+
+

जनसहभागिता विनाका योजना सफल हुन सक्दैनन् : मुख्यमन्त्री पाण्डे

रासस रासस
२०८१ असोज १ गते १३:४५

१ असोज, मध्यविन्दु (नवलपरासी) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसहभागिता विनाका कुनै पनि योजना सफल हुन नसक्ने बताएका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–११ मा सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्रको मंगलबार उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले सरकारको मात्र लगानीले योजना सफल नहुने बताएका छन् ।

‘आम जनताको सहभागिता विना कुनै पनि मुलुक सफल हुन सक्दैन, त्यसैले जनचासो र जनसहभागिता हरेक क्षेत्रमा आवश्यक छ’, उनले भने, ‘सङ्घ, प्रदेश र स्थानीय सरकारले गर्न खोजेका कार्यक्रममा जनताको सकारात्मक साथ र चासो भएमात्र काम सफल हुने देखिन्छ ।’

समाजमा अहिलेको व्यवस्था र सरकारप्रति भ्रम छर्ने काम भएको बताउँदै उनले सकारात्मक कामको जनतासमक्ष सही सूचना दिनु आवश्यक रहेको उल्लेख गरे ।

जनतामा नकारात्मक भाव पैदा गर्ने काम धेरै भएकाले भए/गरेका कामको जानकारी जनताले लिनु आवश्यक रहेको उनको भनाइ छ ।

‘देशमा काम नभएको होइन, धेरै भएको छ । त्यसलाई जनतासमक्ष पुर्‍याउँदा नकारात्मक भावना छर्ने काम भएको छ, त्यस्ता कुराले मुलुकको दूरभविष्यलाई असर पार्दछ’, उनले भने, ‘केही भएन होइन कि भएका के छन् र गर्नुपर्ने के हो, यसमा मेरो सहभागिता के हो भन्ने सोच जनतामा हुनु आवश्यक छ ।’

गण्डकी प्रदेशले प्रत्येक आर्थिक वर्षमा नवप्रवर्तन कार्यक्रम मार्फत प्रदेशभित्रका स्थानीय सरकारसँग साझेदारीमा नवीनतम कार्य गर्दै आएको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा पनि १८ वटा स्थानीय सरकारसँग साझेदारी गर्नेगरी मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम छनोट भएको मुख्यमन्त्री पाण्डेले बताए ।

‘अहिले हरेक कुरा सरकारले गरिदिनुपर्छ भन्ने सोच विकास भएको छ तर सरकारले मात्र होइन सरकारले ल्याएको कार्यक्रममा जनताको पनि अहम् भूमिका हुन्छ’, उनले भने, ‘सफल नभएका काम किन भएन त्यसलाई कसरी सफल बनाउने, हाम्रो जिम्मेवारी के छ ? कसरी गर्न सकिन्छ भनेर नागरिकले सोचिदिनुस् ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?