+
+
पुस्तकांश :

खोकेकामिटार : एक बाडुली

मध्यरातमा गाउँका बोक्सीहरू पीपलबोटमा पूजा गर्छन् रे ! औंलामा बत्ती बाल्छन् रे… ! तर त्यही बोक्सी जम्मा हुने ठूलो पीपलबोटकै छेउ हाम्रो घर छ । मध्यरात हातमा बत्ती बाली पूजाआजा गर्न कोही आउँछन् कि भन्दै कुर्दाकुर्दा जुनी जान लाग्यो ।

कुमारी लामा कुमारी लामा
२०८१ असोज ५ गते १२:०४

गाउँको नसामा स्वच्छ हावा मात्र बहदैन, बग्छ खुल्दुली र फुर्फुरिलो कुतूहलताका अपरिमित तरेली पनि । अनेक समाचार उड्दै, तैरिंदै आइपुग्दछन् फुसफुसिन कान–कानसम्म गाउँमा । अनेक समाचार पुरुषहरूको चिया चौतारीको समय कटाउनी बन्छ भने महिलागणका निम्ति मेला, पँधेरो चटारोका सँगी । गुल्जार दौडन्छ समय चहलपहल र मधुरता सहित ग्रामीण पर्यावरणमा । त्यसैले त गाउँको कुरा थाल्दा कसरी नसम्झिरहन सक्नु हेनरी डेबिड थोरोलाई ।

उनी गाउँको नसा-नसा छामेका मानिस । जङ्गलबीच एक्लो कटेरो ठड्याएर एक्लै रमाएका मनुवा । उनले गाउँको पदचाप, श्वास, स्पन्दन सबै निहारेका थिए । जब उनी एकलासे क्याबिनबाट फुत्त नजिकको गाउँतिर फड्किन्थे, उनलाई लाग्थ्यो-प्रत्येक गाउँ एक विशाल समाचारकक्ष हो । थरीथरीका खबर उसै उसै तँछाडमछाड गर्दै होडबाजीमा दौडिरहने विशेष ठाउँ ।

यद्यपि गाउँको समाचार उति शुभ सुनिन्न हिजोआज । दूरदराजका ग्रामीण भेगमा हिजोआज पुगेका छन् चिलगाडी । कालो धूवाँ ओकल्दै, गाईवस्तु हर्काउने आवाज निकाल्दै गुड्छन् मोटरगाडी । पुगेको छ चिसो-कोला, आयातित मदिरा र केटाकेटी लोभ्याउने चाउचाउ र ललिपप । पुगेको छ डोजर काट्दै काट्दै ज्यो–ज्योमो (पितृ)ले गाउँलाई पहरा दिने देउराली डाँडा । सिसाकलमले खिचेका धर्साझैं बनेका छन् बाटोहरू । डोजरले बनाएको बाटोभरि कटनीमा परे औषधिजन्य बोटबिरुवा । आदिवासी बाजेबजुको पटुकामा हरदम हुने ओखतीका टुक्राटाक्री हराए । त्यही डोजरले मेटिहिंड्यो, पुर्खाले खाएको जरुवाको आदि स्रोत । सम्याइगयो पाखाभित्ता आँगन लिपेसरी सिनित्तै । नचिनिने भएको छ गाउँ हिजोआज ।

– ए माम (बजू), के तिमीले शिरमा सिउरिने वनफूल फुल्ने पाखा यही हो ? ए आखे (बाजे), के तिमीले जुग काटेको आदिवासी पाखाफोक्टा यही हो ?

– ए नाना (दिदी), तिमीले पानी भर्ने पँधेरा खोइ ?

– ए ज्योज्यो (दाइ) तिमीले हलगोरु नार्ने रुम्टेबारी खोइ ?

– चु नाम्सादा ति ताजी होई ति ताजी जम्मन बद्ली ताजी ।

(यो गाउँलाई के भयो होई, के भयो, जम्मै बदलियो ।)

यो प्रत्येक कायान्तरित गाउँको कथा/व्यथा हो, जहाँ हिजोआज कौतूहल सहित चियापसल, मेलापात या पानीपँधेरामा खबर-समचार दौडँदैनन् । हिजोआज न पसिना पुछ्दै कोही बटुवा पानी माग्न आँगन टेक्छन्, न त करेसामा पालैपालो तुर्तुराउँदै खित्खिताउने केटाकेटीको खलबल सुनिन्छ । न वैशाख मासको चिलाउने डालीमा लटरम्म झुल्ने सेतो सुवास छ, न छन् हितैको दौंतरीको साथ । हिजोआज गाउँ बेहद बेग्लै भएको छ ।

**** ****

आँपको रूखमा भएको वायुले त झन् कम्ता दुःख दिन्थेन । साँझ बिहान हिंड्नै मुस्किल । फूलको एक दाना तार्दा पनि चढाउनुपर्ने, नत्र भुँडी ढाडिएर बिजोग हुन्थे नानीहरू । धेरै जनालाई कालो मसानले पिरोल्थ्यो रे ! खाँदा हिंड्दाको मान्छे कालो भएर सुकिजाने ।

हिजोआज याम्बु (काठमाडौं)बाट खोकेकामिटारसम्म पुग्न लाग्ने यात्रा–समय केवल तीस/पैंतीस मिनेट हो । ऊ बेला हिंडेरै डेढ–दुई घण्टामा छिचोल्थे बलिया खुट्टाले । बुढा र भुराहरू पनि पुग्थे, दुई–साढे दुई घण्टामा त खत्रीगाउँ, खोकेकामिटार । एकै परिवार खत्री नभएको यस तामाङ गाउँको नाम खत्रीगाउँ ! किन होला ? अझ त्यही गाउँको सानो खोल्सीको नाम बोक्सीखोला छ । त्यही खोला छेउ ठिङ्ग उभिएको अजङ्गको पीपलबोट कटेपछि सुरु हुन्छ तामाङ बस्ती । खत्री र बोक्सीको के नाता होला यो गाउँमा ?

सुनिन्छ कथाहरू- मध्यरातमा गाउँका बोक्सीहरू पीपलबोटमा पूजा गर्छन् रे ! औंलामा बत्ती बाल्छन् रे… ! तर त्यही बोक्सी जम्मा हुने ठूलो पीपलबोटकै छेउ हाम्रो घर छ । केही हाँगाहुँगी भने छिमलछामलमा परे घर बनाउँदा । मध्यरात हातमा बत्ती बाली पूजाआजा गर्न कोही आउँछन् कि भन्दै कुर्दाकुर्दा जुनी जान लाग्यो । तर कोही आएनन् । तथापि छिपछिपे खोल्सोको नाम अझै बोक्सीखोला नै छ ।

काइदा के छ भने, यो खोलीको मूल त गाउँमाथिको नारानथान जङ्गल हो । तर भित्तातिरको फर्‍याक ठाउँमा तामाङ गाउँको तिर्खा मेट्ने जुगअघिको ढुङ्गेधारा पनि छ (अब त थियो भनौं) । त्यही पँधेराबाट बगेको पानी बोक्सीखोलामा मिसिएर फाँटतिर हाम्फाल्दै महेश खोलामा मिसिन्छ । महेशखोला बग्दैबग्दै त्रिशूलीमा समाहित हुन्छ । भन्नै परेन कि त्रिशूली फेरि आफ्नो यात्रामा अरू नदीमा मिसिंदै, बग्दै अन्ततः समुद्रमा एकाकार हुन्छ । बोक्सीखोलादेखि, महेशखोला र त्रिशूली, सप्तकोशीहरू पहिल्याउँदै जाने हो भने पुगिएला पनि समुद्रसँगको मिलनबिन्दु । हर्क गुरूङले मस्र्याङ्दी पछ्याए जस्तै नदीको यात्रा पहिल्याउनु मेरो बलबुताको कुरो परेन । मेरो ज्यान र मन दुवै यतिखेर यही खोकेकामिटारमा विश्राम गर्दैछ ।

अरू गाउँ जस्तै यो गाउँ पनि पसिनाको सुवासमा मगमगाउँथ्यो । असारे चटारोले गलेको हिलेमैले ज्यानलाई भदौको क्वाँटीले पुष्ट पारेर मङ्सिरे सुकिलो सुनौलो धानबाला भित्र्याउने तयारीमा हुन्थे खोकेकामिटारवासी । असारमा थाकेको हलगोरु पनि मजाले सानवनको चरिचरनदेखि गोठकै ओभानोमा उघ्राउने गर्थे । त्यसबेला प्रत्येक घरमा कोदोको जिर्माले भरिएको बडा–बडा घ्याम्पो मात्र नभई दहीको ठेकी पनि आडैमा हाँसिबस्थ्यो ।

त्यो समय क्या स्वादिलो थियो ! जसको घरमा मोही पारे पनि गाउँभरि पुग्थ्यो । मकैको छ्याम्बा (ढिंडो) घाँटीमुनि नझरेर किक्लिक् किक्लिक् परेका माम–आखेदेखि भुराहरू अकस्मात् आइपुग्ने मोही देख्दा रमाउँथे । केटाकेटी बाहेक अरूले दूध पिउने चलन थिएन । अर्मपर्म, मेलापातदेखि घरमै बिहान बेलुका मकैको भ्यापरदेखि कोदोको आइराक (रक्सी) घरघरै बन्थ्यो । शुद्ध कोदोको, नरम तर स्वाट्ट पारेको एकछिनपछि करप्प पार्ने खाले आइराक ! त्यही रमरमे मेसोमा गाउँलेले कति भ्याउँथे भ्याउँथे, खेतबारीको काम । जुनेली रातमा त रातैभरि पनि धान बोक्थे रे हाम्रा बाजेहरू । क्या मीठो लय प्रकृति र मानिसको । रातमा पनि उजेलो भई बाटो देखाइदिने जूनको साथमा रातभरमै काम भ्याउने ती पौरखी पुर्खा !

घट्टेसोलीबाट झरेको अन्नको धुलोले सेताम्मे भएर आखे घर पस्दा मगमग पीठो बसाउँथ्यो । उनले अँगेनामा सेकेको दुधिलो मकैको रोटी र पोल्टाबाट झिकेर दिने खोस्टामा बेरेको नुन–खुर्सानीको स्वाद अजम्मरी बसेको छ मनमा ।

बर्खाको स्वादभित्र लिची, कटहर, आरुचा, आलुबखडा र नास्पातीका झुत्ताले रूखै लचक्क पार्ने समय । भुइँकुहिरोले छपक्कै भएको खोलाखोल्सीमा एक्ली नानदिदीहरूको ओभानो मनभित्र पनि जलुकी सरह मौलाएर रसाइदिने गर्थे, जीवन धुन । रातमाटे आँगनीलाई बर्खे बाछिटाले छ्याके पारिदिए पनि अँगेनुमा दन्केको आगोमा भिजेका कपडा सुकाउँदै पोलेको मकै चपाउँदाको स्वाद… कसले भुल्दो हो !

जाडो गर्मी बाह्रैकाल कछाड र इस्टकोट अनि ढाका टोपीमा चिटिक्क पर्ने आखेको छिनोको टुक्टुके लय निरन्तर गुन्जिन्थ्यो त्यस घरमा । ढाड नुहिएर भुइँ छुन खोजिसक्दा पनि किन छाडेनन् होला, बाजेले रन्दा, छिनो, बसिला र अन्य कर्मी औजारको त्यो भारी ? उनकै सीपले खिपेको हो काठे बार्दली, पिंढीमा उभिएको बुट्टेदार खाट, झ्याल, ढोका र कोठा–कोठामा भएको रहस्यमयी खोपीको ढोका र बुइगलको घोप्टेढोका ।

के थियो र बाजेको सीप नपरेको त्यस घरमा ! अनि बजुको सिन्के ज्यानमा दमले फुलेको छाती मिच्दै सुकाइतुल्याइ गरेको कोदो, दाल, मास, भटमास, गुन्दु्रक, चाना, के पो थिएन र बुइगल भरीभरी त्यसताका । बोक्सीखोला छेउको प्रत्येक तामाङघरको सरङमा झुन्डिएको हुन्थ्यो केही सिला सिकार । घरको कुनाकानीबाट मगमगाएको हुन्थ्यो कोदोको जिर्मा । धानको भकारीतिर फुलिरहेको हुन्थ्यो कुखुराको फुल । अनि प्रत्येक साँझ बिहान मस्त ओडालिन्थ्यो तामाको झ्याङ्गाभरि मकै/कोदोको छ्याम्बा । गाउँमा खुसी थियो । जीवन बेग्लै थियो ।

