+

गर्भपतनपछि के-के कुरामा ध्यान दिनुपर्छ ?

२०८१ असोज  २ गते १२:५४ २०८१ असोज २ गते १२:५४
गर्भपतनपछि के-के कुरामा ध्यान दिनुपर्छ ?

गर्भपतन गर्नु स्वास्थ्यको हिसाबले पनि राम्रो मानिंदैन । अझ सामाजिक रुपमा त यसलाई राम्रो मान्ने  कुरै भएन । तर कतिपय अवस्थामा पर्याप्त सावधानी अपनाउँदा अपनाउँदै पनि अनिच्छित गर्भ बस्न सक्छ । यस्तो बेला गर्भपतन गर्नुको विकल्प हुँदैन ।

अनिच्छित गर्भ रहन गएमा, गर्भको भ्रूणमा केही समस्या देखिएमा, आमा वा भ्रूणमा शारीरिक वा मानसिक समस्या भएमा, जबरजस्ती करणीबाट गर्भ रहेमा गर्भपतन गर्न सकिन्छ । निश्चित समयसम्मको गर्भपतन गर्न पाउने अहिले कानुनी व्यवस्था समेत छ ।

गर्भपतन दुई प्रकारका हुन्छन्, औषधिबाट हुने गर्भपतन र सर्जिकल गर्भपतन । महिलाले गर्भावस्थाको १० औं हप्ताअघि गर्भपतन गर्नका लागि औषधिको प्रयोग गर्न सकिन्छन् । त्यसपछि भने सर्जिकल गर्भपतन गर्नुपर्छ । गर्भपतनको लागि औषधि सेवन गरेको होस् वा शल्यक्रिया दुवैपछि हेरचाह चाहिन्छ । चाहे त्यो शारीरिक हेरचाह होस् वा मानसिक हेरचाह ।

गर्भपतन सेवा दिने संस्था र चिकित्सक वा स्वास्थ्यकर्मी दुवै सूचीकृत हुनुपर्छ । सूचीकृत स्वास्थ्यकर्मीको निरीक्षणमा गरिएको गर्भपतन सुरक्षित हुन्छ ।

यद्यपि, केही महिलाले दुख्ने, हल्का योनी रक्तस्राव, वाकवाकी, स्तन दुखाइ र थकान सहित केही साइड इफेक्टहरू अनुभव गर्न सक्छन् । यस्तो अवस्थामा गर्भपतन पछि हेरचाह आवश्यक हुन्छ । यससँगै धेरै महिलाहरू मानसिक आघातबाट पनि गुज्रिरहेका हुन्छन् । यस्तो अवस्थामा श्रीमान् र परिवारका सदस्यहरूले समर्थन र हेरचाह गर्नुपर्छ ।

गर्भपतनपछि रक्तस्राव

धेरै महिलामा गर्भपतनपछि रगत बग्ने समस्या हुन्छ । यो बेला कम वा बढी रक्तस्राव हुनसक्छ । योसँगै रगत जम्नु पनि सामान्य कुरा हो । कहिलेकाहीं ठूला रगत जमेको पनि हुन्छ । १२ घण्टासम्म लगातार रगत बगिरहन्छ र हरेक घण्टा दुईवटा भन्दा बढी प्याड फेर्नुपर्ने हुन्छ भने यो जटिलताको लक्षण हुन सक्छ । रगतको रङ चम्किलो रातो भएर लगातार दुखाइसँगै रगत बगिरहने हो भने चिकित्सकसँग सम्पर्क गर्नुपर्छ । त्यसैले गर्भपतनपछि पार्टनर वा परिवारको सदस्य महिलासँगै बस्नु र हेरचाह गर्नु महत्त्वपूर्ण हुन्छ ।

गर्भपतनपछि यौन सम्पर्क

कुनै पनि प्रकारको गर्भपतन गरेको भएपनि गर्भपतनपछि यौन सम्पर्क गर्न दुई साता पर्खिन सल्लाह दिइन्छ । गर्भपतनपछि असुरक्षित यौन सम्बन्ध राख्नुहुन्छ भने गर्भावस्था रोक्न के गर्ने भन्नेबारे आफ्नो डाक्टरसँग कुरा गर्नुपर्छ । गर्भपतनपछि यौन सम्पर्क गर्दा गम्भीर पीडा भएमा डाक्टरलाई सम्पर्क गर्नुपर्छ । गर्भपतनपछि पूर्ण रूपमा ठीक नभएसम्म यौन सम्पर्कको लागि दबाब दिनु हुँदैन ।

