+
+

जरुरी पक्राउ पुर्जी दिएर समातिएका थिए छविलाल जोशी

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते १८:४४

६ असोज, काठमाडौं । गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशीलाई प्रहरीले काठमाडौंबाट ‘जरुरी पक्राउ पुर्जी’ दिएर नियन्त्रणमा लिएको खुलेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई शंखमूल क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लेखेको पत्र समेतका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जरुरी पुर्जी थमाएर जोशीलाई नियन्त्रणमा लिएको एक अधिकृतले बताए ।

उनका अनुसार, जोशीलाई आइतबार साँझै विमान मार्फत पोखरा लगिएको छ । कुनै कसुर गर्ने व्यक्ति तत्काल पक्राउ नगर्दा ‘त्यस्तो व्यक्ति भाग्ने, उम्कने वा प्रमाण नष्ट गर्ने अवस्था भए’ जरुरी पक्राउ पुर्जी लिएर व्यक्तिलाई पक्राउ गर्न सक्ने अधिकार प्रहरीलाई छ ।

यद्यपि, यसरी पक्राउ परेका व्यक्तिलाई यथाशीघ्र अदालतमा उपस्थित गराउनुपर्छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका एक अधिकृतले भने, ‘भोलि (सोमबार) नै अदालत उपस्थित गराएर विस्तृत अनुसन्धानका लागि म्याद थप गर्छौं ।’

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्धक निर्देशक रवि लामिछानेलाई कानून अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

सिफारिसमा परेकामध्ये राईविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी छ भने रम्तेल पुर्पक्षका लागि थुनामा छन् ।

बाँकी रहेका जोशी र लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।

दुईमध्ये जोशीलाई प्रहरीले जरुरी पक्राउ पूर्जी थमाएर नियन्त्रणमा लिइसकेको छ भने लामिछानेबारे कागजातहरु जुटाउने काम भइरहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका एक अनुसन्धान अधिकृतका अनुसार, २२ माघमा लामिछानेसहित १८ जनाविरुद्ध २५ जना पीडितले पूरक जाहेरी समेत दिएका थिए । त्यही जाहेरी र प्रतिवेदनका आधारमा दुवै जनाविरुद्ध मुद्दा जाने स्थिति बनेको प्रहरी अधिकृतहरु बताउँछन् ।

संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएअनुसार, जीबी राई सञ्चालक रहेको ७ मध्ये पाँचवटा सहकारीबाट ६५ करोड रुपैयाँ रकम गोर्खा मिडिया नेटवर्कमा अपचलन भएको देखिन्छ । गोर्खा मिडियामा रकम गएको थप एउटा सहकारीमा भने कुमार रम्तेल सचिव छन् ।

गोर्खा मिडिया नेटवर्क प्रालि मार्फत यो समूहले ग्यालेक्सी टिभी चलाएको थियो । पछि चुनाव लड्ने भन्दै लामिछानेले १ असार २०७९ मा टिभी छाडेका थिए । त्यसपछि गोर्खा मिडिया नेटवर्कमा गितेन्द्रबाबु (जीबी) राई, कुमार रम्तेल र जीबी ग्रुप अफ कम्पनिज प्रालि सञ्चालक छन् ।
पूर्वडीआईजी जोशीले रविभन्दा एक वर्षअघि २०७८ मा गोर्खा मिडिया नेटवर्क छाडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?