+
+

तिलौराकोट-लुम्बिनी सडकलाई बोधिवृक्ष करिडोर बनाउने पहल

वृक्षारोपण अभियानले लुम्बिनीको पर्यटन प्रवर्धनसँगै वातावरण र जैविक विविधता संरक्षण तथा जलवायू परिवर्तनका असर न्यूनीकरणमा ठूलो योगदान पुग्ने आयोजकको विश्वास छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ५ गते ८:२६

५ असोज, बुटवल । बुद्धको जन्मस्थल लुम्बिनीदेखि बुद्धको दरबार रहेको तिलौरोटसम्मको सडकलाई बोधिवृक्ष करिडोर बनाउने पहल थालिएको छ ।

बुद्धले ज्ञान प्राप्त गरेको बोधगयासम्म बोधिवृक्ष करिडोर बनाउने लक्ष्यसहित पहिलो चरणमा तिलौराकोट-लुम्बिनी सडकको दुबैतर्फ बर-पिपल लगायतका एक हजार बिरुवा रोप्न थालिएको हो । ३२ कलोमिटर दूरीको यो सडक खण्डमा भारत र नेपालका वृक्षारोपण अभियान्ताहरु दुई दिनसम्म पैदल यात्रा गर्दै करिब एक हजार थान बिरुवा रोप्ने छन् ।

पिपल, निम, तुलसी अभियान पटना भारत र जनकपुरधाम वन प्राविधिक समाजको आयोजना र तिलौराकोट साझेदारी वन उपभोक्ता समूहको सहआयोजनामा वृक्षारोपण हुन लागेको हो ।

पीपल, निम, तुलसी अभियान पटनाले भारतका विभिन्न धार्मिक स्थलमा बोधिवृक्ष करिडोर बनाउने अभियान सञ्चालन गर्दै आएको छ ।

आज र भोलि दुई दिनसम्म तिलौराकोटदेखि लुम्बिनीसम्म पिपल, बर, पारिजात, गुलमोहर, निम, तुलसी, कपुरलगायत जातका करिब एक हजार बिरुवाहरु रोप्न लागिएको सहआयोजक तिलौराकोट साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष जयप्रकाश पाण्डेयले बताए ।

वृक्षारोपणका लागि भारतको उत्तरप्रदेश,उत्तराखण्ड,हिमाञ्चल, उडिसालगायत प्रदेशबाट २५ जना र जनकपुरबाट २५ जना वन प्राविधिको टोलीले विभिन्न जातका बिरुवा ल्याएर आएका छन् ।

अभियानमा तिलौराकोट साझेदारी वन उपभोक्ता समूहले करिब एक हजार बिरुवा उपलब्ध गराउने भएको छ ।

यो अभियानमा कपिलवस्तुका कपिलवस्तु नगरपालिका,शुद्धोधन गाउँपालिका, मायादेवी गाउंपालिका,मायादेवी साझेदारी वन तथा रुपन्देहीका लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी साझेदारी वनले सहकार्य गरेका छन् ।

यो वृक्षारोपण अभियानले लुम्बिनीको पर्यटन प्रवद्र्धनसँगै वातावरण र जैविक विविधता संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा ठूलो योगदान पुग्ने आयोजकको विश्वास छ ।

कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले सरकारले लुम्बिनी-तिलौराकोट सडकलाई मायादेवी सुत्केरी मार्ग बनाउने योजना अगाडि सारेको सन्दर्भमा यही सडकको दुवैतर्फ वृक्षारोपण गरी बोधीवृक्ष कोरिडोर बनाउँदा देशमै नमूना र हरियालीयुक्त सडक बन्ने बताए । ‘यो अभियानलाई निरन्तरता दिएर रुखैरुखको हरियाली हुँदा यो सडक साँच्चिकै नमूना बन्न सक्छ, यसले पर्यटक र सडक प्रयोगकर्तालाई छहारी र शितलता दिन्छ र पर्यटकको बसाई लम्ब्याउन सहयोग पुग्छ’,नगर प्रमुख पौडेलले भने ।

तिलौराकोट साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष जयप्रकाश पाण्डेयले वृक्षारोपण अभियानले सडकलाई हरियालीयुक्त र मनोरम बनाउनुका साथै लुम्बिनीको पर्यटन प्रवद्र्धन, वातावरण र जैविक विविधता संरक्षणमा ठूलो योगदान पुग्ने बताए ।

‘सडकको दुबैतर्फ तीनसयदेखि ५ सय मिटरको दूरीमा पीपल, बर, पारिजात, गुलमोहर, निम, तुलसी, कपुर, जग्रेण्डा लगायत जातका करिब एक हजार बिरुवा रोप्दै छौं, यसबाट सडक क्षेत्रमा पर्याप्त अक्सिजन उत्सर्जन भई मानव स्वास्थ्य र जैविक विविधता संरक्षणमा राम्रो प्रभाव पर्छ,’ पाण्डेय भन्छन्, ‘वृक्षारोपण अभियानलाई निरन्तरता दिंदै बुद्धले ज्ञान प्राप्त गरेको बोधगयासम्मै बोधिवृक्ष कोरिडोर बनाउने लक्ष्य छ ।’

अध्यक्ष पाण्डेयले गैर सरकारी संस्थाले वातावरण संरक्षण र बुद्ध जन्मस्थल र बुद्धसँग सम्बन्धित तिलौराकोटको पर्यटन प्रवद्र्धनका लागि थालेको यो अभियानलाई स्थानीय,प्रदेश र संघ सरकारले अपनत्व लिई सडकका दुवैतर्फ सबै ठाउँमा वृक्षारोपण गर्न मिल्ने अनुकुल वातावरण बनाइदिनुपर्ने बताए । ‘अहिले सडक क्षेत्रमा रहेका विद्यालय, मठ मन्दिरले तारबार गरेका वा पर्खाल लगाएका ठाउंमा बिरुवा रोप्छौं किनभने त्यहां संरक्षण हुन्छ,’ पाण्डेयले भने, ‘अब तीनै तहका सरकारले तिलौराकोट–लुम्बिनीको ३२ किलोमिटरको दायाँबायाँ दुवैतर्फ कम्तीमा ३ सय देखि ५ सय मिटर दूरीमा बिरुवा रोप्न मिल्ने गरी ठाउँ बनाएदिनुपर्छ ।’

लुम्बिनी विकास कोषका वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन राईले तिलौराकोटा-लुम्बिनी हुँदै बोधगयासम्म बोधिवृक्ष कोरिडोर निर्माणको योजना सांच्चिकै कार्यान्वयन हुने र रोपिएका बिरुवा संरक्षण हुने हो भने लुम्बिनीको पर्यटन प्रवद्र्धनमा कोशेढुंगा सावित हुने बताए । ‘बुद्धको जन्स्थलदेखि ज्ञान प्राप्ति स्थल बोधगयासम्म बोधिवैक्ष कोरिडोर बनाउने अवधारणा बौद्ध पर्यटन प्रवद्र्धनसंगै विश्वकै चुनौती बनेको जलवायू परिवर्तनका असर न्यूनीकरणमा पनि ठूलो महत्व राख्ने रोलमोडल उदाहरण बन्नसक्छ,’ राईले भने, ‘बिरुवा रोपेपछि तिनलाई संरक्षण गर्नु र हुर्काउनु महत्वपूर्ण हुन्छ ।’

यो अभियानमा अहिले लुम्बिनी विकास कोष नजोडिए पनि भविष्यमा ठोस प्रस्ताव आए जोडिएर सहकार्य गर्न तयार रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?