+
+

कांग्रेसले तोक्यो १०० दिने अभियानमा खटिने प्रतिनिधिको काम

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते १८:४२

२ असोज, काठमाडौं। नेपाली कांग्रेसले ७ असोजदेखि सुरु हुने पार्टीको १०० दिने विशेष अभियानमा खटिने प्रतिनिधिको काम निश्चित गरेको छ ।

अभियानमा जिल्लाजिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरुलाई बुधबार केन्द्रीय कार्यालयमा अभिमुखीकरण गरिएको छ ।

महामन्त्री गगन थापाले अभियानमा खटिने प्रतिनिधिहरुलाई उनीहरुको जिम्मेवारीबारे जानकारी गराएका छन् ।

१६ पुसमा सकिने अभियान सकेर फर्किँदा प्रतिनिधिहरुले केन्द्रीय कार्यालयमा प्रतिवेदन पेश गर्नुपर्नेछ । प्रतिनिधिले सम्मेलन हुन नसकेका स्थानको सम्मेलनकोे सुनिश्चित गर्नुपर्नेछ ।

प्रतिनिधिले वडा, पालिका, जिल्लाको बैठक बस्न नसकेको भए बैठक नियमित बस्ने वातावरण बनाउनु पर्दछ । विभिन्न तहका कार्य समितिलाई वार्षिक कार्यतालिका बनाउन पनि लगाउनेछ ।

सय दिने अभियानमा सदस्यता विशेष अभियानका रुपमा ‘सदस्यता घर आगन अभियान’ सञ्चालन गर्ने महामन्त्री थापाले बताए ।

क्रियाशील सदस्यता कार्ड पुगे/नपुगेको अभिलेख राख्ने, सदस्यता कार्ड वितरण नभएको भए केन्द्रीय प्रतिनिधिले वितरणको व्यवस्था गर्नुपर्नेछ ।

‘क्रियाशील सदस्यता नवीकरण फारम प्राप्त भए नभएको, प्राप्त भएर पनि वितरण भए नभएको सबै अवस्था विश्लेषण गरी तत्काल नवीकरण प्रक्रिया अगाडि वढाउने । जुन तहमा क्रियाशील नवीकरण सदस्यता फारम रोकिएको छ सो खुलाई कुनै समस्या भए फुकाउने र वितरण सुनिश्चित गर्ने’, प्रतिनिधिलाई दिइएको कार्यादेशमा भनिएको छ ।

केन्द्रीय प्रतिनिधिले भ्रातृ तथा शुभेच्छुक संस्थामा रहेका समस्या पनि समाधान गर्नुपर्नेछ । भ्रातृ एवं शुभेच्छुक संस्थामा विवाद भए त्यसको प्रकृति निक्र्यौल गरी समाधानका लागि समन्वय गर्नुपर्नेछ ।

प्रतिनिधिले समसामयिक विषयमा समेत पार्टी पङ्तिलाई जानकारी गराउने कार्यादेश दिइएको छ । कांग्रेस र नेकपा एमालेबीच भएको सत्ता सहकार्य, महासमितिबाट पारित दस्तावेज र पार्टीले लिएका मुख्य मुख्य नीति, संविधान संशोधन, सहकारी ठगी प्रकरणमा पार्टीले लिएको अडान लगायतमा प्रतिनिधिले जानकारी गराउनु पर्नेछ ।

केन्द्रीय प्रतिनिधिले सय दिने सांगठनिक अभियानको वडासमेत सम्पूर्ण अभिलेख विवरण सहितको प्रतिवेदन केन्द्रले तोकेको ढाँचामा केन्द्रीय कार्यालयमा पेश गर्नुपर्नेछ ।

अभियानबाट आएका सुझावलाई पार्टीभित्र छलफल गरिने महामन्त्री थापाले अभिमुखीकरण कार्यक्रममा जानकारी गराए ।

सुझावहरु प्रदेश र संघीय सरकार तथा पार्टीसंग सम्बन्धित सुझाव एकत्रित गरी पार्टीमा पेश गरिने भएको छ । पार्टीको तर्फबाट जितेका स्थानीय तहमा जनप्रतिनिधिसंग संवाद गर्न र समन्वयका लागि हरेक स्थानीय तहमा समन्वय र सहजीकरण गर्ने संयन्त्र गठन गर्ने कांग्रेसले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?