किन नहुनु र ! थिए बग्रेल्ती दुःख पीडा पनि त्यस गाउँमा । दिनरातै धामीझाँक्री लाउँदा पनि बर्सेनि रुढीले सोत्तर हुन्थे मानिस । दमको स्वाइँस्वाइँ त प्रत्येक घरमा सुनिने सङ्गीतसरह नै थियो । नानीहरूलाई ठेउलाठेउलीले नसताएको समय नै हुन्थेन । सबैजसो घरको वायु (अकाल मरेकाको आत्मा)लाई मानमनितोमा तलअतल पर्‍यो कि रगत छदाएर हैरान पाथ्र्यो (के थियो त्यो, अझै रहस्य नै छ) ।

आँपको रूखमा भएको वायुले त झन् कम्ता दुःख दिन्थेन । साँझ बिहान हिंड्नै मुस्किल । फूलको एक दाना तार्दा पनि चढाउनुपर्ने, नत्र भुँडी ढाडिएर बिजोग हुन्थे नानीहरू । धेरै जनालाई कालो मसानले पिरोल्थ्यो रे ! खाँदा हिंड्दाको मान्छे कालो भएर सुकिजाने । ज्वरोले निस्लोट पार्ने अनि रगत छादेर केही दिनमै चट् । मान्छेलाई मात्र होइन, बालीनालीलाई पनि केको आँखा लाग्थ्यो कुन्नि, सोत्तर हुन्थ्यो घरीघरी । गाईवस्तु त्यस्तै, किलामै मरिरहेको हुने । ब्याउने बेलाको गाईबाख्रा मर्दा त गाउँ नै शोकमा डुब्थ्यो । के ले लान्थ्यो होला ती मान्छे, जनावर, बालीनाली सबैलाई त्यसरी ?

दुःखले हो कि अचेतनाले-आप्पाको पुस्ताको त कोही गएन विद्यालय । खेतबारीकै चटारोमाझ अर्काको गाली खान र कान बटारी माग्न किन पो जानु थियो र पाठशाला बित्थामा । पाठशाला पनि उल्कै टाढा । आधा बिहान भाकेर हिंड्नुपर्ने । साना नानीका अभरिला गोडाहरूले त छिचोल्नै मुस्किल बाटो । एक-दुई ठिटा उक्लेका थिए रे ! तर शिक्षकको पिटाइ पाएपछि छाडेछन् तिनले पनि । त्यही छोडुवामध्येका एक हुन्, मेरा आप्पा ।

माटोको एक डल्लो नपल्टाइकन अर्काको पौरखमा मोटाउने शोषक झुण्ड जमिनका मालिक भएका छन् । आदिवासीको थातथलो उनीहरूको पत्तो बेगर बाठाटाठाको नाममा दर्ता भइरहेको छ । पुस्ता दरपुस्ताले खनी जोती मलिलो पारेको जमिन, जोगाएको वनजङ्गल, पानी कुवा सबैको दाबी गर्दै अचिनारु अनुहारहरू फुत्त अघि पर्न थालेका छन्

आफ्नै नाम राम लेख्न पनि आमाले सिकाउनुभएको थियो, निकै पछि । हामी पढ्ने भइसकेपछि । नत्र त पूरै औंठाछाप । हाम्रोतिरका तामाङहरू जति सबैजसो औंठाछाप । किन ? छेउछाउको कात्तिके, मन्तगाउँ, पाखुरे र महेशफाँटतिरका क्षत्री, बाहुन जति त पढेकै छन् । मेरै आप्पाका दौंतरीहरू हुन् । सबैले अक्षर खेलाएकै छन् । किन कसैले विद्यालय पठाउन घचघच्याएन हाम्रा गाउँलेलाई ? किन राज्य र सरकारको नजर परेन याम्बुबाट मिलिक्कै पुगिने खोकेकामिटारतिर ? के यो देश र हाम्रो गाउँको नाता भन्नु केवल चुनावमा एकुन्टा भोट बटुल्ने र नागरिकता भन्ने एउटा परिचयपत्र दिनेसम्मको मात्र हो ?

