+
+

राष्ट्रिय नाटक महोत्सवमा कोशी प्रदेशको ‘घरजम’ पहिलो

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३ गते १३:४६

काठमाडौं । राष्ट्रिय नाटक महोत्सवमा कोशी प्रदेशको नाटक ‘घरजम’ पहिलो बनेको छ । चेतना नाट्य समूह इलामको प्रस्तुति रहेको उक्त नाटकले पुरस्कारस्वरुप एक लाख रुपैयाँ प्राप्त गर्‍यो ।

माधव भण्डारीको लेखन रहेको नाटकबाट सुरेश पोर्तेल र अन्वेष थुलुङ राईले उत्कृष्ट निर्देशक र भावना खपांगी मगरले अभिनेत्रीको पुरस्कार जिते ।

लुम्बिनी प्रदेशबाट सहभागी शैक्षिक विकृतिको कथावस्तुमा बनेको नाटक ‘निब’ दोस्रो बन्यो । गणेश पौडेलको लेखन र विशाल केसीको निर्देशन रहेको यो नाटकबाट सोमनाथ खनाल उत्कृष्ट अभिनेता बने । यो नाटकले पुरस्कारस्वरुप ५० हजार रुपैयाँ प्राप्त गर्‍यो ।

बागमती प्रदेशबाट सहभागी श्रीकृष्ण शाहीको लेखन, निर्देशन र प्रस्तुतिको नाटक ‘सिल्भिया’ तेस्रो बन्यो । यो नाटकले २५ हजार रुपैयाँ प्राप्त गर्‍यो । रेडियो नेपालका प्रथम गायक, रंगकर्मी, अभिनेता तथा गीतकार हरिप्रसाद रिमालको शतवार्षिकीको अवसरमा महोत्सव आयोजना गरिएको हो ।

स्व. रिमाल र पत्नी कल्याणीको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले महोत्सव आयोजना गरेको हो । प्रतिष्ठानका अध्यक्ष वासुदेव त्रिपाठी,  रिमालकी पत्नी कल्याणी, सदस्य सचिव सम्राट सापकोटा लगायतले विजयी हुनेलाई पुरस्कार प्रदान गरे ।

नाटकका उत्कृष्ट निर्देशक, अभिनेता र अभिनेत्रीलाई जनही नगद १५ हजार रुपैयाँ प्रदान गरियो । सो अवसरमा वर्ष २०७९ को हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत पुरस्कारबाट गणेश रसिक, संगीत विशेष पुरस्कारबाट गायक सुदेश शर्मा, सञ्चार सेवा सम्मानबाट पुरुषोत्तम सापकोटा र सञ्चार सेवा सम्मानबाट भाष्करराज राजकर्णिकार पुरस्कृत भए ।

२०८० को हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत सम्मान पुरस्कारबाट मदनदास श्रेष्ठ सम्मानित भए । विशेष पुरस्कारबाट रंगकर्मी अनुप बराल, सञ्चार सेवा सम्मानबाट सूर्यकुमारी पन्त, सञ्चारसेवा सम्मान पुरस्कारबाट पत्रकार अनन्त वाग्ले पुरस्कृत भए ।

नाट्यकर्मी अशेष मल्ल, हरिबहादुर थापा र पुष्कर गुरुङ निर्णायक रहेको महोत्सवमा सती कलसा, निब, नाच नौरंगी, लासको खेती र सिल्भियाले प्रतिस्पर्धा गरेका थिए । नाटकका विजेता कलाकारले निर्णायकमध्येका एक पुष्कर गुरुङको आगामी फिल्ममा अभिनयको मौका पाउने भएका छन् ।

समारोहमा ‘शिखर कलाकार हरिप्रसाद रिमाल’ नामक पुस्तक पनि लोकार्पण गरिएको थियो । प्रतिष्ठानका उपाध्यक्ष तथा प्राध्यापक प्रयागराज भट्टराई वशिष्ठले नेपाली नाट्य, गीत, संगीत, प्रसारण, फिल्मलगायत क्षेत्रमा रिमालको योगदानको चर्चा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?