+
+

मनास्लु पालिकाले उठाउन थालेको शुल्क विवादमा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३ गते १९:४१

३ असोज, गोरखा। गोरखाको चुमनुब्री गाउँपालिकाले पर्यटकसँग उठाउन थालेको शुल्क विवादमा परेको छ । १ असोजदेखि पालिकाले विदेशी पर्यटकसँग एक हजार र स्वदेशीसँग २०० रुपैयाँ उठाउन थालेको छ ।

विदेशी पर्यटकले मनास्लु क्षेत्र भ्रमण गर्न अध्यागमन विभागमा र मनास्लु क्षेत्र संरक्षण आयोजना गरी दुई ठाउँमा शुल्क तिर्नुपर्थ्यो । अहिले गाउँपालिकाले पनि शुक्ल उठाउन थालेपछि पर्यटकले तीन निकायमा शुल्क बुझाउनुपर्छ ।

मनास्लु संरक्षण क्षेत्र आयोजना प्रमुख सन्तोष शेरचनका अनुसार विदेशी पर्यटकसँग प्रति व्यक्ति तीन हजार, सार्क राष्ट्रका पर्यटकसँग एक हजार र नेपाली पर्यटकसँग एक सय रुपैयाँका दरले प्रवेश शुल्क उठाउने गरिएको छ ।

गोरखाको धार्चे गाउँपालिकाका निवर्तमान अध्यक्ष सन्तोष गुरुङले पर्यटकसँग तेहरो शुल्क लिनु गलत भएको बताउँछन् । ‘त्यहाँ आउने पर्यटकसँग एमक्याप र अध्यागमन विभागले शुल्क लिंदै आएको छ, फेरि पालिकाले पनि लिनु राम्रो होइन’ उनले भने, ‘सिजनमा एक लाख पर्यटक मनास्लु क्षेत्र पुगोस् भन्ने चाहना हो तर यसरी दोहोरो–तेहरो शुल्क उठाउँदा कसरी पर्यटक आउँछन् ?’

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नवीन पोखरेल पर्यटकसँग ठाउँ–ठाउँमा शुल्क उठाउनु भन्दा एकै निकायले उठाएको रकम बाँडफाँड गर्नु उचित हुने बताउँछन् । ‘एकै ठाउँमा शुल्क लिएर संकलन भएको राजश्व आवश्यकता अनुसार बाँडफाँड गर्दा राम्रो हुन्छ’, उनले भने ।

चुमनुब्री गाउँपालिकाले भने पर्यटकबाट संकलित राजश्वको लाभ पालिकाले पनि प्रत्यक्ष रुपमा पाउनुपर्ने भन्दै शुल्क लगाएको जनाएको छ ।

‘यहाँ आउने पर्यटकसँग लिएको शुल्क पालिकाले एक रुपैयाँ पनि पाउँदैन, संरक्षित क्षेत्र भएकाले यहाँ ठेक्का लगाएर राजश्व संकलन गरौं भन्ने पनि छैन’, पालिका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले भने, ‘यो क्षेत्रमा पहिरो गएर बाटोघाटो, पुल बगायो भने एमक्याप र पर्यटन विभाग कसैले केही गर्दैन, पालिका आफैंले गर्नुपर्छ, त्यसकै लागि भए पनि शुल्क लिने निर्णय गरेका हौं ।’

संकलित रकम मनास्लु संरक्षण क्षेत्रकै संरक्षण र विकासमा खर्च गरिने उनले बताए। ‘पर्यटकको सुरक्षा, फोहोरमैला व्यवस्थापन, डढेलो नियन्त्रण, नयाँ तथा वैकल्पिक पदमार्ग निर्माण, बाटो–पुल निर्माण लगायतका काममा त्यो रकम खर्च गर्छौं’, प्रमुख प्रशासकीय अधिकृत लामिछानेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?