दुःखै त थिएछ नि त्यसबेला गाउँमा । खडेरी पर्दाको समय तेलको चिल्लो महिनौं चाख्न पाउन्नथे खोकेकामिटारवासीले । सुख्खा परालको भरमा लैना गाईभैंसीको थुन कसरी रसियोस् ! दूध नभएपछि कताको घिउ चिल्लो ! हामी भुरा छँदा निकै समय पानीमा पिठो हाल्दै कर्कलो गाभा, फर्सीको मुन्टामुन्टी उमालेर खाएको सम्झना छ ।

खेती कम हुनेको घरमा त उसै पनि भात पाक्नु चाडपर्व नै कुर्ने बेला थियो त्यो । नाकमा सिंगान बगाउँदै नाङ्गै भुतुङ्गै दौडिहिंड्ने भुराको झुण्ड, घाम र पानीले खुइल्याएको कपडा त्यसमाथि धाँजा फाटेको जमिन जस्तो झताउरो चोलो र कमिजहरूको एकतमासे ताँती हुने गथ्र्यो गाउँमा । पच्चिस घरजतिको तामाङ बस्तीमा दुःख अभावका माझ धनी–गरिबको भेद थिएन । समान थियो व्यवहार । न कोही मालिक, न त कोही दास । क्या मिलेको समय थियो । बिहेबर्तुन, मराउपराउ गाउँले सबै उल्टेर सल्टाउँथे । घर बनाउनुदेखि असारमा खेत बनाउनु पनि आपसी सहयोगमै चल्थ्यो ।

घट्टमा पिनेको मकै–गहुँको पीठोको स्वाद अझै भुलेका छैनन् बाँकी रहेका पाकाले । घट्टेसोलीबाट झरेको अन्नको धुलोले सेताम्मे भएर आखे घर पस्दा मगमग पीठो बसाउँथ्यो । उनले अँगेनामा सेकेको दुधिलो मकैको रोटी र पोल्टोबाट झिकेर दिने खोस्टामा बेरेको नुन-खुर्सानीको स्वाद अजम्मरी बसेको छ मनमा ।

प्रकृति, पर्यावरण र मानिसको मीठो संलापमाझ आरामले चल्ने गथ्र्यो जीवन खोकेकामिटारमा । मन-मनमा गढेका केही अन्धविश्वास, रुढी, बोक्सी, झाँक्रीका कुराबाहेक मनको तुवाँलो स्वाट्टै हटेका सबै साफसुद्राजन । पँधेराको चिसो पानी, रनवनको मीठो सुसेली, बेलाबखतको अन्न फलफूल सबैले भरिपूर्ण ।

“झुपडी र झतौरे जीवन भएकाहरू मात्रै गाउँघर या गाउँले होइनन् । हाम्रै घर, धरती र धरातल हुन् ती । अन्न भण्डार पनि हो गाउँ । … गाउँघरमै वसन्तको ख्याल हुन्छ, गाउँमै जीवनको मर्मबोध हुन्छ ।” (‘प्रकृति र जीवन’, ज्ञानेन्द्र विवश)

विवशले कोरेको ग्रामचित्रसँग ठ्याक्कै मेल खान्थ्यो, हाम्रो गाउँको अनुहार । जनजातीय स्थानीयपन सहितका केही नितान्त निजी गुण बोकी आफ्नै पाखुरीको बलमा उभिएको थियो तामाङ गाउँ, खोकेकामिटार ।

**** ****

खोकेकामिटार कायान्तरित भयो । यति छिटो कि गाउँलेले चालै पाएनन् । चालचुल र सर्‍याकसुरुकधरि नगरी पो बदलिइभ्यायो रैथानेपन । खोकेकामिटारीय दृश्य–आयाम परिवर्तन भई धुनीबेंसी नगरपालिका भइगयो । खास फेरिएको भन्नु ठाउँको नाम र केही विशेष क्षेत्र मात्र हुन् । त्यस विशेषमा सबैभन्दा अगाडि परेको छ, घरजग्गा र त्यसको चर्केको कर । जब कर बढुवाको सूचना पाए, तब एकबाजी राम्रैसँग झस्किए गाउँले । फोक्टाफोक्टी र भीरपाखाको पनि सरकारलाई कर तिर्नुपर्छ । पहिले–पहिले जस्तो अन्नपात बुझाएर भएन अब, नगदै खनखन गन्नुपर्ने भो सरकारलाई ।

