+
+
ब्लग :

सडक दुर्घटना घटाउन ध्यान दिनुपर्ने १४ सवाल

ज्ञान ब. कार्की ज्ञान ब. कार्की
२०८१ असोज ६ गते १२:५२

यात्रुको लागि सवारी चालक भगवान् हो जसको हातमा सम्पूर्ण यात्रुहरूको जीवनको सुरक्षा जोडिएको हुन्छ । सुरक्षित यात्राको सम्बन्ध केवल यात्रु र चालकबीच मात्र सीमित छैन, उहाँहरूको आगमनको प्रतीक्षामा रहनुभएका आफ्ना परिवारजन र आफन्त सबैको मुटुको ढुकढुकी पनि यसमा जोडिएको हुन्छ ।

सवारी दुर्घटना हुनमा सवारी चालक, सवारी साधनको अवस्था, सडकको अवस्था, उक्त ठाउँको वातावरण आदि एक वा एकभन्दा बढी कारण हुन सक्छन् तथापि एउटा कुशल चालकले ती कुनै पनि कुराको विषम परिस्थितिमा पनि सवारी साधनलाई दुर्घटना हुनबाट जोगाउन सक्छ जबकि चालकबाट सानो लापरबाही वा त्रुटि हुन गएमा सबै परिस्थिति सहज हुँदाहुँदै पनि सवारी दुर्घटना हुन सक्छ ।

सवारी चालकले सवारी चलाउँदा पूर्ण होसियारी अपनाएमा सवारी दुर्घटना ८० प्रतिशतले कम हुनसक्छ भन्ने कुरा विभिन्न अनुसन्धानले देखाएको छ । यो आलेखमा सवारी चालकले सवारी चलाउँदा होसियारी अपनाउनुपर्ने केही महत्वपूर्ण विषयमा चर्चा गरिनेछ ।

१. कुनै कुनै सवारी चालकको हतारिने बानी हुन्छ । ओभरटेक गर्दा उपयुक्त ठाउँ नआउँदै हतार गरेर ओभरटेक गर्न खोजेको हामीले धेरै देखे भोगेकै छौं । गतिमा गइरहेको अगाडिको गाडीलाई हतार गरेर उछिन्न खोज्ने, ढुङ्गा, पहिरो आदि खस्दै गरेको ठाउँमा हतार गरेर पार गर्न खोज्ने, बाढी आइरहेको खोल्सा र कज–वेहरूमा जोखिम मोलेर पसिहाल्ने आदि ।

यस्तो अवस्थामा चालकले संयम भएर, हेरेर, बुझेर मात्र निर्णय लिनुपर्छ । चालकले गाडी चलाउँदा कहिल्यै हतार गर्नुहुँदैन, धैर्य गर्नुपर्छ । यस्तो अवस्थामा यात्रुहरूले पनि चालकलाई सहयोग गर्नुपर्छ ।

२. कतिपय चालकको तीव्र गतिमा सवारी चलाउने बानी हुन्छ । तीव्र गतिमा चलाउँदा कुनै कुनै विशेष परिस्थितिमा चालकले सन्तुलन गुमाउन सक्छ र गाडी अनियन्त्रित भई दुर्घटनामा पर्न सक्छ ।

नेपालका कतिपय राम्रा हाइवेहरूमा पनि कतै कतै अचानक बीचैमा खाल्डो भेटिन्छ । कतै सडकमै अन्नपात सुकाउँछन् । कतै सडकमा गाई–बाख्रा आराम गर्दै हुन्छन् । तीव्र गतिको गाडी अचानक ब्रेक लगाउनु पर्दा गाडी नियन्त्रण बाहिर गई दुर्घटना हुन जान्छ ।

लेखकः ज्ञान ब. कार्की

ट्राफिक नियममा पनि तीव्र गति जीवनको क्षति भन्ने सन्देश उल्लेख छ । सडकमा गति सीमा तोकिएको ठाउँमा त्यसै अनुसार र गति सीमित नतोकिएको ठाउँमा आफूलाई र यात्रुहरूलाई सुविधाजनक हुने गरी ठिक्क गतिमा गाडी चलाउनुपर्छ ।

३. मादक पदार्थ सेवन गरेर अथवा सेवन गरिसकेपछि पनि त्यसको असरबाट पूर्ण रूपले मुक्त नहुन्जेल गाडी चलाउनुहुँदैन किनभने उक्त अवस्थामा दिमागले राम्रोसँग काम गर्न सकिरहेको हुँदैन र दुर्घटना हुनसक्छ । ट्राफिक नियममा पनि यो वर्जित गरिएको छ । मादक पदार्थ सेवन गर्ने लत बसिसकेका व्यक्तिहरूले सकेसम्म सवारी चलाउने व्यवसाय नै नगर्नु राम्रो हुन्छ ।

त्यस्तै, स्वास्थ्यको समस्याको कारण खाइने केही औषधिहरू खाएको केही समय पश्चात् निद्रा लाग्ने किसिमका हुन्छन् । सवारी चालकले कुनै पनि औषधि सेवन गर्दा यो कुरा सोधेर, बुझेर मात्र सेवन गर्नुपर्छ ।

४. कतिपय सवारी चालकहरूले मोबाइलमा कुरा गर्दै सवारी चलाउँछन् । मोबाइल चलाउँदै गाडी चलाउँदा चालकको ध्यान गाडीमा केन्द्रित नभई बाहिर जान सक्छ । साथै एक हातले मोबाइल समाएर एक हातले मात्र स्टेयरिङ चलाउँदा कुनै परिस्थितिमा सवारी नियन्त्रण भन्दा बाहिर जान सक्छ र त्यस्तै बारम्बार साइड टक गर्दा तथा चालकले गाडी चलाउँदै बाहिरको दृश्य हेर्दा वा अन्यत्र ध्यान दिंदा पनि कुनै विशेष परिस्थितिमा चालकको ध्यान विकेन्द्रित हुन गई दुर्घटना हुन जान्छ । त्यसैले सवारी चालकले आफ्नो ध्यान गाडीमा भन्दा अन्य कुनै पनि क्रियाकलाप गर्नुहुँदैन ।

५. कहिलेकाहीं अवस्था ठीक नभएको गाडी पनि सवारीमा लैजाने चलन हुन्छ । तर सवारी साधनको अवस्थाको बारेमा सबैभन्दा बढी सवारी चालकलाई थाहा हुने भएकोले आफूले चलाउने सवारी साधनको अवस्थाको बारेमा जिम्मेवार व्यक्तिलाई जानकारी गराउनुपर्छ र अवस्था राम्रो नभएको सवारी साधन चलाउन इन्कार गर्नुपर्छ ।

६. चालकले गाडी राम्रो चलाउन मात्र जानेर पुग्दैन । गाडीको अवस्था थाहा पाउन सक्ने तथा गाडी कसरी चल्छ । कुन–कुन यन्त्रले के के काम गर्छ, कुन बिग्रिएमा के खतरा हुन्छ आदि ज्ञान पनि चालकमा हुनुपर्छ ।

गाडीको ड्यासबोर्डमा आएका सूचनाहरूलाई राम्रोसँग बुझ्न सक्नु चालकको लागि आधारभूत कुरा हो त्यस बाहेक अन्य गाडीको सम्भावित खराब अवस्थाको अड्कल काट्न सक्ने र कुन अवस्था परिआएमा के गर्नुपर्छ भन्ने राम्रो ज्ञान पनि चालकमा हुनुपर्छ ।

