+
+

जेलबाट छुटेपछि केजरीवालले किन दिए राजीनामा ?

राजकुमार श्रेष्ठ राजकुमार श्रेष्ठ
२०८१ असोज १ गते २१:१८

१ असोज, काठमाडौं । तिहाड जेलबाट रिहा भएको दुई दिनपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सरप्राइज दिए । पार्टी कार्यालयमा भेला भएका समर्थकहरुलाई सम्बोधन गर्दै घोषणा गरे, ‘दुई दिनपछि राजीनामा दिन्छु ।’

उनको घोषणा सरप्राइज नै थियो, किनकी मदिरासम्बन्धी कानुन बनाउने क्रममा भ्रष्टाचार गरेको आरोपमा ईडी (आर्थिक अपराध हेर्ने निकाय) ले पक्राउ गरेयता भारतीय जनता पार्टी (भाजपा)ले निरन्तर राजीनामा माग्यो । तर केजरीवालले राजीनामा दिएनन् ।

५ महिनाभन्दा बढी तिहाड जेलमा बसेर धरौटीमा छुटेको दुई दिनपछि घोषणा गरिदिए, ‘४८ घण्टापछि राजीनामा दिन्छु ।’

नभन्दै मंगलबार बिहान पार्टीको विधायक मण्डलको बैठक राखे, दलको नयाँ नेतामा आतिशी मार्लेनालाई चयन गरे । अनि दिउँसो उपराज्यपाल भीके सक्सेनालाई भेटेर मुख्यमन्त्री पदबाट राजीनामा दिएको पत्र बुझाए ।

आपका विधायक गोपाल रायका अनुसार विधायन मण्डलको नयाँ नेता आतिशीले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पनि पेश गरेकी छन् । ‘हामीले छिटो शपथको मिति तय गर्न उपराज्यपाललाई आग्रह गरेका छौं’, गोपालले भने ।

राजीनामाको लाभ–हानी

सन् २०११ मा चलेको भ्रष्टाचार विरोधी अभियानबाटै आम आदमी पार्टी जन्मिएको थियो । यो छोटो अवधिमा आपले दिल्ली र पञ्जाब गरी दुई राज्यमा सरकार बनाएको छ ।

यसै वर्ष भएको चुनावबाट राष्ट्रिय पार्टी बनेको छ, अनि १० वर्षभन्दा बढी समय दिल्लीको मुख्यमन्त्री रहेका केजरीवाल भारतको राजनीतिमा विपक्षी नेताका रुपमा उदाएका छन् ।

तर आपमा पछिल्लो वर्षहरुमा एकपछि अर्को संकट आयो । केजरीवालका उपमुख्यमन्त्री मनिष सिशोदिया आफैं १५ महिना भन्दा बढी जेल बसे, अरु थुप्रै नेतामाथि मुद्दा छ । तर साँच्चै संकट त्यसबेला आयो, जब केजरीवाल आफैं भ्रष्टाचारको मुद्दामा पक्राउ परे । ५ महिनाभन्दा बढी समय जेल बसेका उनी छुटेपनि उनको ‘स्वच्छ’ छविमाथि नराम्रो दाग लागेको छ ।

र, आपको राजनीतिका लागि केजरीवालको धुमिलिएको छविमा सुधार अनिवार्य छ । त्यसका लागि उनले मुख्यमन्त्री पदबाट राजीनामाको बाटो रोजेका छन् ।

भारतीय राजनीतिक विश्लेषकहरुका अनुसार केजरीवालले चलाखीपूर्वक यो बाटो रोजेका हुन् । यसको जोखिम त छ नै राजनीतिक लाभको सम्भावना पनि त्यत्तिकै छ ।

किनकी दिल्लीमा फेब्रुअरी २०२५ मा विधानसभा चुनाव हुन्छ । अर्थात राजीनामा नदिएको भए पनि उनी अब करिब ५ महिना मुख्यमन्त्री पदमा रहने हो । फेरि यो पाँच महिनामा उनले मुख्यमन्त्रीका रुपमा धेरै केही गर्न सक्ने अवस्था छैन ।

किनकी अदालतले धरौटीमा छाड्दा अत्यावश्यक कामका लागिबाहेक मुख्यमन्त्री कार्यालय प्रवेश गर्न नपाउने, कुनै फाइलमा हस्ताक्षर गर्न नसक्ने जस्ता शर्त राखेको छ ।

यस्तो अवस्थामा उनी मुख्यमन्त्री रहिरहेको भए बीजेपी नेतृत्वको केन्द्र सरकारले कुनै पनि बेला उनलाई बर्खास्त गर्ने र राष्ट्रपति शासन लगाउने विश्लेषण हुन थालेको थियो । त्यसो भएको भए विधान सभा चुनाव केन्द्र सरकारको मातहतमा हुन्थ्यो, जुन केजरीवाल चाहँदैनथे ।

उनले राजीनामा दिएर दिल्लीमा राष्ट्रपति शासनको जोखिम मात्र टरेको छैन, आगामी चुनावमा आउनसक्ने सत्ता विरोधी लहर (एन्टी इन्कम्बेन्सी) रोक्ने प्रयास गरेका छन् ।

किनकी २०१३ डिसेम्बरमा दिल्लीका मुख्यमन्त्री भएका केजरीवाल केन्द्र शासन भएको एक वर्ष बाहेक निरन्तर नेतृत्वमा छन् । बिजुली, पानी, शिक्षा स्वास्थ्यजस्ता आधारभूत सेवा निःशुल्क गरेकाले लाभार्थीहरु आम आदमी पार्टीको शक्ति हो । खासगरी विपन्न वर्गका मानिसहरु यसमा पर्छन् ।

दिल्लीको मध्यमवर्गको अवस्था फरक छ । अझ पछिल्ला वर्षहरुमा एकपछि अर्को नेता भ्रष्टाचारको आरोप लागेकाले मध्यम वर्गको असन्तुष्टि बढेको देखिन्छ । जेलमा रहँदा पनि राजीनामा नदिनु संविधानको उल्लंघन भएको उनीहरुको बुझाइ छ ।

त्यसैले आगामी विधानसभा चुनावका लागि केजरीवाललाई लाभार्थी समूहको साथ जोगाइराखेर पुग्दैनथ्यो, नयाँ नारा चाहिएको थियो । उनले मुख्यमन्त्रीबाट राजीनामा दिएर आफ्नो इमानलाई चुनावी मुद्दा बनाएका छन् ।

आफूमाथि झुटो आरोप लगाएको भन्दै उनले भनेका छन्, ‘म तबसम्म मुख्यमन्त्रीको कुर्सीमा बस्दिन, जबसम्म जनताले आफ्नो फैसला सुनाउने छैनन् ।’

हरेक भोटलाई आफ्नो इमान्दारिताको प्रमाणका रुपमा लिने भन्दै उनले ‘केजरीवाल सही छ भन्ने लाग्छ भने भोट दिनुस्, नभए नदिनुस्’ भनेर अपील गरेका छन् । राजनीतिक विश्लेषकहरुका अनुसार यो केजरीवालले रणनीतिक रुपमा खेलेको राजनीतिक जुवा हो, जसले काम गर्न पनि सक्छ, नगर्न पनि सक्छ ।

आम आदमी पार्टीका पूर्वनेता आशुतोष जेलमा रहँदा राजीनामा नदिनु आफ्नो ठूलो गल्ती भएको केजरीवालले महसुस भएको हुनसक्ने बताउँछन् ।

‘उनले राजीनामा दिएर सही गरेका छन् । तर मलाई लाग्छ, ढिला भयो’, उनले भने, ‘यसले चुनावमा कति मद्दत गर्छ भन्ने चाहिँ अरु दलको रणनीतिमा पनि भरपर्छ ।’

आतिशीको अर्थपूर्ण छनोट

केजरीवालले राजीनामा दिने घोषणा गरेसँगै नयाँ मुख्यमन्त्री को भन्ने चर्चा सुरु भएको थियो । भारतीय सञ्चार माध्यमहरुका अनुसार आतिशी मार्लेनासँगै कैलाश गहलोत, सौरभ भारद्वाज र गोपाल रायलाई सम्भावित मुख्यमन्त्रीका रुपमा हेरिएको थियो । केजरीवालले मंगलबार आतिशीलाई रोजेका छन् ।

