+
+

आईसीसी सिड्नी थिएटरमा १९७४ एडीको ऐतिहासिक प्रस्तुति

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते १४:३०

काठमाडौं । रक ब्यान्ड १९७४ एडीले अस्ट्रेलियाको आईसीसी सिड्नी थिएटरमा ऐतिहासिक प्रस्तुति दिएको छ । शनिबार साँझ ब्यान्डले आफ्ना लोकप्रिय गीतमार्फत सिड्नीका करिब ५ हजार दर्शकलाई झुमायो ।

बेलुकी सवा ८ बजे १९७४ एडीका फिरोज स्याङ्देन, निराकार याकथुङ्बा, एड्रियन प्रधान, मनोजकुमार केसी, मनोज सिंह र सञ्जय श्रेष्ठ आईसीसी थिएटरको मञ्चमा उक्लिंदा दर्शकले चर्को हुटिङका साथ स्वागत गरे ।

कन्सर्ट सुरु गर्नुभन्दा पहिला ३० औं वर्षगाँठको अवसरमा अष्ट्रेलियामा कन्सर्ट भएका सबै सहरको नाम र तस्वीर समावेश भिडियो बजाइएको थियो । सिड्नी कन्सर्टको सुरुमै दर्शकको हल्ला सुन्दा भएको अनुभव सुनाउँदै गिटारिस्ट मनोज केसीले भने, ‘मेरो त जीउमा काँडा उम्रिएजस्तो भयो ।’

कन्सर्टको सुरुवात ‘रातो र चन्द्रसूर्य’ को इन्ट्रुमेन्टल पिस बजाएर सुरु भएको थियो । त्यसपछि  ‘तिमीलाई पिरतीले बाँधौंला’ अनि ‘छुँदैन तिम्रो मायाले’ गीतमा ब्यान्डले प्रस्तुति दियो । यसपल्ट उनीहरूले ३० औं वर्षगाँठको प्रतिनिधित्व गर्ने गरी आफ्ना सबै नौ एल्बमबाट गीत राखेका थिए । २५ भन्दा धेरै गीत समेटिएको प्रस्तुति लगभग तीन घण्टा चलेको थियो ।

‘हामी आईसीसीमा बजाउँदाको यो पहिलो अवसरमा फ्यानहरूलाई विशेष ट्रिट दिन चाहन्थ्यौं’ ब्यान्डका पर्कसिनस्ट सञ्जय श्रेष्ठले भने ।

एकपछि अर्को गर्दै गीतहरूमा दर्शक मज्जाले झुमे । ‘गीतमा मान्छेहरूले मिस आउट गर्ने चान्स रहेन । पकेट सङहरु त सबैले पूरै गाउनु नै भयो, हामीले स्टेजमा कम बजाउने गरेको ‘पठाइ देऊ न’ जस्ता गीतमा पनि इन्जोय गर्नुभयो’ गिटारिस्ट मनोज केसीले भने ।

कन्सर्टको मुख्य आकर्षणमध्ये रहेका गायक तथा गिटारिस्ट फिरोज स्याङ्देनले नारायणगोपाल, गोपाल योञ्जन, भक्तराज आचार्य, दीप श्रेष्ठलाई सम्झिंदै उनीहरुका गीतका अंश गाएर सुनाएका थिए । ब्यान्डले त्यसपछि ट्रिब्युट स्वरुप अरुण थापाको गीत ‘जति माया लाए पनि’ प्रस्तुत गरेको थियो । उनले गाउँदै गर्दा स्क्रिनमा अग्रज कलाकारहरुको तस्वीर देखाइएको थियो जसले दर्शक भावुक बनेका थिए ।

‘नयाँ पुस्तालाई पुरानो नेपाली गीतसँग चिनाउन हाम्रोतर्फबाट सानो प्रयास थियो त्यो’ फिरोजले भने ।

त्यसपछि एकपछि अर्को गर्दै ब्यान्डका गीतहरू आइरहे । जब ‘यो मन त मेरो नेपाली हो’ गीतको पालो आयो, हल नै पूरै थर्कियो । त्यो गीत गाउँदाको आवाज कन्सर्टभरकै सबैभन्दा ठूलो आवाज थियो । ‘स्टेजबाट दर्शकतिर हेर्दा नेपाली झन्डा नै झन्डा देखिएको थियो’ त्यो गीतका भोकलिस्ट एड्रियन प्रधानले भने । उक्त गीत बज्दै गर्दा ब्यान्डका बाँसुरीबादक मनोज सिंह ठूलो नेपाली झन्डा बोकेर स्टेजमा यताउता दगुरेका थिए ।

राति साढे ११ बजे कन्सर्ट उक्त ऐतिहासिक कन्सर्ट सकिएको थियो । यससँगै ब्यान्डको ३० औं वर्षगाँठको अवसरमा जापानबाट सुरु भएको विदेश यात्रा पनि समापन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?