+
+

जापानी विश्वविद्यालयमा जे देखियो

राजनीतिक पार्टीपिच्छेका विद्यार्थी भ्रातृ संगठनहरूको तीव्र राजनीतीकरणको पृष्ठभूमिबाट जापान पढ्न आउँदा एउटा कुरा अचम्म लाग्यो जहाँ विद्यार्थीमा राजनीतीकरणको कुनै संकेत पनि देख्‍न पाइएन।

कृष्णप्रसाद पराजुली कृष्णप्रसाद पराजुली
२०८१ असोज ७ गते ९:४८

विद्यालय तहमा पढ्दा एउटा लोकदोहोरी गीत चर्चामा थियो– ‘पिएन क्याम्पस … !’ त्यतिबेलाको अपरिपक्व दिमागले क्याम्पस भनेको वास्तवमा समय कटाउने ठाउँ नै रहेछ भन्‍ने सोच्यो। बुटवलबाट ‘प्लस टु’ हुँदै काठमाडौं पुगेर विश्वविद्यालय तहमा शंकरदेव क्याम्पस भर्ना हुँदासम्म पनि त्यो गीत मनमा गडिरहेकै थियो। तर गीतले भने जस्तो र मनले सोचे जस्तो लागेन ‘क्याम्पस लाइफ’।

अर्थात् पढ्न मन नगर्नेहरूको लागि समय कटाउने थलो भए पनि मिहिनेत गरेर पढ्नेहरूको लागि ज्ञानको पवित्र भूमि नै लाग्यो। कक्षामा पढाइ निकै राम्रो हुन्थ्यो। निकै धेरै ग्रुपहरूमा विभाजन गरेर पढाउँदा पनि कक्षाकोठामा बसेर होइन, झ्याल र ढोकामा समेत उभिएर पढ्नुपर्थ्यो।

एउटै कोठामा दुई-तीन सय विद्यार्थीले पढ्नुपर्ने। नियमित रूपमा कक्षामा पढ्नेहरूले कहिल्यै प्राइभेट संस्थाहरूमा पुगेर अतिरिक्त कक्षा (ट्युसन) पढ्नुपर्दैनथ्यो। नाम चलेका काविल प्राध्यापकहरूले पढाउने शंकरदेवको छुट्टै परिचय थियो।

पढाइ निकै राम्रो हुने भए तापनि देशको राजनीतिक घटनाक्रम, अस्तव्यस्तता तथा विद्यार्थी राजनीतिले क्याम्पसमा अधिकांश समय पढाइ अवरुद्ध हुन्थ्यो। र, क्याम्पस अति नै राजनीतीकरणको सिकार भइरहन्थ्यो। राजनीतिक दलहरूका विरोध, विद्यार्थी संगठनहरूका आन्दोलन, चक्काजाम, आगजनी र बन्द-हड्तालले क्याम्पस रहेको पुतलीसडक र बागबजारको क्षेत्र सधैंजसो अशान्त नै रहन्थ्यो।

विभिन्न राजनीतिक दलहरूले आफ्ना कार्यकर्ता राख्‍ने ‘सेल्टर’को रूपमा समेत क्याम्पसलाई प्रयोग गर्थे। कोठाबाट पढ्न भनेर क्याम्पस जाँदा अनाहकमा प्रहरीको कुटाइ खाइएला भन्ने भय र त्रास मनमा रहिरहन्थ्यो। किनकि एक पटक क्याम्पसभित्रै प्रहरी छिरेर कक्षामा पढिरहेका विद्यार्थी र पढाइरहेका प्राध्यापकहरूलाई समेत मरणासन्‍न हुने गरी पिटेको थियो।

त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डर कहिल्यै लागू भएन। ९ महिनामा सकिनुपर्ने ‘कोर्स’ १८ महिनासम्ममा पनि पूरा हुँदैनथ्यो। परीक्षा पनि समयमा हुँदैनथ्यो। परीक्षा समयमा नभएपछि नतिजा समयमा आउने कुरै भएन। ३ वर्ष अगावै सकिनुपर्ने कोर्स करिब साढे ४ वर्षपछि मात्रै सिद्धियो र स्नातक तह पूरा गरियो। स्नातक तहपछि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरमा पढ्ने ठूलो रहर थियो तर जागिरको खोजी र लोकसेवा तयारीको कारण पूरा हुन पाएन। स्नातकोत्तर प्राइभेट पढ्नुपर्‍यो।

‘करियर’कै सिलसिलामा क्याम्पस जीवन छोडेको करिब १ दशकपछि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस पढ्न नपाएको धोको जापानको विश्वविद्यालयले पूरा गर्‍यो। जापान सरकारको सहयोगमा प्राप्त छात्रवृत्तिमा यहाँको २०० वर्षभन्दा पुरानो एक विश्वविद्यालयमा सार्वजनिक प्रशासन र अर्थशास्त्र विषयमा स्नातकोत्तर अध्ययन गर्ने अवसर प्राप्त भयो। नेपालका क्यापसहरूमा पढेको भन्दा नितान्त फरक अनुभूति र अनुभव उच्च शिक्षा अध्ययनको क्रममा जापानी विश्वविद्यालयमा प्राप्त भयो।

शैक्षिक क्यालेण्डरको पूर्ण पालना

प्राध्यापकहरूले अध्यापनमा सहजीकरण मात्र गर्दा रहेछन्। बरु विद्यार्थीहरूलाई नै सबैभन्दा बढी पढाइमा केन्द्रित गराउँदा रहेछन्। विद्यार्थीहरूलाई नै प्रस्तुति गर्न लगाउने, उनीहरूले गरेको प्रस्तुतिमा प्रश्नहरू सोध्ने, उनीहरूले कुनै प्रश्न सोधेमा ती प्रश्नहरू उपर पहिला उनीहरू बीच नै छलफल गराउने र अन्त्यमा प्राध्यापकहरूले राय मात्र प्रस्तुत गर्दा रहेछन्।

