+

स्क्रिन टाइमले बच्चाको स्वास्थ्यमा असर, अभिभावकले के गर्ने ?

२०८१ असोज  ३ गते १४:३९ २०८१ असोज ३ गते १४:३९
स्क्रिन टाइमले बच्चाको स्वास्थ्यमा असर, अभिभावकले के गर्ने ?

स्क्रिन टाइम भन्नाले मानिसले स्मार्टफोन, ट्याब्लेट, कम्प्युटर, टेलिभिजन वा अन्य डिजिटल उपकरणहरूको स्क्रिनमा हेरेर बिताउने समयलाई जनाउँछ ।

अहिलेको डिजिटल युगमा स्मार्टफोन र ट्याब्लेटदेखि टेलिभिजन र कम्प्युटरसम्मका स्क्रिनहरू हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनेका छन् । बालबालिकाका लागि यी उपकरण मनोरञ्जन र सिकाइका अनगिन्ती स्रोत पनि बनेका छन् । तर बालबालिकामा बढ्दो स्क्रिन समयले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्य, सामाजिक सीप र समग्र विकासमा पर्ने असरबारे चिन्ता बढाउँदै छ ।

सुरुसुरुमा फकाउन वा बच्चालाई खुसी पार्न मोबाइल फोन दिने अभिभावकहरू अहिले कसरी त्यो बानीबाट बालबालिकालाई छुट्टाउने भनेर चिन्तित हुन्छन् । किनकि बालबालिकाले अधिक समय स्क्रिन प्रयोग गर्दा उसको स्वास्थ्यमा हानि पुर्‍याउनुका साथै अनेक रोग निम्तिने सम्भावना हुन्छ ।

विभिन्न अध्ययनले बालबालिकाले पहिलेभन्दा धेरै समय स्क्रिनमा बिताइरहेको देखाएका छन् ।  प्रविधिको सुविधाले उनीहरुलाई जुनसुकै समयमा सामग्रीमाथि पहुँच पुर्‍याउन सजिलो बनाएको छ । जसले गर्दा बालबालिकाले स्वास्थ्य विशेषज्ञहरूले सिफारिस गरेको भन्दा धेरै समय स्क्रिनमा बिताउने गर्छन् ।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले दुईदेखि पाँच वर्षसम्मका बालबालिकालका लागि दिनमा एक घण्टा भन्दा बढी स्क्रिन समय राख्न नहुने सल्लाह दिएको छ । ठूला बालबालिकाका लागि भने अन्य गतिविधिहरूसँग सन्तुलन मिलाउन निरन्तर सीमाहरू राख्नुपर्छ भनेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले बालबालिकालाई कति समय स्क्रिन देखाउने भनेर एउटा गाइडलाइन नै बनाएको छ । सन् २०१९ मा बनेको गाइडलाइनमा एक वर्षसम्मका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ भने दुईदेखि चार वर्षसम्मका बालबालिकालाई एक घण्टाभन्दा बढी स्क्रिन देखाउन नहुने भनेको छ ।

डब्लुएचओका अनुसार पाँच वर्षमुनिका बालबालिकाले राम्रो निद्रा पाउनुपर्छ, नभए यसले किशोरावस्था तथा युवावस्थामा मोटोपन र अरू रोगको जोखिम गराउँछ ।

धेरै स्क्रिन टाइमले शारीरिक स्वास्थ्यमा पर्ने प्रभाव

स्क्रिन टाइम धेरै हुँदा बालबालिकामा शारीरिक स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्या निम्तिन सक्छ । लामो समय स्क्रिनमा बिताउने बच्चाहरूमा तुरुन्त देखिने समस्या भनेको शारीरिक नै हो । उनीहरूमा टाउको दुख्ने, गर्दन दुख्ने, आँखा रुखो हुने, बेचैन हुने जस्ता समस्या देखिन्छन् ।

स्मार्टफोन, ट्याबको सानो स्क्रिनमा आँखाको समग्र हेराइ केन्द्रित गर्दा आँखामा जोड पर्छ । जसकारण आँखामा आँसु आउने, धमिलो देखिने, टाउको दुख्ने, आँखा रातो हुने जस्ता समस्या देखिन्छन् ।

स्क्रिनहरूले उत्सर्जन गर्ने नीलो प्रकाशले शरीरको प्राकृतिक निद्राको चक्रलाई अवरोध गर्न सक्छ, जसले गर्दा बालबालिकालाई निद्रामा समस्या हुनसक्छ ।

लामो समयसम्म एकै ठाउँमा बसेर स्क्रिन हेर्दा शारीरिक गतिविधिको कमीले बालबालिकामा मोटोपनको समस्या एकदमै धेरै बढ्दै गइरहेको छ । जसले बालबालिकामा मधुमेह र मुटुरोग जस्ता थप स्वास्थ्य समस्याको जोखिम बढ्न सक्छ ।

मानसिक स्वास्थ्य र विकासमा पर्ने प्रभाव

शारीरिक स्वास्थ्य बाहेक अत्यधिक स्क्रिन समयले बालबालिकाको मानसिक र भावनात्मक विकासमा पनि असर गर्न सक्छ । अध्ययन अनुसार अत्यधिक स्क्रिन प्रयोगले चिन्ता, डिप्रेसन र ध्यान केन्द्रित गर्न नसक्ने समस्या बढ्छ ।

साना बालबालिकाका लागि धेरै स्क्रिन समयले महत्त्वपूर्ण सामाजिक र सञ्चार सीपको विकासलाई अवरुद्ध गर्न सक्छ । किनकि स्क्रिनमा धेरै समय बिताउँदा प्रत्यक्ष संवाद भर्चुअल सम्पर्कद्वारा प्रतिस्थापन हुन्छ ।

स्क्रिन टाइमको सन्तुलनमा अभिभावकको मार्गदर्शन महत्त्वपूर्ण

स्क्रिन उपकरण आधुनिक जीवनको अभिन्न अङ्ग भएपनि अभिभावक तथा परिवारका अन्य सदस्यले बच्चाको स्क्रिन समयलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्नुपर्छ । बाहिरी गतिविधि, उसका रुचिका विषय र पारिवारिक अन्तरक्रियालाई प्रोत्साहन गरी सन्तुलित दिनचर्या बनाइदिनुपर्छ ।

खाना खाने समयमा वा सुत्नुअघि बच्चालाई मोबाइल, ट्याब जस्ता ग्याजेटहरुको प्रयोग गर्न दिनु हुँदैन र अभिभावकले पनि प्रयोग गर्नु हुँदैन ।

बच्चालाई घरभित्रै वा कोठाभित्र मोबाइल, ल्यापटपमा लिप्त हुन दिनुको साटो घरबाहिरको खेलकुदमा प्रेरित गर्नुपर्छ । यसका लागि अभिभावकले पनि बालबालिकासँग समय बिताउनुपर्छ । उनीहरूसँगै खेल्नुपर्छ । बच्चालाई भुलाउनका लागि वा खुसी तुल्याउन मोबाइल, ल्यापटप दिने प्रवृत्ति त्याग्नुपर्छ ।

बच्चाको स्क्रिन टाइम कम गर्न अभिभावक आफैं रोल मोडल हुनुपर्छ । आफू चाहिं मोबाइल हेर्ने बच्चालाई नहेर भनेर हुँदैन । अभिभावकले धेरै समय स्क्रिनमा बिताएनन् भने बच्चाले पनि त्यसलाई घटाउँछन् ।

सानै उमेरदेखि नै बालबालिकालाई जिम्मेवारीपूर्वक स्क्रिन प्रयोगका बारेमा सिकाउनुपर्छ । कति समय स्क्रिनमा बिताउने, धेरै समय किन बिताउनु हुँदैन भन्ने कुरा अभिभावक, शिक्षकले उनीहरूलाई राम्ररी  सिकाउनुपर्छ ।

विद्यालयले पनि डिजिटल साक्षरताका कार्यक्रम समावेश गरेर स्क्रिन प्रयोगलाई शारीरिक गतिविधि र अन्तर व्यक्तिगत सञ्चारसँग सन्तुलन राख्न जोड दिन सक्छन् ।

डा. बाबुराम पाण्डे स्क्रिन टाइम
डा. बाबुराम पाण्डे
लेखक
डा. बाबुराम पाण्डे
बालरोग विशेषज्ञ

डा. पाण्डे हाल राप्ती एकेडेमी अफ हेल्थ साइन्सेसमा कार्यरत छन् । बालरोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २२७७९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय