+
+

लोट्टे न्युयोर्क प्यालेसमा ओली-मोदीका ३० मिनेट

ओलीको प्रस्ताव सुनेपछि मोदी आफैंले भने, ‘हो हो । यसमा अल्झिनुपर्ने कुनै कारण छैन । हामीले यसअघि पनि बसेर कुराकानीबाटै सुल्झाउने गरेकै हो । अब पनि गरौं ।’

बसन्त बस्नेत बसन्त बस्नेत
२०८१ असोज ७ गते ९:००
Photo Credit : Narendra Modi/X

७ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको बहुप्रतीक्षित भेट नयाँदिल्ली वा काठमाडौंमा होइन, न्युयोर्कमा भयो । ३० मिनेटको त्यो भेटको सुयोग पनि संयुक्त राष्ट्रसंघीय महासभाले जुराइदिनुपर्ने अवस्था उत्पन्न भयो ।

मोदी बसेको लोट्टे न्युयोर्क प्यालेसमा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल पुग्दा उनी आफ्नो भारतीय टिमसहित भेटवार्तालाई औपचारिकता दिन तयार थिए ।

न्युयोर्क भेटपछि मोदीले ओलीसँगका दुई तस्बिर साझा गर्दै लेखेका छन्, ‘प्रधानमन्त्री ओलीसँग भेट भयो । भारत नेपाल सम्बन्ध घनीभूत छ । यस घनिष्टतालाई अझै गति दिनेछाैं । ऊर्जा, प्रविधि र व्यापारमा केन्द्रित हुँदै हाम्रो कुराकानी भयो ।

मोदीले साझा गरेका तस्बिरमा ओपचारिकताको भाव नै बढ्ता छ । उनीहरु खुलस्त भावमा प्रकट हुन सकेकाे चाहिँ धेरै देखिँदैन ।

यहाँनेर पृष्ठभूमिको थोरै चर्चा गरौं । असार अन्तिम साता प्रचण्ड सरकारलाई विस्थापित गर्दै चौथोपल्ट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले सुरुदेखि नै भारतीय सद्भाव पाइरहेका थिएनन् । जनमतमा ठूलो, अनि संसदीय सिटमा दोस्रो बने पनि उनका लागि सत्तायात्रा असम्भव जस्तै बन्न गएको थियो ।

संसदबाट सर्वसम्मतिले चुच्चे नक्सा जारी अनि त्यसअघि नाकाबन्दीकालमा लिएको अडानका कारण ओली भारतीय संस्थापन वृत्तमा अप्रिय पात्र मानिएका थिए । भारतीय पक्षले आफूलाई सरकारमा आउन नदिने बुझेपछि उनी हरदम मिसन ८४ मात्रै भन्न थालेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा स्वयं आफूलाई प्रधानमन्त्री प्रस्ताव गर्न आएपछि भने राजनीतिक माहोलले कोल्टे फेरेको थियो । यो पृष्ठभूमिमा प्रधानमन्त्री बनेका ओलीलाई नयाँदिल्ली भ्रमणको निम्तो आउँदै आएन ।

यता नेपालमा ओली भारतले नचाहेका प्रधानमन्त्रीका रुपमा चित्रित हुँदै थिए । त्यसैले न्युयोर्कमै पनि ओली र मोदीबीच ६ असोजमा भेट हुने तय भएपनि अन्तिम घडीमा स्थगन हुन सक्ने आशंका त्यत्तिकै थियो । अनि निमन्त्रणा कूटनीतिको पनि आफ्नै घनचक्कर थियो ।

भारतीय प्रधानमन्त्री मोदीलाई ओलीले दुईपल्ट काठमाडौं आउन निम्तो पठाइसकेका थिए, पहिलो, आफू प्रधानमन्त्री भएपछि मोदीको बधाई लिने क्रममा, अनि परराष्ट्रमन्त्री आरजु राणा देउवामार्फत् दिल्लीमा ।

लोट्टे न्युयोर्क प्यालेसमा पनि ओली आफैंले भेटेर मोदीलाई नेपाल निम्तो गरेका छन् । यसपल्ट चाहिँ मोदीले चाँडै नेपाल आउने भन्दै सम्बन्ध सुधारको संकेत दिएका छन् ।

‘प्रधानमन्त्रीज्यूले मोदीजीलाई नेपाल आउनका लागि निमन्त्रणा गर्नुभएको छ,’ परराष्ट्रमन्त्री आरजु राणाले भनिन्, ‘मोदीजीले चाँडै उपयुक्त समय मिलाएर म नेपाल आउँछु भन्नुभएको छ, यो निक्कै सकारात्मक र राम्रो वातावरण हो ।’

यसपल्टको ओली मोदी भेटमा बहुप्रचारित विषय ईपीजीको थियो । अर्थात् सन् १९५० को असमान सन्धि पुनरावलोकन तथा नेपाल र भारतबीच उत्पन्न कतिपय विषयको हल गर्नका लागि के गर्ने भन्ने अन्योल थियो । किनभने भारतीय पक्षले ईपीजी प्रतिवेदन बुझ्न मानेको छैन । दुवै देशका प्रधानमन्त्रीले समय निकाल्न नसकेको कूटनीतिक तर्क दिने गरेका थिए ।

