+
+

नवलपुर जिल्ला अस्पताल स्तरोन्नति नहुँदा सेवा प्रवाहमा समस्या

रासस रासस
२०८१ असोज ६ गते ९:२०

६ असोज, त्रिवेणी  । बर्दघाट सुस्तापूर्व नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पताल १५ शय्यामा सीमित रहँदा बिरामीको चाप धान्न समस्या भएको छ । विसं २०७५ मा सामुदायिक रूपमा सञ्चालित अस्पताललाई गण्डकी प्रदेश सरकारले १५ शय्याको जिल्ला अस्पताल कायम गरेको थियो ।

त्यसयता अस्पतालमा बिरामीको चाप निकै बढेको छ तर अस्पतालको स्तरोन्नति नहुँदा सेवा दिन समस्या हुने गरेको अस्पतालका मेडिकल रेकर्डर हेरम्ब आचार्यले बताए । अस्पताल प्रशासनले बिरामीको चाप बढेपछि हाल ७८ शय्यामा सेवा दिइरहेको छ तर स्वीकृत दरबन्दी १५ शय्याको मात्र हुँदा जनशक्ति व्यवस्थापनको समस्या पेचिलो बनेको उनले बताए ।

‘जिल्ला अस्पताल भनेपछि बिरामीको चाप दिनानुदिन बढ्दै गएको छ, हामीले बाध्यताले शय्या थप ग¥यौँ तर जनशक्ति कम छ, पूर्वाधार र संरचनाको समस्या उस्तै छ’, आचार्यले भने,’नगर अस्पताल नै १५ शय्यामा सञ्चालन भएको थियो । जिल्ला अस्पतालसमेत सोही बराबरको स्वीकृतिमा सञ्चालन गर्दा निकै समस्या भोगिरहेका छौँ ।’

अस्पतालमा उपचारका लागि आएका  अरुणखोलाका गुणाखर गिरीले सामान्य जाँचका लागि पनि दिनभर बिताउनुपर्ने अवस्था रहेको गुनासो गरे । टिकट काट्नदेखि चिकित्सकलाई देखाउन धेरै समय लाग्ने गरेको र प्रयोगशालामा जाँच गराएको रिपोर्ट प्राप्त गर्न पनि उस्तै समस्या रहेको उनको भनाइ छ ।

‘ज्वरो आएर जिल्ला अस्पतालमा डाक्टर खोज्दै आउँदा दुःख पाइयो, झन् बिरामी भइएलाजस्तो भयो । जनशक्ति थप गरी सेवालाई प्रभावकारी बनाउन आवश्यक छ’, गिरीले भने ।

जिल्ला अस्पतालमा हाल दैनिक सरदर चार सय बिरामीले सेवा लिने गरेका छन् । अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने पहल भए पनि गण्डकी प्रदेश सरकारले यो प्रक्रियालाई टुंगोमा नपुर्‍याउँदा योजनाले मूर्त रूप पाउन सकेको छैन ।

अस्पतालमा हाल एक सय ५५ जना कर्मचारी छन् तर स्वीकृत दरबन्दी भने ३१ मात्र रहेको छ । अरु करार र विभिन्न कार्यक्रमतर्फका कर्मचारीले अस्पताल चलाउनुपर्ने अवस्था रहेको मेडिकल सुपरिटेन्डेन्ट रमेशप्रसाद आचार्यले जानकारी दिए ।

‘अस्पताल समितिले जेनतेन अस्पताल सञ्चालन गरिरहेको छ तर कर्मचारी, पूर्वाधारको समस्याले दैनिक सरदर चार सय बिरामीलाई सेवा दिन निकै समस्या छ । पचास शय्यामा स्वीकृत भए प्रदेशबाट जनशक्ति थप भई सेवा दिन सहज हुने थियो । त्यसैले यो प्रक्रिया छिटो टुङ्ग्याउँन हाम्रो आग्रह छ’, उनले भने ।

शय्या थप नहुँदा भोग्नुपरेका समस्या त छँदैछन् । अस्पतालले जग्गाको भोगाधिकारसमेत प्राप्त गर्न सकेको छैन । दश दशमलव ४९ हेक्टर जमिन अस्पतालले उपभोग गर्दै आएको भए पनि दुई दशमलव पाँच हेक्टरमात्र स्वामित्वमा रहेको अस्पताल प्रशासनले जनाएको छ ।

बाँकी जमिन भोगाधिकारका लागि पहल नभएको होइन तर त्यो प्रयास सफल भएको छैन । यसले गर्दा दातृ निकायबाट आउने सहयोग प्राप्त गर्न पनि समस्या भइरहेको मेडिकल रेकर्डर आचार्यले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?