+
+

पशुपतिमा पितृ तर्पण, सोह्रश्राद्ध १६ तस्वीरमा

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ असोज २ गते ९:२१

२ असोज, काठमाडौं  । आजबाट सोह्रश्राद्ध सुरु भएको छ।  १६ दिनसम्म पितृप्रतिको सम्मान प्रकट गरिने भएकाले यस अवधिलाई पितृ पक्ष पनि भनिन्छ ।

श्राद्ध पक्षका १६ दिनमा भाद्रशुक्ल  पूर्णिमाको दिन पूर्णिमा तिथिको श्राद्ध गरिन्छ ।  यसपछि आश्विन कृष्ण पक्षका १५ दिन क्रमशः प्रतिपदादेखि अमावस्या (औंसी)सम्म तिथिअनुसार श्राद्ध गरिन्छ। अन्तिम दिन सर्वपितृमोक्ष अमावस्या पर्छ ।

पितृहरूलाई प्रसन्न पार्न तथा जानेर वा नजानेर हामीबाट पितृहरूको अनादर भएको छ भने उनीहरूप्रति कृतज्ञता व्यक्त गर्ने तथा उनीहरूसँग क्षमा माग्ने पर्व हो श्राद्ध पक्ष । श्राद्ध पक्षमा प्रत्येक तिथिका दिन मानिसहरू आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्छन् ।

जसलाई  पूर्वजको मृत्यु तिथि थाहा हुँदैन उनीहरूले सर्वपितृ अमावस्याका दिन श्राद्ध गर्छन् ।

के हो श्राद्ध ?

श्राद्ध पक्ष हरेक वर्ष शारदीय नवरात्र प्रारम्भ हुनुअघि आउँछ। श्राद्धको सिधा अर्थ हो आफ्ना पूर्वजहरूप्रति श्रद्धा । शास्त्रले भनेको छ- ‘श्रद्धया इदम् श्राद्धम्’ अर्थात् पितृहरूका  निमित्त श्रद्धापूर्वक गरिने कर्म नै श्राद्ध हो ।

श्राद्ध पक्षका क्रममा आफ्ना परिवारका ती मृत सदस्यहरूलाई याद गरिन्छ, उनीहरूप्रति सम्मान प्रकट गरिन्छ, श्रद्धाञ्जली दिइन्छ, जसका कारण आज हामीले वर्तमान जीवन प्राप्त गर्न सकेका छौं ।  श्राद्धका क्रममा पूर्वजहरूलाई जौ, तिल, कुश, पानी तथा पन्चामृतको तर्पण दिइन्छ ।

तर्पण गर्नुको उद्देश्य आफ्ना पूर्वजहरूको आत्मालाई उनीहरू आज पनि हाम्रो परिवारको हिस्सा हुन्, आजसम्म पनि हाम्रो स्मृतिमा जीवित छन् र हामी आफूप्रति उनीहरूको आशीर्वादका साथै उनीहरूको प्रसन्नताको कामना गर्छौं भन्ने भाव दर्शाउनु हो।

हिन्दू धर्मको मान्यता अनुसार श्राद्ध पक्षमा सम्पूर्ण पूर्वजहरूको आत्मा आफ्ना परिवारजनको प्रसन्नता जान्नका लागि जागृत हुन्छ ।  यसकारण यो समयमा गरिने तर्पणबाट उनीहरू सीधै हाम्रो श्रद्धारूपी भावना एवम् उपहार स्वीकार गर्छन् र खुशीपूर्वक आशीर्वाद प्रदान गर्छन्, जसबाट हाम्रो जीवन उन्नति मार्गमा अघि बढ्छ ।

श्राद्ध पक्षका १६ दिन अलग-अलग व्यक्तिको श्राद्ध सुनिश्चित गरिएको छ । विशेषगरी बाबु वा हजुरबुबाको मृत्यु तिथि पारेर श्राद्ध गर्ने चलन छ ।  यसमा सामान्यत: आफ्नो कुलका तीन पुस्ता अर्थात् बुबा, हजुरबुबा र बुढो हजुरबुबा तथा  मावलीतर्फ तीन पुस्ता अर्थात् मावली हजुरबा, बुढो हजुरबा र कुप्रो हजुरबालाई पत्नी सहित पिण्ड प्रदान गरिन्छ।

