+
+

चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा १३ जनाको आवेदन

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १ गते १४:०८

१ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिन पदका लागि १३ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा बहालवाला डिन, सहायक डिनदेखि त्रिवि शिक्षण अस्पताल निर्देशक र पूर्व निर्देशकसम्म छन् ।

अनलाइनखबरलाई प्राप्त विवरण अनुसार डिन पदका प्रा.डा. अभिमन्यु झा, प्रा.डा. मोहनराज शर्मा, प्रा.डा. निरजु रञ्जित, प्रा.डा. रामचन्द्र अधिकारी र प्रा.डा. रमेशसिंह भण्डारी, प्रा.डा. दिनेश काफ्ले आवेदन दिएका छन् ।

यस्तै प्रा.डा. उत्तमकृष्ण श्रेष्ठ, प्रा.डा. मिथा राना र सहप्राध्यापक डा. ज्योतिबाबा श्रेष्ठले पनि डिन बन्नका लागि सिफारिस समितिसमक्ष आवेदन दिएका छन् ।

यसैगरी प्रा.डा. संगरत्न बज्राचार्य, प्रा.डा. रत्नमणि गजुरेल, प्रा.डा. दिव्यासिंह शाह र प्रा.डा. सुधा बस्नेतले पनि डिन पदका लागि आवेदन दिएका सिफारसि समिति स्रोतले जनाएको छ ।

चिकित्सा शास्त्र अध्ययन संस्थानको डिन सिफारिसका लागि त्रिवि कार्यकारी परिषद्ले गत साउन ३२ मा प्राध्यापक डा. कृष्णकुमार ओलीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।

समितिका अन्य सदस्यहरूमा प्राध्यापक डा. सुवासप्रसाद आचार्य र प्राध्यापक डा. योगेन्द्रमान शाक्य रहेका छन् । उक्त समितिले आईओएमको नयाँ डिन नियुक्तिका लागि उम्मेदवारहरूको मूल्यांकन र सिफारिस गर्ने जिम्मेवारी पाएको छ ।

‘कार्यविधि अनुसार मूल्यांकन गरिन्छ । प्रोफेसर, आर्टिकल, पीएचडी, रणनीति तथा कार्ययोजना लगायतका विधाको सबैको नम्बर जोडिन्छ । त्यसको आधारमा जसको उच्च नम्बर आउँछ, त्यसलाई अन्तर्वार्ताका लागि बोलाइन्छ’, एक सदस्यले भने ।

समितिले प्राप्त आशयपत्रहरूको मूल्यांकन गरी ५ जना उम्मेदवारहरूलाई छोटो सूचीमा राख्नेछ । छोटो सूचीमा परेका उम्मेदवारमध्येबाट ३ जनाको नाम वर्णानुक्रम अनुसार त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरिनेछ ।

हाल आईओएममा डिनको पदमा प्राध्यापक डा. दिव्या सिंह शाह कार्यरत छिन् । उनको चार वर्षे कार्यकाल गत ३ असारमा समाप्त भएको थियो । तर उनलाई अर्को डिन नियुक्ति भएर नआउँदासम्म जिम्मेवारीमा रहेर काम गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?