+
+

यी हुन् युट्युबमा धेरै हेरिएका ५ नेपाली गीत

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते १५:१०

काठमाडौं । युट्युबमा धेरै हेरिएका नेपाली गीत कुन–कुन होलान् ? संगीतप्रेमी दर्शक तथा श्रोतालाई जिज्ञासा हुनसक्छ । सूचीको शीर्षस्थानमा रहेका गीतहरु युट्युब, टिकटक र रिल्समा मात्र होइन, सामाजिक जमघटमा उत्तिकै घन्किने गरेका छन् । नेपाली मात्र होइन, विदेशी नेटिजनले पनि यी गीतमा टिकटक बनाएका छन् र तिनलाई सेयर गरिरहेका छन् ।

युट्युबमा अहिलेसम्म सबैभन्दा धेरै हेरिएको नेपाली गीतमा फिल्म ‘दुई रुपियाँ’को ‘कुटुमा कुटु’ छ । राजनराज शिवाकोटीको शब्द र संगीतमा तयार भएको यो गीतलाई अहिलेसम्म २१ करोड १६ लाखभन्दा बढी पटक हेरिएको छ । यो गीत ७ वर्षअघि रिलिज भएको थियो । गीतमा राजनराज सिवाकोटी, मेलिना राई र राजन इशानको स्वर छ । स्वस्तिमा खड्का, निश्चल बस्नेत लगायतका कलाकार यो गीतको भिडियोमा फिचर्ड छन् ।

धेरै हेरिने नेपाली गीतको दोस्रो स्थानमा टीका प्रसाईंले गाएको माया ‘लुकी लुकी’ छ । आनन्द अधिकारीको शब्द र आशिष अविरलको संगीत तथा एरेन्ज रहेको यो गीतलाई १५ करोड २३ लाख पटक हेरिएको छ । लोक आधुनिक जनराको यो गीतको भिडियोमा द कार्टुन्ज क्रूको नृत्य प्रस्तुति छ ।

सूचीको तेस्रो स्थानमा फिल्म ‘घामड शेरे’को गीत ‘साली मनपर्‍यो’ छ । कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीत रहेको गीतमा कालीप्रसाद र अस्मिता अधिकारीको स्वर छ । यो गीतलाई अहिलेसम्म १३ करोड ५० लाख पटक हेरिएको छ ।

चौथो स्थानमा दीपक शर्माको शब्द तथा संगीत रहेको गीत ‘पिरिम नलाउने’ छ । आशिष गौतम सचिन र मेलिना राईको स्वर समावेश गीतको भिडियोलाई अहिलेसम्म ११ करोड २२ लाख पटक हेरिएको छ ।

पाँचौं स्थानमा टंक बुढाथोकी र टीकाराम बुढाथोकीको शब्द तथा संगीत रहेको गीत ‘कसरी कसरी २’ छ । टंक र मेलिना राईले यसमा स्वर दिएका छन् । यो गीतलाई अहिलेसम्म १० करोड ६८ लाखभन्दा बढी पटक हेरिएको छ ।

त्यसपछि संगीतकार सिवाकोटीकै शब्द तथा संगीत रहेको गीत ‘फुलबुट्टे सारी’ छ । मिलन नेवारको स्वर समावेश गीतलाई अहिलेसम्म १० करोड ६६ लाखभन्दा बढी पटक हेरिएको छ ।

वसन्त थापाको संगीत र नवराज पन्तको शब्द रहेको गीत ‘सालको पात टपरी’ पनि धेरै हेरिने गीतमध्ये पर्छ । कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको गीतलाई अहिलेसम्म ९ करोड ६६ लाख पटक हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?