+
+
विचार :

३४ वर्षमा ३० सरकार : कुशासनको लागि जिम्मेवार को ?

३४ वर्षमा गठन भएका ३० सरकारमध्ये कांग्रेस नेतृत्वमा १३ वटा सरकार (१७ वर्ष ७ महिना), एमाले नेतृत्वमा ६ वटा सरकार (७ वर्ष १ महिना), माओवादी नेतृत्वमा ४ वटा सरकार (५ वर्ष ६ महिना) सञ्चालन भएका छन् । तर खोइ सुशासन ?

प्रेमबहादुर सिंह प्रेमबहादुर सिंह
२०८१ भदौ २५ गते १४:५२

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा र रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन् ।

यसको परिणाम स्वरूप एकातिर देश निर्माणको लागि युवा जनशक्तिको अभाव खट्किएको छ भने अर्काेतर्फ शैक्षिक संस्थाहरू खण्डहरमा परिणत हुने गम्भीर अवस्था सृजना हुँदैछ । यसको एक मात्र कारण ‘कुशासन’ नै हो भन्नेमा कसैको पनि दुईमत नहोला ।

देशमा सुशासन नहुनाको कारक तत्व के हो ? यसको मूल जिम्मेवारी कसले लिनुपर्दछ ? यसबारे सार्थक बहस अपरिहार्य भएको छ । कसैले पनि जिम्मेवारी लिनु नपर्ने परम्पराको अन्त्य हुनुपर्दछ । जो कसैले पनि असल कामको जस र खराब कामको अपजस लिनै पर्दछ । यसो नगर्दा जसले जे गरे पनि हुने, दोष गुणको भागीदारी हुनु नपर्ने कारणले यो अवस्था सिर्जना भएको हो ।

जनताको बलिदानीपूर्ण संघर्षबाट देशमा पञ्चायती निरंकुश व्यवस्था अन्त्य भई बहुदलीय व्यवस्था पुनस्र्थापना भएको ३४ वर्ष भयो । ३४ वर्षमा ३० वटा सरकार भए तर जनताको जीवनमा किन अपेक्षित परिवर्तन भएन ? देश किन गरिबीको दुष्चक्रबाट मुक्त हुन सकेन ? विकासको विराट सम्भावना भएको देशमा किन विकासले अपेक्षित गति लिन सकेन ?

यो ‘कुशासन’ को कारक वा जिम्मेवार को हो ? यसको पहिचान गरी जिम्मेवारीबाट भाग्न नपाउने र आफूले गरेका काम प्रति जिम्मेवार हुनैपर्ने परिपाटी नबसाल्ने हो भने फेरि पनि देशमा सुशासन, विकास र समृद्धिको सपना साकार हुन सक्दैन । यो केवल नारामा मात्र सीमित हुन जान्छ ।

बहुदलीय व्यवस्था पुनर्स्थापनापछिका ३४ वर्षमा निम्न सरकारहरू गठन भई शासनको बागडोर सम्हालेको देखिन्छ ।

यसको संक्षिप्त विवरण हेरौं :

माथिको तालिका हेर्दा देशमा बहुदलीय व्यवस्था पुनस्र्थापना पश्चात् अहिलेसम्म ३४ वर्षको अवधिमा २९ वटा सरकार गठन भई देशको बागडोर सम्हाले पश्चात् आम जनताको चाहना बमोजिम राष्ट्रिय हितको रक्षा गर्न पछिल्लो सरकार गठन भएको छ ।

यस्तै ‘भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन, संविधान लागू भए पश्चात् देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानून निर्माणलाई प्राथमिकता दिने’ उद्घोेषका साथ एमालेको नेतृत्वमा एमाले कांग्रेसको सरकार गठन भएको अवस्था छ ।

विगत ३४ वर्षमा गठन भएका २९ सरकारमध्ये कांग्रेस नेतृत्वमा १३ वटा सरकार (१७ वर्ष ७ महिना), एमाले नेतृत्वमा ६ वटा सरकार (७ वर्ष १ महिना), माओवादी नेतृत्वमा ४ वटा सरकार (५ वर्ष ६ महिना) गठन भई प्रमुख तीन दलको नेतृत्वमा ३० वर्षमा २३ वटा सरकार बनेका छन् ।

