+
+

रवि लामिछाने कालोलाई सेतो बनाउन लागेका छन् : प्रकाशशरण महत

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ४ गते १९:०७

४ असोज, धनगढी। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सहकारीको रकम दुरुपयोग गरेको प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने गल्ती ढाकछोप गर्न लागि परेको दाबी गरेका छन् ।

महतले लामिछानेले आफ्नो पक्षमा भिड जमा गरेर विभिन्न खालका प्रपोकाण्डा बनाउन खोजेको बताउँदै त्यो सफल नहुने बताएका हुन् । शुक्रबार प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले लामिछाने प्रपोकाण्डा गरेर कालोलाई सेतो बनाउन लागि परेको टिप्प्णी गरे ।

संसदीय विशेष छानविन समितिले सहकारीको रकम अपचलनमा पूर्व गृह मन्त्री समेत रहेका लामिछाने संलग्न रहेको पुष्टि हुने प्रतिवेदन बुझाइसक्दा समेत क्लीन चिट पाए भन्दै हिड्नु राम्रो नभएको उनको भनाई छ ।

‘गोरखा मिडियामा सहकारीको रकम अपचलन गरेको कुरा पुष्टि हुने प्रतिवेदनले शिर निहुरिनुपर्ने हो । तर उहाँ(लामिछाने) क्लीन चिट पाएँ भनेर हिडिरहनुभएको छ,’ महतले भने, ‘यो मुर्खता बाहेक केही होइन ।’

उनले लामिछानेसहित गोरखा मिडियाका चारै जना सञ्चालकमाथि कारवाही सिफारिस गरिसकेकाले कुतर्क गर्दै चर्को भाषणबाट चोख्याउने प्रयास गरिएको पनि बताए। सहकारी ऐन र सगंठित अपराध लगायतमा मुद्दा आकर्षित हुने भएकाले संसदीय समितिको सिफारिसका आधारमा सरकारले कारवाही अघि बढाउने उनको भनाई थियो।

अहिलेको सत्ता समीकरणमा तलमाथि नहुने दाबी गर्दै महतले पार्टी सभापति शेरबहादुर देउवा अहिलेकै समीकरणबाट दुई वर्षपछि प्रधानमन्त्री बन्ने महतले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?