+
+

दिल्लीमा मनाइयो नेपालको संविधान दिवस

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ४ गते १९:१०

४ असोज, काठमाडौं । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस एक कार्यक्रम गरी मनाएको छ ।

नयाँ दिल्लीस्थित होटल ललितमा आयोजित कार्यक्रममा भारतको केन्द्रीय सरकारका जलशक्ति तथा रेलवे राज्यमन्त्री भी सोमन्नाले प्रमुख अतिथिको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा राज्यमन्त्री सोमन्नाले पछिल्ला केही वर्षमा नेपालबाट भारतमा भइरहेको विद्यु्त निर्यातबाट दुवै मुलुकले लाभ लिइरहेको बताए ।

‘नेपालबाट भारतमा हुने विद्युत् निर्यात निरन्तर बढिरहेको छ, अहिले भारतले करिब एक हजार मेगावाट विद्युत् नेपालबाट आयात गर्छ, यसले नेपाललाई राम्रो आम्दानी दिएको छ भने भारतलाई स्वच्छ ऊर्जाको माग पूर्ति गर्न सहयोग गरेको छ,’ उनले भने, ‘आगामी दिनमा हामी यो सहकार्य अझै अघि बढ्ने अपेक्षा गरेका छौं ।’

त्यस्तै, पछिल्लो समय सुरु भएको अन्तरदेशीय क्यूआर भुक्तानीले दुवै देशको पर्यटन विकासमा योगदान गरेको उनले बताए ।

गत मार्चमा मात्रै यो सेवा सुरु भएको भए पनि दुई लाख भारतीयले प्रयोग गरिसकेको उनले बताए ।

भारतीय पर्यटकका लागि नेपाल मुख्य गन्तव्य भएको पनि उनले बताए । हवाइजहाजबाट नेपाल आउने पर्यटकमा भारतीयहरू तेस्रो नम्बरमा पर्छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘छिमक पहिला’ भन्ने अभियानअन्तर्गत दुई मुलुकबीच भौतिक, डिजिटल तथा ऊर्जासँग सम्बन्धित पूर्वाधारमा सहकार्य भइरहेको उनले बताए ।

सो अवसरमा भारतका लागि नेपालका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र सबैभन्दा ठूलोमध्येको विदेशी लगानीकर्ता रहेको बताए ।

‘दुई मुलुकबीच व्यापार, ऊर्जा, पर्यटन र कृषिका क्षेत्रमा आफ्नो सहकार्य गहिरो बनाउन चाहन्छौं,’ उनले भने ।

अहिले दुई मुलुकबीच रेलवे तथा राजमार्गका परियोजना विकास भइरहेको, विद्युत् व्यापार विस्तार भइरहेको, क्रसबोर्डर प्रसारण लाइन स्थापना भएको र दोस्रो क्रसबोर्डर पेट्रोलियम पाइपलाइन बनाउने योजना रहेको उनले बताए ।

सो कार्यक्रममा भारतका पूर्वगृहमन्त्री तथा भारतीय जनता पार्टीका पूर्वराष्ट्रिय अध्यक्ष मुरलीमनोहर जोशी, पूर्वपरराष्ट्र राज्यमन्त्री मिनाक्षी लेखी, सांसदहरू, दिल्लीमा कार्यरत विभिन्न देशका राजदूत लगायत सहभागी रहेको दिल्लीस्थित दूतावासले जनाएको छ ।

दूतावासले दक्षिण एसियाली विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालयमा पनि संविधान दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?