+
+
ब्लग :

किन मनाउने राष्ट्रिय विज्ञान दिवस ?

विज्ञान दिवसलाई जनमानसमा वैज्ञानिक चेतनाको परिचालन एवम् प्रवाह गर्ने दिनका रूपमा मनाउनुपर्छ । साथै, अहिलेसम्मको हाम्रो वैज्ञानिक यात्रामा प्राप्त उपलब्धिहरूको समीक्षा गरेर अगाडि बढ्नु आवश्यक छ ।

डा. सनतकुमार शर्मा डा. सनतकुमार शर्मा
२०८१ असोज १ गते ९:१७

विज्ञान र प्रविधि राष्ट्रको सामाजिक तथा आर्थिक समुन्नतिको मेरुदण्ड र राष्ट्रको अन्तर्निहित शक्तिको परिसूचक हो । यसै कारण संयुक्त राष्ट्रसंघले आफ्ना सदस्य राष्ट्रहरूलाई विज्ञान तथा प्रविधिको समुचित विकास एवं प्रयोगका निमित्त मार्गनिर्देश गर्दै आइरहेको छ ।

विज्ञानको क्षेत्रमा अग्रणी राष्ट्रहरू विकासको उच्चतम सीमामा छन् भने यस क्षेत्रमा पछाडि परेका राष्ट्रहरू गरिबी, रोग, भोक र अशिक्षाबाट अद्यापि पीडित छन् । विज्ञान र प्रविधिको क्षेत्रमा पछाडि परेकै कारण विकासोन्मुख राष्ट्रहरू विकास क्रममा अगाडि बढ्न नसकेका हुन् ।

विज्ञान प्रविधिको विकास र ब्रह्माण्डप्रति मानिसको अतृप्त ज्ञानको कारण ईश्वरीय रूपमा पुजित ग्रहहरू आज मानव सभ्यताका भ्रमणस्थल हुने क्रममा छन् । त्यसैले ब्रह्माण्डमा अवस्थित आकाशगङ्गा, कृष्ण छिद्र तथा यस्तै अन्य रहस्यमय पिण्डहरूको गूढता क्रमशः अनावृत्त हुँदै गइरहेको छ । ब्रह्माण्डमा अन्यत्र पनि जीवनको खोजी तथा मानवका लागि ‘अन्यत्र’ पनि वासस्थान योग्य ग्रहहरूको खोजीको क्रममा निरन्तर रूपमा नवीनतम् तारा प्रणाली तथा ‘बाह्य ग्रहहरू’ पत्ता लाग्दै गइरहेका छन् । आगतमा ‘पृथ्वीवासीको’ उपनिवेशको स्थापनाको क्रम अगाडि बढिरहेको छ ।

चन्द्र विजयपश्चात् मङ्गल ग्रहमा मानवबस्ती स्थापनाका लागि मानव सभ्यता तीव्र रूपमा अगाडि बढिरहेको छ ।

परिणामस्वरूप विज्ञान प्रविधि वर्तमान शताब्दीमा मानव जीवनको एक अभिन्न अङ्ग हुन पुगेको छ । विज्ञान तथा प्रविधिको समुचित प्रयोगले विगत मात्र होइन, वर्तमान र सुुदूर भविष्यमा समेत मानव जातिको उत्थान र विकासमा अहम् भूमिका निर्वाह गर्नेछ ।

विकसित र विकासशील राष्ट्रहरूको परिभाषा अर्थतन्त्र एवम् विज्ञान र प्रविधिको समुचित प्रयोगमा आधारित छ । विश्व बैंकको प्रक्षेपण अनुसार ई.संं. २०२० मा विश्वमा एशियाका आर्थिक रूपमा विशाल एवं सशक्त ७ वटा राष्ट्रहरू चीन, जापान, भारत, थाइल्याण्ड, इन्डोनेसिया, दक्षिणकोरिया र ताइवान हुनेछन् ।

एकदशक अगाडिसम्म यी राष्ट्रहरू नीतिगत रूपमा कमजोर र अविकसित राष्ट्रको रूपमा परिभाषित थिए । तर यी राष्ट्रहरूले विज्ञान र प्रविधिलाई सशक्त एवम् प्रभावकारी रूपमा उपयोग गरेको प्रतिफल उनीहरू विश्वमा नै हरेक दृष्टिकोणबाट सम्पन्न, सशक्त एवं प्रभावशाली राष्ट्रहरूको रूपमा परिचित हुन पुगेका छन् ।