केजरीवाल जेलमा रहेका बेला मुख्य जिम्मेवारी सम्हालेकी उनी क्षमतावान मन्त्रीमा पर्छिन् । यद्यपि उनी अरु आकांक्षीका तुलनामा राजनीतिक रुपमा कमजोर र केजरीवालप्रति बफादार मानिन्छिन् । अनि उनको छवि पनि स्वच्छ छ । उनलाई मुख्यमन्त्री बनाउँदा आपले असन्तुष्ट मध्यम वर्गको समेत समर्थन पाउनसक्छ ।

साथै डेलिभरीको राजनीतिलाई समेत उनको सरकारले निरन्तरता दिने छ । केजरीवाल सरकारले पछिल्लो पटक ‘महिला सम्मान राशी योजना’, ‘डोर स्टेप डेलिभरी’ र ‘इलेक्ट्रिक भेहिकल पोलिसी’ जस्ता लोकप्रिय कार्यक्रम अगाडि सारेको थियो ।

महिला सम्मान राशी योजनामा १८ देखि ६० वर्षका महिलालाई मासिक एक हजार दिने योजना घोषणा गरेको थियो । डोर स्टेप डेलिभरीमा दिल्लीबासीले सरकारको ४० प्रकारका सेवा घरमै बसेर लिन सक्छन् ।

तर केजरीवाल पक्राउ परेसँगै तीनवटै योजना अलपत्र पर्‍यो । अब सबै योजना तब कार्यान्वयन हुनसक्छ, जब दिल्लीको मन्त्रिपरिषद् बैठकले पास गर्छ । केजरीवाल जेलमा रहँदासम्म उनको अनुपस्थितिमा मन्त्रिपरिषद् बैठक बस्न मिलेन, जेलबाट छुट्दा अदालतले मुख्यमन्त्री कार्यालय जान रोक्यो ।

अर्थात केजरीवाल मुख्यमन्त्री रहँदा चुनावमा विपक्षीहरुले यसलाई मुद्दा बनाउन सक्थे । दिल्लीमा नयाँ सरकार बनाउना साथ मन्त्रिपरिषद् बैठक बस्ने र पूर्व घोषणाअनुसार निर्णय गर्ने बाटो खुलेको छ । उपराज्यपालले रोकिदिन त सक्छन्, तर ‘हामीले निर्णय गरेका हौं, उपराज्यपाल रोकिदिए’ भन्ने ठाउँ हुन्छ ।

पत्रकार एवं राजनीतिक विश्लेषक निजा चौधरी पनि केजरीवालले डेलिभरीसँगै सहानूभूति र राजनीतिक इमानमा आगामी चुनाव लड्न खोजेको बताउँछिन् ।

उनका अनुसार केजरीवालसहितका नेताहरुमाथि लगाएको मुद्दा राजनीतिबाट प्रेरित भएको धेरैको बुझाइ छ । अर्थात उनीहरुप्रति सहानुभूति छ । तर केजरीवाल सहितका नेताहरु जेलबाट छुटेसँगै विस्तारै त्यो कम भएको छ, जुन चुनावसम्म पुग्दा कम हुने थियो ।

केजरीवालले राजीनामा दिएर राजनीतिक इमानलाई चुनावी मुद्दा बनााएको भन्दै उनले द इण्डियन एक्सप्रेससँग भनेकी छन्, ‘यसले कति काम गर्छ, आज भन्न सकिन्न । यति भन्न सक्छु, बीजेपी मौन बस्छ भन्ने चाहिँ लाग्दैन ।’

राजनीतिक विश्लेषक आशुतोष भने अहिले पनि दिल्लीमा केजरीवाल नै सबभन्दा लोकप्रिय भएको मान्छन् । नयाँ मुख्यमन्त्री आतिशीलाई काम गर्न दिने हो भने उनले पनि मत थप्नसक्ने भन्दै उनले इण्डिया टुडेसँग भनेका छन्, ‘अहिले पनि आम आदमी पार्टी फेरि सत्तामा आउने बढी सम्भावना छ ।’

जबसम्म बीजेपीले मुख्यमन्त्रीमा नयाँ र बलियो अनुहारलाई अगाडि सार्दैन, तबसम्म आम आदमी पार्टीकै सम्भावना रहने उनको दाबी छ ।

लेखकको बारेमा
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका सहायक सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?