+
+

अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते १६:१०

काठमाडौं । अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सेमिनार काठमाडौंमा सम्पन्न भएको छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को), एसिया-प्रशान्त क्षेत्रमा अमूर्त सांस्कृतिक सम्पदाका लागि अन्तर्राष्ट्रिय सूचना र नेटवर्किङ केन्द्र (इचक्याप), त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभाग र अन्तर्राष्ट्रिय सम्बन्ध समितिद्वारा आइतबार संयुक्त रुपमा सेमिनार आयोजना भएको हो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपालमा विश्वविद्यालयका प्राध्यापकहरूलाई नीति निर्माण तहमा संलग्न गराउन नसक्दा राज्यले माटो सुहाउँदो नीति निर्माण गर्न नसकेको भन्दै विज्ञ र कार्यकारी निकायबीचको दूरी कम गराउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका विभागीय प्रमुख डा. महेशकुमार आचार्यले त्रिभुवन विश्वविद्यालयको संस्कृति केन्द्रीय विभाग संस्कृति र पुरातत्वको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग जोडिएर काम गर्न तयार रहेको बताए । यस्ता निकायसँगको समन्वयले विज्ञता र कार्यान्वयन पक्षलाई समेत सँगै लैजान सहयोग मिल्ने उनको भनाइ थियो ।

इच्क्यापको अफिस अफ को-अपरेसन एन्ड नेटवर्किङकी निर्देशक बोयोङ चाले एसिया प्यासिफिक क्षेत्रमा अमूर्त सांस्कृतिक सम्पदा संरक्षणमा इचक्यापले खेलेको भूमिकाबारे प्रकाश पारेकी थिइन् । युनेस्कोका नेपाल प्रतिनिधि मिचेल क्रफ्टले नेपालको अमूर्त सम्पदामा युनेस्कोले खेलेको भूमिकाबारे जानकारी दिए ।

यसअघि नै शनिबार विश्वविद्यालयका विद्यार्थीहरूमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी जानकारी गराउने उद्देश्यले ‘युथ सेसन’को आयोजना गरिएको थियो ।

कार्यक्रममा अमूर्त सांस्कृतिक सम्पदाको सुरक्षाका लागि एसिया-प्रशान्त क्षेत्रको उच्च शिक्षा सञ्जालभित्र जोडिएका १२ देशका २० विश्वविद्यालयका प्रतिनिधि सहभागी रहेको सेमिनारका संयोजक एवं त्रिवि संस्कृति केन्द्रीय विभागको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका संयोजक डा. अभिजित थापाले जानकारी दिए । यस्ता कार्यक्रमले त्रिभुवन विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध विस्तार गर्न सहयोग मिल्ने थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?