यी २३ वटा सरकारमध्ये कृष्णप्रसाद भट्टराईको सरकार र मनमोहन अधिकारी नेतृत्वको सरकारको पालामा ऐतिहासिक कामहरू भएका, ती कामहरू नेपाली जनताले हमेसा सम्झिरहेका छन् । ती ऐतिहासिक कामहरू इतिहासको पानामा सदा अंकित रहने छन् ।

तर विडम्बनाको कुरा उहाँहरूको संसद्बाट सम्मानजनक वा स्वाभाविक बिदाइ हुन नसक्नु उहाँहरूप्रति घोर अन्याय र अपमान थियो । यी तीनवटा सरकार बाहेक तीन दलको नेतृत्वमा गठन भएका प्रत्येक सरकारले राष्ट्रिय हितको रक्षा, सुशासन, विकास र समृद्धिको नारा अघि सारे तर भयो के ? स्थिति सबैको सामु छर्लङ्गै छ ।

यसै कालखण्डमा ठूल्ठूला भ्रष्टाचारका काण्डहरू भए तर दोषीलाई कारबाहीको कुरा छोडौं उन्मुक्ति दिने मात्र होइन कतिपयलाई पुरस्कृत समेत गर्ने काम भयो । दण्डहीनता र कुशासनका कारणले देशको अर्थतन्त्र धरासायी भयो, विकासले गति लिन सकेन, देश गरीबीको दुष्चक्रबाट मुक्त हुन सकेन ।

यति मात्रै होइन, जनताको जीवन कष्टकर बन्यो, युवाहरू शिक्षा र रोजगारीका लागि विदेशिन बाध्य भए । यही हो नेपालको आजको वास्तविक यथार्थ । यो सबै देश दुनियाँलाई जगजाहेरै छ ।

देशमा प्रजातन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र र जनाधिकार प्राप्तिको आन्दोलनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) र मधेशवादी दलहरूको महत्वपूर्ण भूमिका रहेको छ । प्रजातन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र र जनाधिकारका लागि यिनै प्रमुख दलले पटक–पटक गरेको वलिदानीपूर्ण योगदान सदा स्मरणीय छ ।

ऐतिहासिक परिवर्तनको संवाहक रहेका यी राजनीतिक दलहरूको नेतृत्वमा देशले सुशासन, विकास र समृद्धि किन हासिल गर्न सकेन ?

आजको यक्ष प्रश्न यही हो । हिजो अरू कसैले देशलाई यो स्थितिमा पुर्‍याएको भए प्रमुख दलहरूले अब हामी सुधार गर्छौं भन्न सुहाउँथ्यो, तर आफैंले देशलाई यो स्थितिमा पुर्‍याउने भूमिका खेलेका दलहरूले अब शाब्दिक प्रतिबद्धता व्यक्त गरेर मात्र पुग्दैन, किनकि यस्ता प्रतिबद्धताहरू हिजो पनि गरिएका थिए तर पूरा भएन ।

यसैले विश्वसनीय आधार पक्कै चाहिन्छ । विश्वसनीय आधार भनेको विभिन्न कालखण्डमा भएका भ्रष्टाचार काण्ड एवं अपराधका दोषीहरूलाई तुरुन्तै कारबाही गरेर देखाउनुपर्छ । जनताले अनुभूत गर्ने गरी सुशासन कायम गर्नुपर्छ, देशमा गुणस्तरीय शिक्षा र रोजगारीको व्यवस्था गरिनुपर्छ, देशको काँचुली फेर्ने गरी विकासको अभियान चलाउनुपर्छ ।

यी कामहरू भनेर होइन गरेर देखाए मात्र गरेको प्रतिबद्धताको विश्वसनीयता बढ्छ, होइन भने अहिलेको सरकारले गरेको प्रतिबद्धता पनि जनता र राष्ट्रलाई धोका दिने झुटको पुलिन्दा सावित हुनेछ । कामना गरौं यसो हुने छैन ।

सिंह पूर्व मन्त्री हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?