+

दशरथ रंगशालामा रग्बी खेल्न अनुमति दिंदा एन्फाको असन्तुष्टि

२०८१ असोज  ७ गते ७:२८ २०८१ असोज ७ गते ७:२८
दशरथ रंगशालामा रग्बी खेल्न अनुमति दिंदा एन्फाको असन्तुष्टि

७ असोज, काठमाडौं । १८ र १९ असोजमा रग्बीको एसियास्तरको खेल काठमाडौंको दशरथ रंगशालामा हुँदैछ । नेपाल रग्बी संघको आयोजनामा हुने उक्त प्रतियोगितामा १७ वटा देशका २२ टिम सहभागी हुँदैछन् ।

तर फुटबलको एक मात्र अन्तर्राष्ट्रिय मैदानमा रग्बी खेलाउँदा मैदान बिग्रिने हो कि भन्ने चिन्ता फुटबलसँग सम्बन्धित संघसंस्थाको छ । १ देखि १४ कात्तिकसम्म दशरथ रंगशालामा महिला साफ च्याम्पियनसिप हुँदैछ । त्यसैले अखिल नेपाल फुटबल संघ (एन्फा) ले रग्बी प्रतियोगिताले मैदान बिग्रिन सक्ने भन्दै विकल्प खोज्न आग्रह गरेको छ ।

अध्यक्ष पंकजबिक्रम नेम्वाङले फुटबल खेलाउने अर्को विकल्प नभएकाले रग्बी अर्को मैदानमा गर्नुपर्ने बताए । ‘मिल्ने भए उहाँहरुले रग्बीलाई अर्को मैदानमा सारिदिए हुन्थ्यो भन्ने हाम्रो अनुरोध हो’, उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओली र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले फुटबल मात्रै खेलाउनु भनेर निर्देशन दिंदा पनि राखेप नमानेको एन्फा अध्यक्ष नेम्वाङको भनाइ छ ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले भने दशरथ रंगशालामा रग्बी खेलाउने बारे आफूलाई जानकारी नभएको बताए ।

‘दशरथ रंगशालामा फुटबल मात्रै गर्ने भन्ने हो । रग्बीको केही समय अघि पत्र आएको थियो । मैले कागजात मिलेन भनेर फर्काएपछि के भयो मलाई जानकारीमा छैन’ उनले भने ।

२९ साउनमा भुटानको पारो एफसी र चर्च ब्वाइजको खेल हुँदा दशरथ रंगशाला हिलाम्ये भएको थियो । त्यसपछि एन्फा र राष्ट्रिय खेलकुद परिषद मिलेर दशरथ रंगशालाको मर्मत गरेका छन् ।

‘हामीले मैदान रिपेयर गरिरहेका छौं । यू-२० को बेला पनि मैदान उपलब्ध भएन अहिले पनि रग्बीलाई दिने भन्ने हामीलाई थाहा थिएन । मर्मतको काम हामीले गरिरहेका छौं’, एन्फा अध्यक्ष नेम्वाङले भने ।

गत फागुनमा एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले पाँच महिनासम्म दशरथ रंगशालाको पिच, फ्लडलाइट र सुरक्षालाई मुख्य आधार बनाई अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन हुन दिएको थिएन ।

२५ साउनमा मैदानको अवस्था हेरेर मात्र एएफसीले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय खेल सञ्चालनको अनुमति दिएको थियो ।

एन्फाका पदाधिकारी विगतमा रंगशालाको अवस्था बिग्रनुमा रग्बी नै भएको दाबी गर्छन् । त्यस्तै राखेपले रंगशालामा कन्सर्ट, मैत्रीपूर्ण फुटबल, विभिन्न स्कुल स्तरीय प्रतियोगिता र त्रिविको दीक्षान्त समारोहलाई पनि मैदान उपयोग गर्न दिएके थियो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ एन्फाले भन्दा पहिले नै रग्बीले मैदान मागेको बताए । ‘साफभन्दा अगाडि नै गत आर्थिक वर्षमा नै रग्बीले मैदानको लागि लबिङ गरेको थियो’,उनले भने ।

रग्बी र फुटबलको मैदान र पिचको आकार एकै खालको हुने भएकाले रग्बी खेल्दैमा मैदान नबिग्रिने सदस्य सचिव घिसिङले बताए । ‘फुटबलको र रग्बीको बुट पनि उही हो । रग्बीमा बल हातमा लिएर भाग्ने हो फुटबलमा किक हान्ने हो । फरक यही हो’, उनले भने ।
रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि दशरथ रंगशाला एकमात्र विकल्प रहेको संघका अध्यक्ष गोविन्द घिमिरे बताउँछन् ।

१८ र १९ असोजमा रग्बी खेलाउँदा त्यसको १०/१२ दिनपछि हुने महिला साफ च्याम्पियनसिपलाई असर नगर्ने उनको भनाइ छ । ‘रग्बी र फुटबल उस्तै खेल हो । उस्तै बुट लगाएर खेलिन्छ । पहिला पनि रग्बीले मैदान बिगार्‍यो भनिन्छ तर रग्बीबाहेक त्यहाँ अन्य कार्यक्रम पनि भएका थिए । त्यसैले २ दिनमा रग्बीले दशरथ रंगशाला मैदान बिग्रिदैन ।’

रग्बीले ६ महिना अघि नै एसिया रग्बीको लागि मैदानको लागि स्वीकृति लिएको उनको भनाइ छ । ‘त्यतिबेला फुटबल हुने भन्ने गाइँगुइँ पनि थिएन, अहिले आएर सबै विवाद आयो ।’

रंगशालामा समस्या देखिए मर्मत गरिदिने घिमिरेले बताए । ‘रग्बीले गर्दा मैदान बिग्रियो भने १२ दिनमा हामी यस्तै बनाएर एन्फाले खेल गराउन मिल्ने गरी तयार गरिदिन्छौं’, उनले भने ।

एन्फा दशरथ रंगशाला रग्बी
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय