+
+

कालीगण्डकीको अवैध दोहन बढ्यो

रासस रासस
२०८१ असोज ३ गते १०:५३
फाइल फोटो ।

३ असोज, पर्वत । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा मात्र पाइने शालिग्राम नासिएको जनाउँदै सर्वोच्च अदालतले उत्खननमा रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको भएपनि दैनिकजसो नदीमा डोजरले बालुवा निकालिरहेका छन् ।

अनुगमन समिति निष्क्रिय रहँदा प्राकृतिक स्रोत संरक्षणमा चुनौती थपिएको छ । कुश्मा नगरपालिकाको मालढुङ्गा आसपास, दमुवाखोला, जलजला गाउँपालिकाको लस्ती, मिलनचोक, खनियाघाट, केरावारी, बगरफाँट र मोदीखोलाको दोबिल्लालगायत स्थानमा नदीको धार नै परिवर्तन गरेर उत्खनन गरिएको पाइएको छ ।

नदीबाट निकालिएको बालुवा, ढुङ्गा, गिट्टी मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, दोबिल्ला–फलेवास सडक किनारमा उरुङ लगाइएको छ । कालीगण्डकी किनारमा मापदण्ड विपरीत सञ्चालन भएका क्रसर उद्योगले लुकिछिपी बालुवाका झिकेर अनधिकृत दोहन गरेका स्थानीय हरेमबहादुर खत्रीले बताए ।

कहिलेकाहीं प्रहरीले एकदुई जनालाई पक्राउ गरेर सम्बन्धित पालिकामा बुझाएपनि कारबाही नगर्दा उनीहरू हतोत्साही नभएका उनको भनाइ छ । सर्वोच्च अदालतले कालीगण्डकी धार्मिक आस्थासँग जोडिएकाले यसको दोहन अवैध भएको भन्दै नदीजन्य पदार्थ मेसिन प्रयोग गरेर निकाल्न निषेध गरेको छ ।

अदालतको आदेशपछि कुश्मा नगरपालिका र जलजला गाउँपालिकाले नदीजन्य पदार्थ उत्खनन गर्न पाएका छैनन् । गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी मापदण्ड कार्यविधि, २०७५ तयार गरे पनि त्यो पालना भएको छैन ।

कार्यविधिअनुसार राष्ट्रिय वन, आरक्षण क्षेत्र, संवेदनशील क्षेत्रबाट ढुङ्गा, गिट्टी, बालुवा, माटो, चट्टान, उत्खनन गर्दा ‘डोजर, स्काभेटर, लोडर’जस्ता भारी उपकरण प्रयोग गर्न पाइदैन । कुश्मा नगरपालिकाकी राजस्व शाखा प्रमु डिलकुमारी शर्माले नदी तथा खोलाबाट निर्माण सामाग्री उत्खनन गरेर सडक किनारमा थुपारिएको गुनासोको अनुसन्धान जारी रहेको बताइन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?