७. कुनै विषम परिस्थितिको कारण चालकलाई तनाव, आक्रोश, चिन्ता आदि भइरहेको अवस्था छ भने पनि चालकले सवारी चलाउनुहुँदैन । त्यस्तैगरी अचानक बेहोश हुने खालको स्वास्थ्य अवस्था (छारेरोग) छ वा त्यस्तै कुनै जटिल स्वास्थ्य अवस्था छ भने चालकले यस्तो कुरा लुकाएर सवारी चलाउनुहुँदैन । चालकले आफू सवारी चलाउन शारीरिक तथा मानसिक रूपले योग्य भएको खण्डमा मात्र गाडी चलाउनुपर्छ ।

८. लामो बाटो आराम नगरी सवारी चलाइरहँदा चालक थकित अवस्थामा पुग्छ र चालक निदाउन सक्छ । अनि मौसमी वातावरण पनि न्यानो तातो र बाटो सजिलो छ भने पनि चालकलाई निद्रा लाग्न सक्छ । त्यसैले उपयुक्त ठाउँमा गाडी रोकी आराम गर्दै गाडी चलाउनुपर्छ । साथै यस्तो अवस्थामा व्यवस्थापकले चालक आलोपालो गर्ने व्यावस्था मिलाउनुपर्छ ।

९. सवारी चालक अनुमति पत्र लिंदैमा कुशल चालक बनिहाल्ने होइन । कुशल चालक बन्नको लागि समय लाग्छ । राम्रो दक्षता हासिल नभएसम्म चालकले अप्ठेरो बाटोमा सवारी चलाउनुहुँदैन ।

शुरु–शुरुमा आफूलाई धेरै जान्ने भए जस्तो लाग्छ, जान्ने भएको देखाउन पनि मन लाग्छ । त्यस्तै बेलामा धेरै गल्तीहरू भएर दुर्घटना हुन जान्छ । यस्तै कतिपय अवस्थामा चालकले आफ्नो सहयोगीलाई मौका छोपेर सिकाउन स्टेयरिङ दिने गर्छन् । त्यसो कदापि गर्नुहुँदैन ।

१०. आफ्नो मात्र नभएर अरूको गल्तीबाट पनि गाडी दुर्घटना हुन सक्छ । एउटा कुशल चालकले अरू चालकबाट अथवा पैदल यात्रुहरूबाट हुनसक्ने सम्भावित गल्तीलाई समेत अन्दाज लगाई होसियार हुनुपर्छ । जस्तै साँघुरो घुम्तीमा विपरीत दिशाबाट आएको गाडीले गल्ती गर्न सक्छ भन्ने सोचेर हर्न बजाउने, गति घटाउने तथा आफ्नो साइड च्यापेर होसियार रहनुपर्छ ।

अगाडिको दृश्य छेलिएको अवस्था छ भने वा पैदल यात्रुले बाटो पार गरिरहेको अवस्था छ भने पनि त्यहाँ कुनै पनि पक्षको गल्तीबाट दुर्घटना हुनसक्छ । यसरी चालकले अरूबाट हुनसक्ने सम्भावित गल्तीबाट समेत जोगिन सक्ने गरी होसियारी अपनाउनुपर्छ ।

११. चालकले जोखिमपूर्ण र अप्ठेरो ठाउँहरू (जस्तैः पहिरो पार गर्दा, बाढी आएको खोल्सा क्रस गर्नुपर्दा, ओभरटेक गर्दा आदि) मा बढी विश्वस्त भएर वा अरूको बहकाउमा लागि उत्तेजित भएर निर्णय लिनुहुँदैन । विश्वस्त हुनुपर्छ तर बढी विश्वस्त हुनाले दुर्घटना हुन जान्छ ।

१२. बढी कमाउन अथवा अरू कुनै कारणले आफ्नो गाडीमा ओभरलोड हुने गरी सामान राख्ने, क्षमताभन्दा बढी मान्छे खाद्ने, सामान बोकेको लोड गाडी (ट्रक÷ट्रयाक्टर आदि) मा सामान माथि मान्छे हालेर बोक्ने गर्नुहुँदैन । सवारी ओभरलोड पनि दुर्घटनाको एउटा कारण हो ।

