+
+

लुम्बिनीमा संविधान दिवस : १२ अस्पतालमा प्रयोगशाला परीक्षण र आकस्मिक टिकट निःशुल्क

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते ७:२६

२ असोज,बुटवल । लुम्बिनी प्रदेश सरकारले तीन दिनसम्म विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको छ ।

असोज २ (आज) देखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरेर प्रदेश सरकारले संविधान दिवस मनाउन लागेको हो ।

तीन दिनसम्म प्रदेशस्थित सबै सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाइ गरिने, स्वास्थ्य मन्त्रालयको समन्वयमा स्वास्थ्य परिक्षण, रक्तदान लगायत कार्यक्रम हुने मुख्यमन्त्रीका प्रेस संयोजक दशरथ घिमिरेले जानकारी दिए ।

‘आज संविधान कार्यान्वयनको पहिलो दशक : उपलब्धि र चुनौती’ विषयमा विज्ञसंग छलफल हुँदैछ । प्रदेश राजधानी परिसरमा कार्यक्रम आयोजना गरिएको हो ।

संविधान दिवसकै अवसरमा १२ वटा जिल्ला अस्पतालहरुमा विरामीको निःशुल्क प्रयोगशाला परीक्षण तथा आकस्मिक टिकट निःशुल्क गरिने भएको छ ।

यस्तै आम नागरिकलाई तीन दिन आ-आफ्नो घरको छत, बरण्डामा दिपावली गर्न पनि सरकारले आह्वान गरेको छ । असोज ३ गते संविधान दिवसको मुल समारोह अन्तर्गत प्रदेश राजधानीमा विभिन्न सांस्कृतिक झाँकी सहित बिहान प्रभातफेरी आयोजना गरिएको छ ।

यस्तै असोज ४ गते प्रदेश सरकारका मन्त्रालय र निर्देशनालय तथा सरोकारवालाहरुको समन्वयमा वृहत वृक्षारोपण कार्यक्रम गरिने भएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान दिवसलाई जनस्तरबाट मनाउन आह्वान गरेका छन् । सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट प्रदेशको समग्र विकासलाई जनतासामु पुर्‍याउन संविधानको पूर्ण कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै संविधान दिवसलाई भव्य रुपमा मनाउन मुख्यमन्त्रीले आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?