+

काठमाडौं म्याराथनको १६ औं संस्करण असोज १२ गते, ट्राफिक व्यवस्थापन मुख्य चुनौती

२०८१ असोज  ६ गते ६:५६ २०८१ असोज ६ गते ६:५६
काठमाडौं म्याराथनको १६ औं संस्करण असोज १२ गते, ट्राफिक व्यवस्थापन मुख्य चुनौती

६ असोज, काठमाडौं । काठमाडौं म्याराथनको १६ औं संस्करण यही असोज १२ गते हुने भएको छ । यसमा १६ देशका ६६ अन्तर्राष्ट्रिय धावकसँगै कुल ३ हजारभन्दा बढीको सहभागिता रहनेछ ।

म्याराथनमा १ सय ७० जनाले सहभागिताका लागि नाम दर्ता गरिसकेका छन् । त्यस्तै हाफ म्याराथनका लागि ५ सय ५० ले नाम दर्ता गराएका छन् ।

सरकारी र निजी गरेर ६० भन्दा बढी विद्यालयका छात्रछात्राले पाँच किलोमिटर दौड र तीन किलोमिटर खुल्ला दौडमा सहभागिता जनाउने छन् । फेमिली रनमा १९ परिवारको सहभागिता रहनेछ ।

दौडमा चार सय भन्दा बढी स्वंयसेवक तथा टेक्निकल अफिसियलको सहभागिता रहनेछ ।

काठमाडौं म्याराथनका मुख्य आयोजक निलेन्द्रराज श्रेष्ठले दौडका बेला ट्राफिक व्यवस्थापन सबैभन्दा ठूलो चुनौती रहेको बताए । उनले दौडका बेला ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको पनि बनाए ।

उनका अनुसार दौडका लागि बाटोको एक भागलाई बन्द गर्ने तथा धावक/धाविकको पूर्ण सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि सबै प्रयास गरिने बताए ।

उनले भने, ‘मलाई पूरा विश्वास छ, ट्राफिक व्यवस्थापन निकायले दौडका बेला चाहिने सबै जिम्मेवारी गम्भीर भएर पूरा गर्नेछ र खेल सहरका रूपमा काठमाडौंको छवि कायम राख्न मद्दत पुग्नेछ ।’

म्याराथन र हाफ म्याराथनको दौड त्रिपुरेश्वरबाट बिहान ठीक ५ः१० बजे सुरु हुनेछ । आयोजकले दौडका बेला प्रयोग हुने रुटमा त्यस दिन पाँच घण्टाका लागि सकेसम्म सवारी साधन नचलाइदिन पनि चालकलाई अनुुरोध गरेको छ ।

उनले सटिक ट्राफिक व्यवस्थापनले खेलाडीलाई मात्र सजिलो हुने नभएर सहरको छवि ब्रान्डिङ तथा पर्यटन विकासमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

दौडमा इलेक्ट्रिक टाइमिङ र पेसर्सको प्रयोग हुने

म्याराथन र हाफ म्याराथन दौडमा इलेक्ट्रिक टाइमिङ प्रयोग हुनेछ । यसले धावक/धाविकालाई अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोटका लागि पनि सहयोग पुग्नेछ ।

हाफ म्याराथनमा पहिलो पटक पेसर्सको पनि प्रयोग गरिनेछ । यसका लागि बंगलादेश र भारतबाट विज्ञहरू नेपाल आइपुगिसकेका छन् ।

प्रमुख आयोजक श्रेष्ठले दौडका क्रममा सहभागी हुनेलाई प्रोत्साहन गर्न सबै काठमाडौंबासीलाई सडकमा उत्रेर हौसला प्रदान गर्न पनि आह्वान गरेका छन् ।

उनले भने, ‘यो दौडको सफल आयोजनाका लागि सबैको सहयोग आवश्यक छ । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि हामीले सकारात्मक सन्देश पनि दिन सक्छौं ।’

काठमाडौंं म्याराथनको सुरुआत सन् २००७ मा भएको थियो ।

काठमाडौं म्याराथन म्याराथन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय