+
+

आम्दानीको भरपर्दो आधार बन्न सक्ने ‘भेटिभर’, नेपालमा खेतीको व्यापक सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३ गते १८:५०

३ असोज, काठमाडौं । विश्वका धेरै देशमा आर्थिक उन्नतिको भरपर्दो माध्यम बनिरहेको ‘भेटिभर’ नामक वनस्पति खेतीको नेपालमा सम्भावनाबारे बहस सुरु भएको छ ।

बाढी, पहिरो, डढेलो, भूक्षय लगायत प्राकृतिक प्रकोप र त्यसवाट हुने मानवीय क्षति प्रत्येक वर्ष नेपालको दीर्घकालीन समस्याका रूपमा रहँदै आएको छ ।

मुलुकको उत्पादन योग्य जमिन बाँझो रहनु, दैनिक उपभोग्य सामग्री आयातमा नीहित हुनु तथा उत्पादनका अन्य क्षेत्र निर्वाहमुखी रहनुले गर्दा नेपालको आर्थिक अवस्था खस्किँदै गएको छ ।

मुलुकका यस्ता समस्याको जैविक समाधानको पहिलो तथा प्रभावकारी कदमका रूपमा भेटिभर वनस्पति बहुउपयोगी सावित हुने देखिएको छ ।

नेपालमा यो वनस्पति खेतीबारे बहस गर्दै आएको संस्था भेटिभर नेपालका अनुसार देशको भौगोलिक, आर्थिक, पर्यावरणीय, कृषि विकास, आय आर्जन तथा प्राकृतिक विपद् लगायत क्षेत्रमा भेटिभरले सकारात्मक योगदान पुर्‍याउन सक्छ ।

संस्थाका अनुसार भेटिभर ‘क्रिसोपोगान’ प्रजातिको एक बहुउपयोगी वनस्पति हो । यसको वैज्ञानिक नाम ‘क्रिसोपोगन जिजानियोइड्स’ हो । ‘किसानको साथी’ का रूपमा नाम कमाएको यो वनस्पति धेरै देशमा कृषि सबलीकरण तथा गरिबी निवारण क्षेत्रमा वरदान सावित भएको छ ।

समुन्द्र सतहबाट १ हजार ८ सय मिटर उचाइसम्म खेती गर्न सकिने भेटिभरको मुख्य विशेषता यसको जरामा छ । यसको जरा निकै बाक्लो गाँज भई जमिनमा तीन मिटरभन्दा बढी गहिरोसम्म जान्छ । साथै, यो विषम किसिमको माटोमा हुर्कने तथा सप्रने बिरुवा हो ।

विश्व परीक्षणबाट प्रमाणित भेटिभर खेतीबाट ६ देखी ८ महिनाभित्र आर्थिक लाभ लिन सकिने संस्थाले जनाएको छ । यसको जराबाट उत्पादन हुने तेल लिटरको २ सय ७५ अमेरिकी डलरमा अन्तर्राष्ट्रिय बजारमा कारोबार हुने गरेको छ । यो तेलको माग विश्व बजारमा उच्च छ ।

भेटिभर नेपालका अनुसार देशभरि नदी तथा बाढी पहिरोबाट क्षतिग्रस्त करिब १० लाख हेक्टर बगर जमिनलाई भेटिभर खेती विस्तार मार्फत पूर्णरूपमा उपयोगमा ल्याउन सकिन्छ । उक्त जमिन उपयोगले नेपालको खाद्य व्यापार घाटा निर्मुल पार्न सक्ने देखिन्छ ।

भेटिभरको शिशिष्ट गुण उपयोगिता तथा क्षमता मध्यनजर गरी विश्व बैकको पहलमा अमेरिकाको भर्जिनियामा सन् १९८९ मा द भेटिभर नेटवर्क नामक गैरनाफामूलक संस्था स्थापना भएको छ ।

अफ्रिकी देश हाइटीको अर्थतन्त्रको करिव ७४ प्रतिशत हिस्सा भेटिभर खेतीमार्फत उत्पादन हुने भेटिभर तेलले ओगटेको छ । त्यही भएर नेपालको विप्रेषणमा आधारित अर्थतन्त्रलाई कृषितर्फ व्यवस्थापन गर्न तथा देशमै रोजगारी सिर्जना गर्न भेटिभर उपयोगी र प्रभावकारी माध्यम हुने संस्थाको भनाइ छ ।

संस्थाका अनुसार भेटिभर वनस्पतिबाट गरिबी उन्मुलन, कृषि, जैविक भूसंरक्षण, जैविक तटबन्ध, भिरालोपन स्थिरीकरण, फाइटोरिमेडिएसन तथा प्रकोप न्यूनीकरणतर्फ बाढीपहिरो रोकथाम, तटीय क्षेत्र एवं नदी किनार संरक्षण, बाँझो भूमि पुनर्स्थापना, जलाधार संरक्षण, हरित इन्धन स्रोत लगायत फाइदा लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?