विज्ञान तथा प्रविधिको यी महत्वलाई ख्याल गरेर विश्वव्यापी रूपमा विज्ञान तथा प्रविधि दिवस मनाउने गरिन्छ । युनेस्कोले विश्व विज्ञान दिवस मनाउने घोषणा ई.सं. २००१ मा गरेको थियो । ई.सं. २००२ देखि विश्वमा नोभेम्बर १० लाई प्रति वर्ष विज्ञान दिवसका रूपमा मनाउन प्रारम्भ गरिएको हो । यसका अतिरिक्त विकसित एवम् विकासोन्मुख राष्ट्रहरूले विज्ञानसँग सम्बन्धित विशेष घटना, कार्य, उपलब्धि, वैज्ञानिकहरूको जीवनीलाई मध्यनजर गर्दै उक्त दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउने गरेको पाइन्छ ।

नेपालमा पनि असोज १ गतेलाई राष्ट्रिय विज्ञान तथा प्रविधि दिवसको रूपमा मनाउने निर्णय गरिएको छ । नेपालमा पहिलो पटक २०७० असोज १ गते विज्ञान दिवस मनाइएको थियो । अमृत साइन्स क्याम्पसको स्थापना दिवसलाई विज्ञान दिवसको रूपमा मनाउने गरिएको छ । २०८१ असोज १ गतेको विज्ञान दिवसको नारा ‘विज्ञान तथा प्रविधिः विकास र उत्पादन वृद्धि’ राखिएको छ ।

किन मनाउने विज्ञान दिवस ?

विज्ञान प्रविधिको दिनानुदिन बढ्दो महत्व एवं राष्ट्र विकासमा विज्ञान तथा वैज्ञानिकहरूले पु¥याउन सक्ने योगदानलाई ध्यान दिएर नेपालमा यो दिवस मनाउन सुरु गरिएको हो । यसको मुख्य उद्देश्य जनमानसमा वैज्ञानिक चेतना प्रादुर्भाव गर्नु, विद्यार्थीहरूमा विज्ञान प्रविधिप्रति चासो बढाउनु, राजनीतिक र कर्मचारीतन्त्र तथा सामाजिक दृष्टिकोणमा विज्ञानप्रति विशेष अभिरुचि जगाउने रहेको छ ।

राष्ट्रिय दिवसको उपलक्ष्यमा हाम्रो आजसम्मको उपलब्धिहरूको आलोचनात्मक मूल्याङ्कन तथा राष्ट्रमा निहित विज्ञान र वैज्ञानिकहरूको क्षमताको पूर्ण मूल्याङ्कन हुनुका साथै राष्ट्रमा विज्ञान तथा प्रविधिको विकास तथा निर्दिष्ट मार्ग चित्रणका लागि जोडदार बहस अपरिहार्य छ ।

त्यस्तै विज्ञान प्रविधिको अनुसन्धान तथा विकासलाई पनि महत्व दिनु दिवसको उद्देश्य हो । यस दिवसमा सरकारी, गैरसरकारी निकायहरू तथा विश्वविद्यालयहरूले आफ्ना दृष्टिकोण, लक्ष्य, विचारहरू प्रस्तुत गर्ने र विज्ञानसँग आबद्ध क्रियाकलापलाई प्रस्तुत गर्नेछन् । त्यस्तै विभिन्न प्रकारका प्रदर्शनीहरू पनि गरिनेछन् । तसर्थ यो दिवस जनमानसमा विज्ञान तथा वैज्ञानिक चेतनाको परिचालन एवम् प्रवाह गर्ने दिवसका रूपमा लिन सकिन्छ ।

यस दिवसमा विभिन्न सरकारी, गैरसरकारी निकायहरू विज्ञानलाई लोकप्रिय बनाउने विभिन्न क्रियाकलाप जस्तै व्याख्यान, समूहगत छलफल, स्लाइड तथा फिल्म शो, गोष्ठीहरू, प्रयोगशाला अवलोकन जस्ता कार्यक्रम आयोजना हुनेछन् ।

राष्ट्रिय विज्ञान दिवसको आवश्यकता

यस दिवसको अवसरमा हामीले विज्ञान तथा प्रविधिको क्षेत्रमा भए–गरेका सार्थक ज्ञानलाई जनमानसमा बृहत् रूपमा प्रवाह गर्न सक्छौं । हाम्रो समाजलाई रुढीवादबाट मुक्त गरेर विज्ञान र प्रविधिको सार्थक प्रयोगलाई अङ्गीकार गर्नमा सहयोग पु¥याउन सकिन्छ । यस दिवसले विज्ञानका विद्यार्थीलाई यस क्षेत्रको अध्ययन अनुसन्धानमा संलग्न रहने अभिप्रेरणा दिनुका साथै वैज्ञानिकहरूलाई आफूले गरेका अध्ययन अनुसन्धानलाई सम्बन्धित क्षेत्र र आम जनतामा पु¥याउने अवसर पनि दिनेछ ।

विगतमा विभिन्न कारणले विज्ञान तथा प्रविधिसँग आवद्ध संस्थाले आशातीत उपलब्धि हासिल गर्न सकेनन् । विज्ञानको क्षेत्रमा न्यून लगानी, यस सम्बन्धी संस्थाहरूको नेतृत्वमा राजनीति प्रभावित व्यक्तिहरूको बाहुल्य, विषयविज्ञ भन्दा प्रशासनिक व्यक्तिहरूको बाहुल्य, नीतिगत रूपमा अनुसन्धान तथा विकासको काम प्राथमिकता नहुनु यो क्षेत्रको प्रमुख समस्या देखिएको छ ।

नीतिगत सुधारमा कमी, विज्ञान र प्रविधिको विकासको लागि सारगर्भित प्रयासहरूको कमी, अति आवश्यक संस्थागत संरचनाहरूको कमी आदि कारणले विज्ञान र प्रविधिको क्षेत्रमा सोचे अनुरूप उपलब्धि हासिल हुनसकेको छैन । यी कारणहरूले गर्दा छिमेकी राष्ट्र भारत र चीनले चन्द्र विजय गरिसक्दा पनि हामी ग्यालिलियोको युगमा छौं ।

राष्ट्रको उज्ज्वल भविष्य युवा वैज्ञानिकहरूमा निहित छ र देशलाई विकसित र सशक्त राष्ट्र बनाउन उनीहरूलाई समुचित स्रोत, साधन तथा कार्यरत रहने वातावरण उपलब्ध गराउन अति आवश्यक छ ।

राष्ट्रिय दिवसको उपलक्ष्यमा हाम्रो आजसम्मको उपलब्धिहरूको आलोचनात्मक मूल्याङ्कन तथा राष्ट्रमा निहित विज्ञान र वैज्ञानिकहरूको क्षमताको पूर्ण मूल्याङ्कन हुनुका साथै राष्ट्रमा विज्ञान तथा प्रविधिको विकास तथा निर्दिष्ट मार्ग चित्रणका लागि जोडदार बहस अपरिहार्य छ ।

यो दिवसले मुलुकमा वैज्ञानिक चेतना र संस्कारको प्रादुर्भाव गर्न अहम् भूमिका निर्वाह गर्नेछ । यसका लागि अधिकतम जनसहभागिता, युवा वैज्ञानिकहरूको अत्यधिक परिचालन अपरिहार्य हुन जान्छ ।

यो दिवस यस क्षेत्रमा कार्यरत संस्था तथा वैज्ञानिकहरूले स्वयंको मूल्याङ्कन गर्ने समय पनि हो । हामीले हाम्रा विगतका मिसनहरूमा प्राप्त सफलता वा असफलता, हाम्रा कार्यान्वयनमा रहेका मिसनहरू तथा भविष्यमा परिचालन गर्ने योजनाहरूलाई अन्तर्राष्ट्रिय दृष्टिकोणबाट पुनर्मूल्याङ्कन गर्नु जरूरी छ ।

हाम्रो जस्तो विकासोन्मुख, अन्धविश्वास तथा भाग्यवादी परम्पराबाट आक्रान्त समाजमा वर्षमा एक वा दुई दिन मनाइने विज्ञान दिवस पर्याप्त देखिंदैन । यससँग आबद्ध संस्थाहरूले प्रत्येक दिन, सप्ताह, महिना र वर्षमा विज्ञान तथा प्रविधिकोे विकासका लागि समर्पित रहन आवश्यक छ । साथै अहिलेसम्मको हाम्रो वैज्ञानिक यात्रामा प्राप्त उपलब्धिहरूको समीक्षा गर्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?