तर्पण भने शास्त्रले निर्देश गरेबमोजिम सबैलाई दिइन्छ। श्राद्ध पक्षको अन्तिम दिन सर्वपितृ अमावस्याका दिन मृत्यु तिथि ज्ञात नभएका सबै पूर्वजको श्राद्ध गर्न सकिन्छ ।

श्राद्ध पक्ष वा पितृपक्षका १६ दिनमा ‘पितृ-आराधना’ का क्रममा श्राद्ध र तर्पण इत्यादि कर्म गरिन्छ ।

श्राद्ध पक्षमा पितृगणका निमित्त तर्पण एवं ब्राह्मण भोजन गराउने विधान छ।  शास्त्रले ‘पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवतास्’ अर्थात् देवता भावले प्रसन्न हुन्छन् भने पितृगण शुद्ध र  उचित विधिबाट गरिएको श्राद्ध कर्मबाट प्रसन्न हुन्छन् भनेको छ।  यो १६ दिने समयमा तर्पण एवं ब्राह्मण भोजन गर्ने गराउने कार्यले पितृ तृप्त हुन्छन् ।

मार्कण्डेय पुराणका अनुसार श्राद्ध पक्षका सबै दिन ‘पितृ स्तुति’ वा पितृ सूक्त पाठ गर्नाले पितृ प्रसन्न भएर आशीर्वाद प्रदान गर्छन् ।  श्राद्ध पक्षमा ‘कुतप’ कालमा नित्य तर्पण गर्नुपर्छ ।

पितृलाई तर्पण पितृ-तीर्थ अर्थात् चोरी र बूढी औंलोको बीचबाट गर्नुपर्छ ।  श्राद्ध कर्म अनिवार्य हो तर त्योभन्दा महत्वपूर्ण जीवित अवस्थाका माता-पिताको सेवा गर्नु हो ।  जसले जीवित अवस्थामै  माता-पितालाई सेवाले सन्तुष्ट पारेको छ उसलाई सदैव पितृहरूको आशीर्वाद प्राप्त हुने विश्वास गरिन्छ ।

किन यही १६ दिन ?

पितृपक्ष पूर्णिमादेखि अमावस्यासम्म १६ दिनको हुन्छ।  धर्मशास्त्रहरूका अनुसार प्रत्येकको  मृत्यु यी १६ तिथि बाहेक अन्य कुनै दिन हुँदैन।  यसकारण श्राद्ध पक्ष १६ दिनकै हुन्छ । यही समयमा श्राद्ध हुनुको एक मनोवैज्ञानिक पक्ष के छ भने यो अवधिमा हामी आफ्ना पितृहरू समक्ष श्रद्धा भाव पठाउँछौं।

श्राद्धपक्षको सम्बन्ध  मृत्युसँग छ यसकारण यो अवधिलाई अशुभ काल मानिन्छ ।  जसरी  हामी परिजनको मृत्युपश्चात् शोकाकुल अवधिमा रहन्छौं र आफ्नाअन्य शुभ, नियमित, मंगल, व्यावसायिक कार्यलाई विराम दिन्छौं, त्यही भाव पितृपक्षसँग जोडिएको छ । अत: अन्य शुभ-मांगलिक कार्य नगरेर हामी पितृहरूप्रति पूरा सम्मान र एकाग्रता बनाइराख्छौं ।

शास्त्रका अनुसार श्राद्धका अधिकारी छोरा हुन्छन्।  छोरा  नभए श्रीमतीले श्राद्ध गर्न सक्छन् ।  श्रीमती पनि नभए सहोदर दाजुभाइले गर्न सक्छन् ।  एकभन्दा बढी छोरा भए जेठो छोरो श्राद्धको अधिकारी हुन्छ ।  छोरीको श्रीमान् वा छोरो पनि  श्राद्धको अधिकारी हुन्छ।  छोरा नभए  नाति वा पनातिले पनि श्राद्ध गर्न सक्छन्।

छोरा, नाति वा पनाति नभए एकल महिलाले श्राद्ध गर्न सक्छिन् ।  श्रीमतीको श्राद्ध श्रीमान्‌ले छोरा छैन भने मात्र गर्न मिल्ने विधान छ । छोरा, नाति, पनाति  वा छोरीको छोरो नभए भतिजाले पनि श्राद्ध गर्न सक्छ ।  धर्मपुत्रलाई पनि श्राद्धको अधिकारी मानिएको छ ।

सोह्रश्राद्धको पहिलो दिन आज पशुपति क्षेत्रमा श्राद्ध गर्नेहरुको भीडभाड छ ।

.

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?