+
+

के हो अर्थमन्त्रीको आकस्मिक नेप्से भ्रमण उद्देश्य ?

‘सरकार बनिसकेपछि लगानीकर्तामा विश्वास सिर्जना भएको छ । पूँजीबजारको दिगो, भरपर्दो र विश्वसनीय विकास गर्न सरकार प्रयत्नशील छ । यति हुँदा पनि ३ हजारसम्म पुगेको बजार किन २५८० आसपास आयो ? यसको जवाफ म चाहन्छु,’ नेप्सेका अधिकारीहरूलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते २०:०३

२ असोज, काठमाडौं । बुधबार दिउँसो ११ बजेतिर मात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अर्थमन्त्री विष्णु पौडेलले २ बजेतिर भ्रमण गर्ने जानकारी आयो । त्यसपछि हतारहतारमै नेप्सेले एउटा औपचारिक कार्यक्रम गर्ने गरी तयारी गर्‍यो ।

साढे २ बजेतिर अर्थमन्त्री पौडेल राजस्व सचिव दिनेश घिमिरे, धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष तथा सहसचिव महेश बरालसहित टिम लिएर नेप्से पुगे ।

कार्यक्रम आयोजना गरिएको हल गएर अर्थमन्त्री पौडेलले बजार गिरावटप्रति असन्तुष्टि पोखे । उनले बजार घट्नु र ३० अर्बसम्म पुगेको दैनिक कारोबार अहिले ५–६ अर्बमा खुम्चिनुको कारण आफूलाई चाहिएको बताए ।

‘यो सरकार बनिसकेपछि लगानीकर्तामा विश्वास सिर्जना भएको छ, सरकार पूँजी बजार दिगो, भरपर्दो र विश्वसनीय विकासका लागि प्रयत्नशील छ,’ उनले भने, ‘यति हुँदा पनि ३ हजारसम्म पुगेको बजार किन २५८० आसपास आयो ? यसको जवाफ म चाहन्छु ।’

राजनीतिक र अन्य आर्थिक अवस्थामा कुनै समस्या नदेखिँदा पनि बजारमा ३० अर्बसम्म पुगेको कारोबार अहिले किन ५ अर्बमा झर्‍यो भन्ने जवाफ आफूलाई चाहिएको उनले बताए ।

सेयर कारोबार प्रणालीमा पनि बेलाबेला समस्या आएको बारे उनले जिज्ञासा राखे । ‘यो प्रणालीले कति धान्छ, कारोबारी तथा लगानीकर्ताको गोपनीयता कति सुरक्षित छ ? यी विषयमा मेरो जिज्ञासा छ,’ उनले थपे ।

लगानीकर्ता त्रसित नहोउन् भन्ने चाहना सरकारको रहेको उनले बताए । पछिल्लो समय लगानीकर्ता ‘प्यानिक’ बन्नुले बजारमा जालझेल भएको त होइन भन्नेबारे चासो लागेर आफू नेप्से आएको उनले स्पष्ट पारे । बजारमा जालझेल गरेर प्यानिक बनाउनेलाई कारबाही गर्ने उनले बताए ।

उनले आफ्नो भनाइ राखिसकेपछि डेटा सेन्टर पुगेर त्यसबारे जानकारी लिए । त्यसपछि प्रमुख कार्यकारी अधिकृतको कार्यालयमा चियापानसहित सामान्य गफगाफ मात्रै भयो ।

तर, भ्रमण क्रममा धितोपत्र बजारको दिगो विकासका लागि गम्भीर छलफल नभएको सम्बद्ध स्रोतले अनलाइनखबरलाई बतायो । अर्थमन्त्रीले अचानक नेप्सेमा गरेको भ्रमण बजारलाई सन्देश दिन मात्रै भएको देखिएको पनि उनको भनाइ छ ।

‘अर्थमन्त्रीले आफू बजारप्रति सकारात्मक देखाउनका लागि मात्रै भ्रमण भएको भान भयो,’ नेप्सेका एक उच्च अधिकारीले भने, ‘बजारप्रति आफू सकारात्मक छु भनेर देखाउने काम मात्रै भयो ।’

बजार घटेकै बेला नेप्सेमा गएर भनेका केही विषयले उनी आफ्नो कार्यकालमा बजार नघटोस् भन्ने चाहना रहेको भन्ने बुझ्न सकिन्छ । माग र आपूर्तिका कारण बजारका सूचक तलमाथि हुनु स्वभाविक हो । त्यहीअनुरूप बजार अहिले केही झरेको छ ।

तर बजार २ हजारबाट ३ हजारमा जसरी पुगेको थियो, त्यसैगरी अहिले २५ सय आसपास झर्दा आत्तिनुपर्ने विषय थिएन । ‘तर, अर्थमन्त्रीले आकस्मिक अनुगमनको शैलीमा नेप्सेको भ्रमण गर्नुको साटो धितोपत्र बजारमा रोकिएका काम तथा नीतिगत व्यवस्थामा सुधार गर्ने पहल गरेको भए फलदायी हुन्थ्यो,’ ती पदाधिकारी भने ।
आफ्नो कार्यकालमा बजार बढेको चाहना राख्नु अर्थमन्त्रीको स्वभाव नै हुने भएकाले यो अन्यथा नरहेको लगानीकर्ता बताउँछन् ।

‘बजारको विकास र विस्तारका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने कार्य वा नेप्सेले गरिरहेका कार्य र योजनाबारे मन्त्रीले चासो दिनु स्वभाविक हो,’ नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले भने ।

तर बजार सुधारका लागि गर्नुपर्ने धेरै कार्यहरू बाँकी छन् । कारोबार राफसाफ गर्ने निकाय सीडीएस एन्ड क्लियरिङ यतिबेला प्रमुख कार्यकारी अधिकृतविहीन छ । प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि सरकार गम्भीर देखिँदैन । सेयर कारोबार हुने प्रणाली ‘टीएमएस’ मा बारम्बार समस्या देखिने गरेको छ ।

अर्कोतर्फ धितोपत्र बोर्ड कार्यकारी अध्यक्षविहीन हुँदा सार्वजनिक निष्कासन रोकिएको मात्रै छैन सेयर बजारमा हुन सक्ने सम्भावित जालसाजी कारोबार तथा अन्य भित्री सूचना प्रवाहबारे नियमन ठप्प छ ।

बोर्डमा परेका गुनासा तथा उजुरी उपयुक्त समयमा सम्बोधन हुन सकेका छैनन् । यी धेरै समस्याका बाबजुत अर्थमन्त्री पौडेलले गरेको नेप्से भ्रमणले खास समस्या सम्बोधनमा कुनै प्रगति नदेखिने भए पनि यसले लगानीकर्ताको मनोबल केही बढाउन मद्दत पुग्ने धेरैको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?