यस्तैमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री हुनेबित्तिकै फ्याट्ट भनिदिए, ‘ईपीजी भारतले बुझ्नु राम्रो हुन्छ ।’ आफ्नो दूतका रुपमा परराष्ट्रमन्त्री आरजु राणा भारत गएर फर्केको अर्को सातामै ओलीले यस्तो लाक्षणिक अभिव्यक्ति दिएका थिए ।

‘के कारण पर्‍यो, भारतले त्यो बुझेको छैन । त्यो बुझेर कार्यान्वयन गर्ने नगर्ने, कसरी गर्ने, के गर्ने, गर्दै नगर्ने कि भन्ने निर्णय पछि प्रधानमन्त्रीहरूले गर्ने हो’ ओलीले भनेका थिए, ‘रिपोर्ट नै नबुझ्ने सन्दर्भमा हामीले कुराकानी गरिरहेका छौं । यो बुझ्नु राम्रो हुन्छ ।’

न्युयोर्कस्थित उच्च स्रोतका अनुसार लोट्टे न्युयोर्क प्यालेसको दुई प्रधानमन्त्रीस्तरीय भेटमा ईपीजीकै नाम उच्चारण त भएन, तर ओलीले पछिल्लोपल्ट दुई देशका साझा सरोकारबारे उठेका चासोहरुलाई खुलेर प्रस्तुत गरे । उनले कुनै मनोमालिन्य र कचिंगल नहोस् भनेर समस्या समाधानमा साझा रुपमा अग्रसर हुन मोदीलाई प्रस्ताव गरे ।

ओलीको प्रस्ताव सुनेपछि मोदी आफैंले भने, ‘हो हो । यसमा अल्झिनुपर्ने कुनै कारण छैन । हामीले यसअघि भने कुराकानीबाटै सुल्झाउने गरेकै हो । अब पनि गरौं ।’

मोदीले दुईपक्षीय कूटनीतिक संयन्त्र सक्रिय गराएर समस्याको समाधान पहल गर्न प्रस्ताव गरे । मोदीको त्यस प्रस्तावलाई ओलीले स्वागत गरेको वार्तामा सहभागी एक कूटनीतिज्ञले बताए । दुईपक्षीय संयन्त्र भनेर मोदीले इपिजीलाई भन्न खोजेका हुन् या अरु कुनै इ‌ंगित गर्न खोजेका हुन् भन्नेचाहिँ स्पष्ट छैन ।

दुई प्रधानमन्त्रीबीच आर्थिक मुद्दाहरुमा अझै केन्द्रित हुने, आर्थिक कूटनीतिलाई समेत जोड दिने वार्तामा कुराकानी भएको छ । मोदीले त्यस क्रममा एउटा अर्थपूर्ण भनाइ राखेका थिए, ‘समय बदलिएको छ । अब पछाडि होइन, अगाडि हेर्ने बानी विकास हुनुपर्छ ।’

सम्भवतः नेपालको संसदमै उभिएर ओलीले राष्ट्रसंघीय महासभामा जानुअघि आफूले राख्ने एजेन्डाको ब्रिफिङ्गका क्रममा छिमेकीलाई उद्धृत गर्दै दिएको टिप्पणीले भारतीय पक्ष झस्केको हुनुपर्छ । ओलीले अघिल्लो सोमबार संसदमा बोलेका थिए, ‘हामी असल छिमेकीका रुपमा सम्बन्ध राख्न चाहन्छौं । छुद्र र जाली छिमेकी होइन ।’

उनको यो संकेत पक्कै दक्षिणको छिमेकीतर्फ थियो, जसबारे भारतीय पक्ष जानकार नहुने कुरै थिएन । कतिपय कूटनीतिज्ञहरुले ओलीले भारतलाई दबाव बढाउन यो शैली अपनाएको पनि भनेका थिए ।

तर भेटमा सहभागी प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले भने दुई प्रधानमन्त्रीबीच फलदायी र राम्रो भेटवार्ता भएको भन्दै समग्र परिस्थितिको सकारात्मक चित्रण गरे ।

रिमालले अनलाइनखबरसँग भने, ‘दुई देशका प्रधानमन्त्रीबीच राम्रो वातावरणमा फलदायी कुराकानी र संवादहरु भएका छन् ।’

प्रधानमन्त्री आफैंले पनि ट्वीट गर्दै यसको जनाउ दिएका छन् । स्रोतका अनुसार प्रचण्ड प्रधानमन्त्री छँदा एक वर्षअघि भारतसँग भएको विद्युत व्यापार सम्झाैताबारे भेटमा संक्षिप्तमा कुराकानी भएको छ । ब‌ंगलादेशमा सत्ता परिवर्तन भएको अवस्थामा नेपाल भारत बंगलादेश त्रिदेशीय विद्युत व्यापारको सम्झाैता कसरी कार्यान्वयन होला भन्ने आशंका पनि छ । यसअघि सम्झाैता हुँदा बंगलादेशको सरकार चलाइरहेकी शेख हसिना वाजेद यति बेला भारत निर्वासनमा छिन् ।

भेटमा मुख्य सल्लाहकार रिमालसँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा, भारतीय समकक्षी एस जयशंकर पनि सामेल थिए । प्रधानमन्त्रीले विभिन्न देशका प्रमुख अनि स्वयं राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेससँग वार्ता गरे पनि मोदीसँगकै भेटले स्वाभाविक रुपमा बढ्ता चर्चा पाएको हो ।

 

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?