+
+

पाम आयल आयातमा भारतले बढायो भन्सार, नेपाललाई फाइदा के ?

चुनावका कारण भारतले खाने तेल आयातमा भन्सार दर करिब शून्यमै पुर्‍याएका कारण नेपाली उद्योगको निर्यात निकै नै प्रभावित भएको थियो । अब पुनः भन्सार दर बढाएका कारण त्यसले नेपाललाई फाइदा हुन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते १९:४८

३१ भदौ, काठमाडौं । भारतले पाम, सोयाबिन र सूर्यमुखी तेल आयातमा लाग्दै आएको भन्सार शुल्क बढाएको छ ।

भारतले कच्चा र प्रशोधित खाद्य तेलमा आधारभूत भन्सार कर २० प्रतिशत बिन्दुले बढाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कर बढेपछि भारतले आयात गर्ने कच्चा खाने तेल आयातमा लाग्ने कर साढे २७ प्रतिशत पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यसअघि कच्चा पाम, सोयाबिन तथा सूर्यमुखी तेल आयात गर्दा साढे ५ प्रतिशत मात्रै कर लाग्दै आएको थियो ।

त्यस्तै प्रशोधित खाने तेलमा भने भारतमा भन्सार दरबन्दी ३५.७५ प्रतिशत पुगेको छ । यसअघि यी तीन वस्तुबाट उत्पादित प्रशोधित खाने तेलमा १३.७५ प्रतिशत भन्सार लाग्दै आएको थियो ।

भारतले गत शुक्रबार यो निर्णय लिएको हो । विदेशी तेल आयातमा कर लाग्दा महँगो हुँदा स्थानीय किसानको तेल खपत बढ्ने र किसान लाभान्वित हुने भारतको अपेक्षा छ ।

बढेको भन्सार शुल्क १४ सेप्टेम्बरबाटै कार्यान्वयनमा आएको हिन्दुस्तान टाइम्सले लेखेको छ ।

भारतको यो निर्णयले नेपाली निर्यातकर्तालाई भने लाभ मिल्ने छ । भारतीय खपतको तुलनामा नेपालबाट भारततर्फ हुने निर्यातको हिस्सा कम छ । तर, भारतले आयातमा भन्सार दर बढाए पनि नेपाली उत्पादकले भने त्यो तिर्नुपर्दैन ।

नेपालमा ३० प्रतिशत मूल्य अभिवृद्धि सहित उत्पादन भएको वस्तुले भारतीय बजारमा भन्सार रहित प्रवेश पाउने गरेका छन् । नेपालबाट भारतमा हुने अधिकांश निर्यात यसरी नै हुँदै आएको छ ।

नेपाली निर्यातकर्ताका लागि भने भारत ठूलो बजार हो । भारतले कच्चा तेल आयात खुकुलो बनाएका बेला नेपाली उत्पादन महँगो पर्न गई भारत निर्यात हुने तेलको मात्रा घटेको थियो ।

भारतको भन्सार दरकै कारण नेपाली उद्योगले विगतमा पाम, सोयाबिन लगायत तेल प्रशोधन गरी निर्यात गरिरहेको एक उद्योगीले बताए । तर, चुनावअघि भारतले ती तेलको भन्सार घटाइदिँदा नेपाली उद्योगले निर्यात गर्न नसकेको पनि उनले बताए ।

‘चुनावका कारण भारतले खाने तेल आयातमा भन्सार दर करिब शून्यमै पुर्‍याएका कारण नेपाली उद्योगको निर्यात निकै नै प्रभावित भएको थियो,’ ती उद्योगीले भने, ‘अब पुनः भन्सार दर बढाएका कारण त्यसले हामीलाई फाइदा हुन्छ ।’

भारतको नयाँ नीतिले नेपाली उद्योग फाइदामा जाने उनको भनाइ छ ।

भारतले आफ्नो वनस्पति तेलको ७० प्रतिशतभन्दा बढी आयातबाट पूरा गर्छ । भारतमा इन्डोनेसिया, मलेसिया र थाइल्यान्डबाट पाम तेल आयात हुन्छ । अर्जेन्टिना, ब्राजिल, रुस र युक्रेनबाट भटमास र सूर्यमुखी तेल आयात हुने गर्छ । भारतको तेल आयातमा ५० प्रतिशत हिस्सा पाम आयलको रहन्छ ।

भारतले लिने अस्थिर नीतिको असर नेपाली उद्योगमा समेत परिरहेको छ । नेपालबाट एकै वर्षमा ५६ अर्ब रुपैयाँसम्मको वनस्पति तेल निर्यात भारतमा भएको थियो । तर, भारतले तेल आयात खुकुलो पार्दा नेपालबाट नभई सिधै भारतमा आयात प्रोत्साहित हुने गरेको छ ।

नेपालले तेस्रो मुलुकबाट कच्चा तेल आयात गरी नेपालमा प्रशोधन गरी भारत पठाउने गर्छ । भन्सार महसुल कम हुँदा नेपाली उत्पादनले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्दैन ।

नेपाल वनस्पति घिउ तेल उत्पादक संघका अनुसार नेपाली उद्योगीले ३० प्रतिशतसम्म मूल्य अभिवृद्धि गरेर तेल निर्यात गर्ने गर्छन् ।

आर्थिक वर्ष २०८०/८१ मा १७ अर्ब ८३ करोड रुपैयाँ बराबर कच्चा सूर्यमुखी तेल आयात भएको थियो । यस आवमा १३ अर्ब ४१ करोड बराबर भटमासको कच्चा तेल आयात गरिएको थियो । १० अर्ब ५९ करोड बराबर कच्चा पाम तेल आयात भएको छ ।

उक्त वर्ष पाम आयल ५ अर्ब ६२ करोड, सोयाबिन आयल ९० करोड तथा सनफ्लावर आयल १६ करोडको निर्यात भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?