नगरपालिका हुनु केही समयअघि नै बिरालोचालमा धेरै थोक भित्रिइसकेको थियो, गाउँमा । सिलप्याक मदिरा त एक नम्बर भइगयो । त्यसको साथमा कैलो फेटा गुथेको चुरोट, बडाबडा बोतलको चिसो पेय र त्यही चिस्याउने बाकस पनि । चियापसलहरूमा नयाँपन थपिंदै गयो । चर्को घामले चरक्क पारेको आँतलाई शीतल दिने दही गाउँकै पसलबाट लापता हुन थाल्यो । हरर भएको आँतमा फ्रिजले चिस्याएको चिसोतिर झुत्तिहान्न थालिगए, पुराना खोकेकामिटारवासी । केटाकेटीको चाउचाउ र बिस्कुट मोह हेर्न लायक थियो/छ ।

घर-घरमा दूध दहीको छेलोखेलो हुने गाउँमा विना खडेरी नै सुख्खा पसिगयो । किनकि गाउँमा विकास पस्यो । गाउँको गोरेटो झन्–झन् फराकिलो हुँदै गयो । बाटो बढ्दै जाँदा छेउछाउका कैयौं साना टाकुरा, थुम्काथुम्की लाछिए, भत्किए । बडेमानको डोजरले फोड्दै फाड्दै अघि बग्यो सडक निर्माण कार्य । बाटोसँगै पस्यो ठेकेदार, ट्रक, ट्याक्टर, भित्तो खुर्किने, सम्याउने अनि उस्तै परे डाँडै भत्काइदिन सक्ने ठूलो डोजर ।

त्यही सडक विस्तारले झ्याम्मै पुरिदियो, बोक्सीखोला छेउको हाम्रो पुर्खाको पानीको स्रोत । त्यो सदाकाल एकोहोरो बगिबस्ने पँधेरा सडकविस्तारको अतिक्रमणमा पर्‍यो । सडक बढाउँदा फाँडेको रूखपात, माटोढुङ्गा सबै छेउछाउ झारिए । त्यही मेसोमा पानीपँधेरा पुरियो ।

हुनत दशकौं भइसकेको थियो, त्यस पुख्र्यौली पँधेरा एक्लो परेको । गाउँको घरघरै कालो पाइपबाट सुतुतु माथि डाँडाको पानी बग्न थालेदेखि हेलामा परेको थियो, गाउँछेउको यो पुरानो जलस्रोत । यद्यपि भरिलो स्रोत त त्यही थियो । हिउँद बर्खा बगिबस्ने । बर्खामासमा झ्याउ-लेउले पाइप थुनिएर पानी नआउँदा आशाको एउटै स्रोत यही धारा थियो । मराउपराउदेखि सूतक आदि चोख्खिने बेला नुहाउने धारा यही । चैतेदशैंमा पूजा गर्ने विजेश्वरी देवी पनि यही धारा मास्तिर छिन् । धारामा सफा चोखो भएर पुग्थे, गाउँभरिका बुढापाका पूजा गर्न ।

अब त धाराको धर्सो नै मेटियो । जसरी ठूलो दुर्घटनापछि मेटिन्छ, मान्छेको मस्तिष्कबाट सम्झना–केस्रा । फेरियो गाउँ पूरापूर अब त । पारिबाट हेर्दा देखिन्छ, बाटैबाटोका सुम्लासुम्ली प्रत्येक पाखाभित्तामा । अनि प्रत्येक बर्खा उही सुम्ले बाटोहरू सोहोरिएर बिझ्याइँ गर्न आइपुग्छन् गाउँलेको आँगनमा ।

खनिएका यी असङ्ख्य बाटाहरू भई कहाँ पुग्ने होला, यो आदिवासी मन ?