गर्भपतन र साइडइफेक्ट

– पेट दुखाइ

– हल्का योनी रक्तस्राव

– स्तन दुखाइ

– थकान

यद्यपि मेडिकल र सर्जिकल गर्भपतन दुवैलाई सामान्यतया सुरक्षित मानिन्छ । तर कहिलेकाहीं गम्भीर जटिलता निम्त्याउन सक्छन् । सबैभन्दा सामान्य जटिलतामध्ये एक संक्रमण हो । यो अपूर्ण गर्भपतन वा योनीमा ब्याक्टेरियाको सम्पर्कको कारणले हुन सक्छ, जस्तै धेरै चाँडो यौन सम्पर्क, यौन सम्पर्कको लागि पर्खिएर र ट्याम्पोनको सट्टा प्याड प्रयोग गरेर संक्रमणको जोखिम कम गर्न सकिन्छ ।

गर्भपतनपछि संक्रमण भए देखिने लक्षण

संक्रमणका लक्षणहरूमा कडा गन्ध आउने योनीस्राव, ज्वरो र कडा पेल्भिक दुखाइ समावेश हुन सक्छन् । यदि संक्रमणको समयमै उपचार गरिएन भने पेल्भिक इन्फ्लेमेटरी रोग लाग्न सक्छ, त्यसैले लक्षणहरू देखिने बित्तिकै, उपचारका लागि डाक्टरलाई सम्पर्क गर्नुपर्छ ।

गर्भपतनपछि महिलाले अनुभव गर्न सक्ने अन्य सम्भावित जटिलता

– अपूर्ण वा असफल गर्भपतन जसमा भ्रूणको केही तन्तु अझै पनि पाठेघरमा छ वा पूर्ण रूपमा बाहिर आएको छैन । यसले गम्भीर चिकित्सा जटिलताहरू निम्त्याउन सक्छ ।

– पाठेघरको संक्रमणले कडा पेट दुख्ने, रगत बग्ने र ज्वरो आउने हुनसक्छ ।

– सेप्टिक झट्का जसका लक्षणहरूमा ज्वरो, पेट दुख्ने र कम रक्तचाप हुन्छ ।

गर्भपतनपछि कसरी हेरचाह गर्ने ?

गर्भपतनपछि कसरी हेरचाह गर्ने भनेर डाक्टरले नै सल्लाह दिन्छन् । साइड-इफेक्ट कम गर्न र गर्भपतनपछि आराम गर्न यी कुरामा ध्यान दिनुपर्छ ।

– दुखाइ कम गर्न हट वाटर ब्यागले सेक्ने

– बान्ता हुने वा पखाला लाग्ने समस्या भएको छ भने हाइड्रेटेड रहन प्रयास गर्ने

– आफ्ना भावनाहरुलाई नियन्त्रणमा राख्नुपर्छ । किनकि प्रायः हार्मोनल परिवर्तनका कारण नै भावनात्मक परिवर्तन आउने हो ।

– सम्भव छ भने एक वा दुई दिनका लागि पूर्ण आराम गर्नुपर्छ, ताकि घरमा सजिलै निको हुन सकिन्छ ।

– दुखाइ कम गर्न डाक्टरको सल्लाह अनुसार पेनकिलर खाने जसले दुखाइसँग लड्न मद्दत गर्छ ।

– यस अवधिमा मसाज गर्न सकिन्छ कि भनेर आफ्नो डाक्टरसँग परामर्श लिनुपर्छ । मसाज आरामको राम्रो विकल्प हुनसक्छ ।

गर्भपतनपछि गर्भनिरोधक प्रयोग गर्दा यी कुरामा ध्यान दिनुपर्छ

गर्भपतन भएको लगभग तुरुन्तै गर्भवती हुन सकिन्छ । गर्भपतनपछि तुरुन्तै गर्भनिरोधक सुरु गरिएन भने फेरि गर्भ रहन सक्छ । त्यसैले गर्भावस्थाबाट बच्न तुरुन्तै गर्भनिरोधक प्रयोग गर्नुपर्छ ।

गर्भ निरोधक चक्कीको प्रयोग गर्ने हो भने पहिलो हप्ता पूरा नभएसम्म यौन सम्पर्क गर्न कण्डमको प्रयोग पनि गर्नुपर्छ । अन्य गर्भनिरोधकको प्रयोग गर्न डाक्टरको सल्लाह लिन सकिन्छ ।

गर्भपतन डा. सचिनकुमार यादव
डा. सचिनकुमार यादव
लेखक
डा. सचिनकुमार यादव
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

डा. यादव हाल प्रादेशिक अस्पताल मलंगवामा कार्यरत छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर १०२८८ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय