+
+

रविको प्रतिवेदन : रास्वपाको सांगठनिक स्वरुप नै अस्पष्ट

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते २१:११

२ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको संगठन निर्माण र विस्तारमा अलमलमा परेको स्वीकार गरेका छन् ।

मंगलबार र बुधबार गरी दुई दिनसम्म चलेको राष्ट्रिय भेलाको अन्तिम सत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्, जसमा उनले दुई वर्षको समीक्षा गरेका छन् । संसदीय फाँटमा जुन रफ्तारमा रास्वपा स्थापित भयो, पार्टीको सांगठनिक क्षेत्रमा नसकेको भन्दै उनले भनेका छन्, ‘दुई वर्षको बीचमा पार्टी सबै पालिका र वडा तहमा पुगिसक्ने पथ्र्यो, तर पुर्‍याउन सकेनौं ।’

कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार रास्वपामा १ लाख ४० हजार पार्टी सदस्य छन् । तर सबै निर्वाचन क्षेत्र र पालिकामा संगठन बन्न सकेको छैन । हालसम्म १४८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३७८ पालिकामा मात्र संगठन बनेको छ ।

दुई वर्षसम्म कस्तो संगठन चाहिन्छ भन्ने बहस गर्दा पनि अझै स्वरुप प्रष्ट नभएको लामिछानेले बताएका छन् ।

‘नागरिक स्तरमा दोहोरो सम्वादसहित सामूहिक अपनत्व लिन पनि संगठन चाहिन्छ’ संगठनको आवश्यकतामा निकै जोड दिएका उनले प्रतिवेदनमा लेखेका छन्, ‘तर हाम्रो सांगठनिक स्वरुप र संरचना कस्तो हुने भन्नेबारे दस्तावेजहरुमा कतै प्रष्ट उल्लेख छैन । विधानमा समितिगत र विभागीय ढाँचा मात्र उल्लेख छ ।’

पूर्णत: क्याडरबेस हुनु पार्टीका लागि भार हुने र मासबेस मात्र बनाउँदा सांगठनिक संरचनाको उपयोगिता स्थापित गराउन गाह्रो हुने उनको विश्लेषण छ । आफूलाई मिश्रित प्रणालीमा जानु उपयुक्त हुन्छ भन्ने लागेको भन्दै उनले अहिले भने रास्वपालाई अभियानकै रुपमा विस्तार गर्ने प्रस्ताव अगाडि सारेका छन् ।

पार्टी पङ्तिलाई राजनीतिक र सांगठनिक प्रशिक्षण दिन नसक्दा पार्टी सदस्य र समिति निश्क्रिय हुन पुगेको लामिछानेको ठम्याइ छ । अरुबाट लागेको आरोपको प्रतिवाद निम्छरो हुनुका साथै कमजोर सूचना प्रणाली, नेता कार्यकर्ताको अन्तर्क्रियामा अभाव पनि पार्टीको कमजोरी भएको उनले बताएका छन् ।

पूर्व महामन्त्री मुकुल ढकालका कारणले पनि पार्टी कार्यकर्तामा संशय पैदा भएको लामिछानेले उनले लगाएका सबै आरोप खारेज गर्ने प्रस्ताव राखेका छन् । ढकाल प्रकरणले पात्र र प्रवृत्ति बेलैमा चिन्न सहयोग पुर्‍याएको उनको विश्लेषण छ ।

पार्टीभित्र सफलताको बढाइ चढाइ गर्ने र कमजोरीको लुकाउने प्रवृत्ति रहेको पार्टीभित्रको विश्लेषण लामिछानेले गरेका छन् । आन्तरिक समस्या, सांगठनिक गतिहिनता, नागरिकमा देखिएको संशयको निर्मम समीक्षा हुनुपर्ने उनले प्रतिवेदनमा लेखेका छन् ।

लामिछाने प्रत्येक पार्टी संरचनाले विगतको आत्मसमीक्षा गरेर त्यसको प्रतिवेदन उपल्लो तहमा पठाउनुपर्ने प्रस्ताव पार्टी भेलामा राखेका छन् । ‘मूल नेतृत्वको रुपमा केन्द्रीय समितिमा गम्भीर आत्मसमीक्षा गराउने प्रतिवद्दता व्यक्त गर्दछु’, कार्यकर्तालाई आश्वस्त पार्दै उनले भनेका छन् ।

रविले सरकारमा जाने निर्णयको बचाउ गरेका छन् । ‘दुईपटक गरेर हामी पाँच महिना सरकारमा गयौं । पुराना दलसँग मिलेर सरकारमा जानुलाई शुभेच्छुकले निको मानेनन्’, भेलामा लामिछानेले भने । पुरानाहरुसँग राजनीतिक मैदानमा जुध्ने रणनीति बनाउन र विचौलियाको सेटिङ चिर्न सरकारमा जानु परेको उनको तर्क छ ।

‘यताकदा सुनिन्छ, गृहमन्त्री पायो भने यसलाई केही चाहिँदैन । पदलोलुप भएको भए प्रधानमन्त्रीको प्रस्ताव किन नकार्थे होला ?’, बचाउमा लामिछानेले भने । देश परिवर्तन गर्न लागेको व्यक्तिलाई पदलोलुप भन्नु अन्यायपूर्ण हुने उनले तर्क गरे ।

लामिछानेले आफूमाथि उठेका विषयलाई हल्का रुपमा लिँदा त्यसले पार्टी पङ्तिलाई असर पुगेको स्वीकार गरेका छन् । ‘मेरा कुनै बेलाका गैर राजनीतिक तथा अत्यन्तै व्यक्तिगत विषयको भारी सिंगो पार्टीले अनाहकमा बोक्नुपर्‍यो । यसमा म दुःखी छु’, लामिछानेले आफ्नो प्रतिवेदनमा लेखेका छन् ।

उचित समयमा निकास दिन नसक्नु पनि आफ्नो कमजोरी भएको उनले स्वीकार गरेका छन् । राजनीति निर्मम हुन्छ बुझेर त्यसको पूर्वतयारी गर्न नसक्नु आफ्नो कमजोरी रहेको प्रतिवेदनमा लेखेका छन् । ‘जति पनि प्रश्न उठे, त्यति पनि ठाउँ दिन हुन्नथ्यो भन्ने ठान्छु’, रास्वपा सभापति लामिछानेले भनेका छन् ।

आफ्नो बोलीका कारणले पनि पार्टीमा नकारात्मक असर पुगेको उनले स्वीकार गरेका छन् । आफ्ना कयौं कमजोरी हुनसक्ने बताएका उनले अराजनीतिक, असामाजिक कार्य भने नगरेको दाबी गरे । इलामको उपनिर्वाचनमा २०७९ सालमा भन्दा चार हजार मत बढी पाएको भन्दै उनले आत्मसन्तुष्टि व्यक्त गरे ।

अति आत्मविश्वास, छरिएका भ्रम चिर्न नसक्नु र सही रणनीति बनाउन नसक्दा पराजित हुनुपरेको लामिछानेको इलाम उपनिर्वाचनको निष्कर्ष छ । प्रतिवेदनमा उनले लेखेका छन्,  ‘इलामले हाम्रो टाउकोमा घण्टी बजायो र भन्यो यतिले पुगेन । अझ तिक्ष्ण, चतुर र सचेत परिश्रम गर ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?