हिजोआज भेटिन छाडेको छ रैथाने अन्न बीउ । तुरिंदै छन् पुराना मानिस र उनीहरूले बोल्ने भाषा । भत्किंदैछ ज्यो-ज्योमोको देउराली । ठडिंदै छ कङ्क्रिट भवनका ताँती ।
छत्रेदेउराली गाउँ विकास समिति धुनीबेंसी नगरपालिकामा परिणत भएसँगै पूरै बेग्लिएको छ, त्यहाँको चाल । बेगिएको छ, सुस्तरी चाल मार्ने समयको गति । हिजोआज मुस्लो धुलो उडाउँदै ट्रकको ताँती करेसाबाटै रात–बिहान सराबर बगिरहन्छ । बेंसीको खेतका गराहरूमा हिजोआज इँटाभट्टा खोलिएको छ । पोखरेली धानको अग्लो बुटो झ्याम्म झ्याङ्गिने खेत; प्रत्येक असारमा बाउसे र रोपारको हँसिमजाक, दोहोरीसँगै दर्जनौं श्रमशील हातले धान रोप्ने बडेमानको खेत विरुप भएको छ । वर्षभरि नै अन्न, तरकारी फल्ने उर्वर जमिन अब इँटाभट्टाको धुवाँमा रुमल्लिएको छ । सङ्कटको कुहिरो मडारिन थालिसकेको छ । सदाको हराभरा र सफा देखिने बेंसी खेत र महेशफाँट अब बेलाबेला धुवाँमण्डलमा हराउन थालेको छ ।

विकासको नाममा कस्तो समय पस्यो यस गाउँमा ! दिनरात जमिन हल्लाउँदै चल्ने ट्रकको ताँतीले सातो लिएको गाउँ हिजोआज असारमासमा पनि हरियो नभई नीलो देखिन थालेको छ । बाटोका हराभरा बोटबुट्यान सबै बाटोले लगिदियो । बाटोले बङ्लङ बङ्लङ बारीको पाटा भत्काएर बित्ता सुर्को मात्र बाँकी छाडेको छ । घरबारी त्यसरी लछारिएपछि सागको मुन्टा र दुई दाना गोलभेंडा टिप्न पनि बेंसी नै धाउने दिन आएको छ धेरैको ।

बाटोले घर उडाइदिएकाहरूले अर्को घर नबनाइकन भएको छैन । तर कहाँबाट पैसाको जोहो गर्नु अर्को घर ठड्याउन ? सरकारले त मात्र आदेश दिन्छ तर उचित क्षतिपूर्ति दिंदैन । त्यसमा पनि नेपालका सबै जमिन राज्यले क्षतिपूर्ति दिने श्रेणीमा पर्दैनन् । खोकेकामिटारको तामाङवस्ती बसेको यस पाखो जमिन पनि अधिकांश केही नपाइने श्रेणीमा पर्छ । कसैको बिर्ता जमिनमा खनिखोस्री बसेको युगौं भइसक्यो । सोझा गाउँलेहरूको आफ्नो नाममा केही छैन । बसेको जमिनको पुर्जा छैन ।

यस राज्यले जुगजुग थचारेर धुलो पारेको मासिन्या मतवालीको दर्जा पाएकाहरू सधैं अह्राइ–पराइको काम गर्दै आए । कहिले राणाको गाडी बोक्न भीमफेदीतिर पुगे भने कहिले राजधानीको दरबार ठड्याउने फोसा कामतिर जोतिन पुगे । राज्यकै निरन्तरको दमन र बहिष्करणले गर्दा उनीहरू कहिल्यै प्रश्न गर्ने हैसियतमा पुग्न सकेनन् । आज खोकेकामिटारवासी आफ्नै जमिनबाट बेदखल हुने अवस्थामा छन् । यद्यपि उनीहरू चुपचाप छन् ।

माटोको एक डल्लो नपल्टाइकन अर्काको पौरखमा मोटाउने शोषक झुण्ड जमिनका मालिक भएका छन् । आदिवासीको थातथलो उनीहरूको पत्तो बेगर बाठाटाठाको नाममा दर्ता भइरहेको छ । पुस्ता दरपुस्ताले खनी जोती मलिलो पारेको जमिन, जोगाएको वनजङ्गल, पानी कुवा सबैको दाबी गर्दै अचिनारु अनुहारहरू फुत्त अघि पर्न थालेका छन् ।