१३. चालकले ट्राफिक नियम तथा सडक सुरक्षा संकेत चिह्नहरूको अर्थ राम्रो बुझेको हुनुपर्छ । त्यही अनुसार पालन गर्नुपर्छ । ट्राफिक नियम राम्रो पालन नगर्नु र ट्राफिक प्रहरीको आँखा छल्नु भनेको दुर्घटना निम्त्याउनु हो ।

१४. कतिपय सामान्य कुरामा पनि चालकले ध्यान नदिंदा गाडी दुर्घटना भएको हुन्छ जस्तैः रोकिराखेको गाडी आफैं गुडेर दुर्घटना परेको घटनाहरू छन् । सकेसम्म यात्रुहरू गाडीमा छोडेर चालक बाहिर निस्कनुहुँदैन । निस्कनै पर्दा सबै होसियारी अपनाई गाडी नगुड्ने सुनिश्चित गरेर मात्र आफ्नो सवारी बिसाउनुपर्छ ।

उल्लिखित कुराहरू प्रायःजसो सबै चालक स्वयंले गर्ने कुराहरू पर्दछन् तथापि यसलाई प्रभावकारी बनाउन सवारी चालकका सम्बन्धित रोजगारदाता र संघसंस्था, यातायात व्यवसायी सबैले नीति–नियम बनाएर लागू गर्नुपर्छ । तीमध्ये गर्नैपर्ने केही कुराहरू यस प्रकार छन् :

  • गाडी प्रस्थान गर्नुपूर्व त्यसको अवस्था चेक गरेर मात्र यात्रामा पठाउने ।
  • दक्ष, शारीरिक तथा मानसिक रूपमा स्वस्थ चालक मात्र काममा खटाउने साथै चालकको स्वास्थ्य अवस्था नियमित जाँच्ने पद्धति बसाउने ।
  • चालकको गाडी चलाउने, आराम गर्ने समय आदि नेपाल सरकार तथा श्रम नियम कानुन आधार बनाई लागू गर्ने ।
  • सवारी साधनको नियमित चेक जाँच तथा मर्मत गर्ने गराउने र अवस्था राम्रो नभएको गाडी सवारीमा नपठाउने ।
  • आफ्ना चालकहरूलाई समय–समयमा सुरक्षित ड्राइभिङ सम्बन्धी तालिम प्रदान गर्ने ।
  • सवारीलाई गन्तव्य स्थानसम्म पुग्न आवश्यक समय निर्धारण गरी यात्रा योजना बनाउने ताकि चालकले मानसिक दबाब महसुस गरी बाटोमा घडी हेर्दै हतारिनु नपरोस् ।
  • चालकबाट आएका गुनासा तथा समस्याहरूलाई सुन्ने र आवश्यक सम्बोधन गर्ने ।
  • सुरक्षा मापदण्ड नपुगेका, जथाभावी निर्माण गरिएका सडकहरूमा आफ्ना सवारी नपठाउने ।
  • चालकहरूको कुनै नियमित अन्तरालमा उसको कामको मूल्याङ्कन गर्ने र सुरक्षित ड्राइभिङ्ग गर्ने चालकलाई पुरस्कृत गर्ने ।
  • कुनै दुर्घटना भएमा वा हुन खोजेमा यसको कारण पत्ता लगाई पुनः दोहोरिन नदिन आवश्यक सुधार गर्ने ।

दुर्घटनापश्चात् हुन जाने क्षति, दुःख–कष्ट–तनाव बेहोर्नु भन्दा दुर्घटना नै हुन नदिनु राम्रो हुन्छ ।

खिम्ती–१ जलविद्युत् आयोजनामा सुरक्षा, स्वास्थ्य तथा वातावरण प्रबन्धक रहेका लेखक सिभिल इन्जिनियर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?