकारले इजरायललाई नक्कली सर्टिफिकेट भेटिएकाहरु बाहेकको सूची इजरायलमा पठाएर फेरि चिठ्ठा गर्न लगाउँछ कि छनोट भइसकेका दुई हजार २०० जनाको सूचीबाट अवैध प्रमाणपत्रवालालाई इजरायल जान रोक्छ भन्ने स्पष्ट छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?