
काठमाडौं । लोकप्रिय रक ब्यान्ड १९७४ एडी यतिबेला आफ्नो स्थापनाको ३० औं वर्ष मनाइरहेको छ । यसै सिलसिलामा ब्यान्ड विश्वव्यापी सांगीतिक टुरमा छ ।
जर्मनी र बेलायतको प्रस्तुतिपछि १९७४ एडी अहिले अस्ट्रेलियाका विभिन्न सहरमा गुञ्जिरहेको छ । अस्ट्रेलियाको ब्रिसबेन, पर्थ, मेलबर्न, एडिलेड, होबर्ट र क्यानबेरामा कन्सर्ट भइसकेका छन् ।
अझ यसपटक सिड्नीमा हुन लागिरहेको कन्सर्ट १९७४ एडीका लागि मात्र नभएर समग्र नेपाली संगीतकै लागि ऐतिहासिक हुनेछ । २१ सेप्टेम्बरमा आईसीसी सिड्नी थिएटरमा पहिलोपटक नेपाली सांगीतिक ब्यान्डले प्रस्तुति दिन लागेको हो । करिब नौ हजार दर्शक क्षमताको भए पनि उक्त हलको आधा मात्र लिएको आयोजक रोटेपिङ इन्टरटेनमेन्टले जनाएको छ । उक्त कन्सर्टमा ५५ सय दर्शक उपस्थित हुने आयोजककझ अपेक्षा छ ।
सिड्नीको प्रस्तुतिलाई लिएर आफूहरू उत्साहित रहेको ब्यान्डका संस्थापक तथा बेसिस्ट निराकर याक्थुम्बाले बताए । ‘यसपटक ३० औं स्थापना दिवसमा सिड्नीमा केही विशेष प्रस्तुति दिने प्रयास गर्नेछौं ।’ कुनै पनि नेपाली ब्याण्डले पहिलो पटक आईसीसीमा प्रस्तुति दिन पाउनु आफ्नो लागि ठूलो अवसर र मौका भएको उनले बताए ।
सिड्नीमा भएको कन्सर्टसँगै १९७४ एडी ब्यान्डले अस्ट्रेलिया टुरको समापन गर्नेछ ।
ब्यान्डको यसपटकको अस्ट्रेलिया कन्सर्टमा नेपालका लागि पूर्वअस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्क दर्शक भएर सहभागी भइरहेकी छन् । सेप्टेम्बर १९ मा क्यानबेरामा भएको कन्सर्टमा त उनी स्टेजमा चढेर नेपालको झण्डा फरफराइरहेकी थिइन् । उनले १९७४ एडीको टिसर्ट पनि लगाएकी थिइन् ।
‘दिलले हैन जातले’ बोलको त्यो गीतको कोरस खण्डमा उनको स्वर सुन्न पाइने ब्यान्डले जनाएको छ ।
प्रतिक्रिया 4