+
+

६ अत्यावश्यक औषधि, जुन घरमा राख्नैपर्छ

पारासिटामोल

पारासिटामोल दुखाइ कम गर्ने र ज्वरो कम गर्ने औषधि हो, जुन अस्थायी रूपमा हल्कादेखि मध्यम दुखाइ र उच्च ज्वरो कम गर्न प्रयोग गरिन्छ । पारासिटामोलका लागि चिकित्सकको प्रेसकिप्सन नै लिनुपर्छ भन्ने त छैन । तर जथाभावी वा लगातार खानु हानिकारक हुन्छ । निर्देशिकाअनुसार ५०० मिलिग्राम पारासिटामोल ज्वरो आएको प्रत्येक ६-६ घण्टामा खान सकिन्छ ।

आइबुप्रोफेन

आइबुप्रोफेन एक ननस्टेरोइडल एन्टिइन्फ्लेमेटरी औषधि हो । यसले ज्वरो, दुखाइ र सुन्निने समस्यामा कम गर्छ । यसले दुखाइको बेला शरीरमा निस्कने विशेष प्राकृतिक पदार्थ (प्रोस्टाग्ल्यान्डिन)को उत्पादनलाई रोकेर पीडा कम गर्छ । यो औषधि चारदेखि ६ घण्टाको फरकमा केही खानेकुरा खाएपछि खान सकिन्छ ।

Advertisement

एलर्जीको औषधि

कसैकसैलाई खानपानका कारण वा अन्य विभिन्न कारण शरीरमा एलर्जी हुने गर्छ । त्यसबेला तत्काल औषधि नभएमा समस्या निम्तिन सक्छ । त्यसैले अस्पताल पुग्नुभन्दा अगावै एलर्जीको औषधि खुवाउनुपर्छ । त्यस्तै एन्टिहिस्टामिन समूहमा पर्ने औषधिहरू जस्तै– सेट्रिजिन, प्रोमेथाजिन, फेक्सोफेनाडिनले एलर्जीलाई कम गर्ने र खुम्चिएका श्वासनलीलाई फुलाउने हुँदा धेरै आराम पुग्छ ।

अपचको औषधि ‘डाइजिन’

बासी खानेकुरा, चिल्लोयुक्त खानेकुरा वा बाहिरको खाना खाँदा पेट दुख्ने, वायु बन्ने, अपच हुने जस्ता धेरै समस्या निम्त्याउँछ, यसबाट राहत पाउन डाइजिन खान सकिन्छ । डाइजिन गुलाफी तरल वा चक्कीको रूपमा बजारमा आउँछ । समस्या भएपछि तत्काल राहत पाउन एक चक्की औषधि खान सकिन्छ ।

हाइड्रोकोर्टिसोन क्रिम वा मल्हम

हाइड्रोकोट्रिसोन मल्हम विभिन्न प्रकारका छाला संक्रमणको उपचार गर्न प्रयोग गरिन्छ । यसले रातोपन, सुन्निने र चिलाउने जस्ता लक्षणलाई कम गर्छ । यो मल्हम बाहिरी प्रयोगको लागि मात्र हो । डाक्टरको सल्लाहमा मात्रै प्रयोग गर्नु उपयुक्त हुन्छ । औषधिको पातलो तह सफा र सुक्खा हातले छालाको प्रभावित क्षेत्रमा मात्र लगाउनुपर्छ ।

जीवनजल

दिनभरमा कम्तीमा तीन पटक पातलो दिसा लाग्ने अवस्था पखाला (डायरिया) हो । यो बेला शरीरमा रहेको तरल पदार्थको क्षति भई जलवियोजन हुनसक्छ । जलवियोजनबाट बच्नका लागि जीवनजल पिउन सकिन्छ । जीवनजल सानो आन्द्रामा अवशोषित भएर दिसाका माध्यमले शरीरबाट गुमेको पानी र इलेक्ट्रोलाइट (लवण पदार्थ)को कमीलाई पूर्ति गर्छ ।