“ए गाउँलेहरू, यो जमिन हाम्रो हो । अब हामी बिक्री गर्दैछौं । कि तिमीहरू नै किन, नत्र भने आ–आफ्नो व्यवस्था गर ।” को हो त्यो आदेश दिने ? बिर्तावाल ? कानुन ? या सरकार ? फेरि विकासको नाममा पुरानो बस्तीहरू जोगाउनुको साटो किन धमाधम भत्काउन तम्सेको छ शक्तिकेन्द्र ? यो देशको माटो हावालाई चाहिने विकास भनेको चौडा बाटो र सुपर कम्प्लेक्सहरू मात्र हुन् ?

थोत्रिएको छानाबाट छिरेको बख पानीको थोपा बटुल्दै प्रत्येक आदिवासी मन यस्तै अनेकानेक प्रश्न गरिरहेछ यतिखेर आदिम बस्तीहरूमा ।

उसले यति चाहिं बुझेको छ कि, हिजोआज विकास नामक केही अनौठो गतिविधि प्रत्येक गाउँमा छ्याप्छ्याप्ती छिरेको छ । र, त्यसले सिनित्तै बढारिंदैछ जनजातीय सुवास, संस्कृति र गाउँको पुरानो रौनक । अब लगभग मेटिनै सकेको छ, खोकेकामिटारको जिर्मा संस्कृति, बुइँगलभरिको अन्नभण्डार, घोप्टेढोका, लिस्नु, काठे मचान र पुख्र्यौली कृषिप्रणाली !

अब त गाउँमा देखिन थालेको छ, जमिनको मोलतोल गर्दै हिंडिबस्ने बग्रेल्ती नयाँ अनुहार, ट्रक र टिपरको ताँती, इँटाभट्टाको धुवाँको मुस्लो, विकासे बीउबिजन र विषादि । हिजोआज भेटिन छाडेको छ रैथाने अन्न बीउ । तुरिंदै छन् पुराना मानिस र उनीहरूले बोल्ने भाषा । भत्किंदैछ ज्यो-ज्योमोको देउराली । ठडिंदै छ कङ्क्रिट भवनका ताँती । बेलाबखत राहतसँगै पस्न थालेका छन् विभिन्न प्रार्थना पुिस्तकाहरू । खोकेकामिटारमा नयाँ बाटो देखाउने समूह भने छिरिसकेका छैनन् । तर के ठेगान कतिखेर सुटुक्क पसिजाने हुन्, जसरी समय–समयमा पस्ने गर्छन्, गाउँलेले भोगचलन गरिरहेको जमिनको दाबी सहित अनेक अपरिचित अनुहार ।

हिजोआज
झ्याउरे भाकामा गाउँ गुन्जाउने राजुको रौनक घटेको छ
आखेको छिनोको टुकटुक मलिन छ
लक्ष्मी र गोपी वायु पिरोल्दैनन् कसैलाई
हिजोआज
कोदोको जिर्मा र मकैको जाड किन हो बसाउँदैन घर कुनामा ?
नानदिदीको पुरानो सन्दुक, खोइ कता गायब भयो ?
सन्दुकमा पट्याइराखेको आदिवासी माया, खोइ कता हरायो ?
हिजोआज
फल्दैन रुम्टामा पहिले जस्तो सुन्तला र जुनार
कहाँ बिलायो माटोको उर्वरता ?
हिजोआज
सुनिन छाडेको छ हुक्काको गुडगुड र बुढापाकाको संलाप
न त सुनिन्छ बैठक बाजेको कुनै पुरानो किस्सा
बस्,
देखिन थालेको छ हिजोआज खोकेकामिटारमा
एकै रफ्तारमा दौडिरहेको ट्रकको लस्कर
एकै लयमा उक्लिरहेको धुवाँको मुस्लो
एकै सुरमा शहर पसिरहेका केटाकेटीको हुलमुल
र,
सुक्दै सुक्दै गइरहेको रैथाने ज्ञानस्रोत
के विकास भन्नु यही हो ?

(कुमारी लामाको निबन्धसंग्रह ‘दज्र्यु संलाप’ बाट ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?