हुनत समय पालनामा जापान निकै संवेदनशील छ। यहाँका हरेक क्षेत्र समयको कठोर नियममा बाँधिएका छन। विश्वविद्यालयहरूका शैक्षिक क्यालेन्डरहरू पनि यसरी बनाइएका छन् कि असामान्य परिस्थिति सिर्जना भए बाहेक दिन मात्रै होइन घन्टा पनि फरक पर्दैन। विश्वविद्यालयको कुनै तहमा भर्ना भएपछि कुन सेमेस्टरमा कति वटा कक्षा हुन्छ, कक्षा कहिले हुन्छ, कक्षा भएन भने किन हुँदैन, जाँच कहिले हुन्छ, विद्यार्थीले आफ्नो ‘असाइनमेन्ट’ कहिले बुझाउनुपर्छ, दीक्षान्त कुन दिन हुन्छ भन्ने सम्पूर्ण कुराहरूको जानकारी पहिला नै थाहा हुन्छ।

मैले पढेको विश्वविद्यालयले त समयलाई यतिसम्म मिलाएको देखियो कि पुराना विद्यार्थी दीक्षित भएर बाहिर निक्लिंदा उनीहरू दीक्षित भएको हलमा नयाँ विद्यार्थी प्रवेश गर्दा रहेछन् र उनीहरूलाई स्वागत कार्यक्रम गरेर नयाँ शैक्षिक सत्र वा कार्यक्रमको शुभारम्भ गरिंदोरहेछ।

लचिलो ‘क्रेडिट आवर’ र विषयहरू

विश्वविद्यालयले विद्यार्थीलाई पढ्नको लागि सकेसम्म धेरै विषयहरू ‘अफर’ गरेर छान्‍न लगाउँदो रहेछ। उदाहरणको लागि ४ सेमेस्टरको स्नातकोत्तर तह पूरा गर्न जम्मा ३० ‘क्रेडिट’ बराबरको विषयहरू पढे हुन्छ। तर, विश्वविद्यालयले ६० भन्दा बढी ‘क्रेडिट’ बराबरको विषयहरू ‘अफर’ गर्दो रहेछ। र, ती अफर गरिएका विषयहरूमध्येबाट विद्यार्थीले आफ्नो रुचि वा आफू अनुकूलका विषय छानेर पढ्दा रहेछन्।

केही अनिवार्य रूपमा पढ्नुपर्ने विषयहरू पनि हुन्छन्, तर ती विषयहरू कुनै निश्चित सेमेस्टरमै पढ्नुपर्ने गरी अनिवार्य गरिंदैन। अनिवार्य विषयहरू सामान्यतया प्रत्येक सेमेस्टर वा प्रत्येक वर्ष ‘अफर’ गरिन्छ। कोर्स पूरा हुने अवधिभरको जुनसुकै सेमेस्टरमा पढ्दा पनि हुन्छ।

अर्को कुरा, विश्वविद्यालयले नियमित कोर्स अध्ययन पश्चात् सेमेस्टरको अन्त्यमा केही ‘इन्टेन्सिभ कोर्सहरू’ का नामले थप विषयहरू अफर गर्ने रहेछ। जुन विषयहरू विश्वविद्यालयका नियमित प्राध्यापकहरू भन्दा बाहिरका तथा कुनै नाम चलेका कम्पनी, निकाय वा संस्थामा कार्यरत व्यक्तिहरूले लगातार ४-५ दिन लगाएर पढाउँदा रहेछन्।

जागिर वा आफ्नो व्यक्तिगत कारण नियमित विश्वविद्यालय जान नपाएर क्रेडिट पुर्‍याउन नसकेका विद्यार्थीले ती विषयहरू पढेर आफ्नो क्रेडिट पुर्‍याउँदा रहेछन्। यसरी लचिलो क्रेडिट प्रणाली उपलब्ध गराउनुको अर्थ विद्यार्थीलाई आफ्नो रुचिको विषयमा पढ्न उत्प्रेरित गर्नु र पढ्दै काम गर्ने वातावरण निर्माण गर्नु हो।

परीक्षा प्रणाली: लिखित परीक्षा भन्दा अन्य माध्यममा जोड

विश्वविद्यालयको माथिल्लो तहमा सामान्यतया लिखित जाँच भन्ने कुरा एकदम कम हुँदोरहेछ। विद्यार्थीको उपस्थिति, अनुशासन, कक्षामा देखाएको सक्रियता, उसले बेला–बेलामा गर्ने प्रस्तुतिहरू र त्यसमा उसको नेतृत्व तथा बुझाउन सक्ने क्षमता, रचनात्मकता (क्रियटिभिटी) जस्ता विषयहरूलाई हेरेर मूल्याङ्कन गरिंदो रहेछ। त्यस्तै कुनै लेख वा रचना (आर्टिकल) दिएर त्यसलाई संक्षेपीकरण (समराइज) गर्न लगाउने, कुनै विषयमा ‘टर्म पेपर’ तयार गर्न लगाउने जस्ता कार्यद्वारा पनि मूल्याङ्कन गरिंदो रहेछ। यस्ता कार्यहरू गर्न गहिरो अध्ययन गर्नुपर्ने र आफूले स्पष्ट रूपमा बुझ्नुपर्ने हुँदा लिखित परीक्षा भन्दा यस्ता प्रकारका जाँचहरू अझ बढी प्रभावकारी हुँदा रहेछन्।

विद्यार्थीका हरेक समस्यालाई समाधान गर्न विश्वविद्यालय प्रशासनले अनेक सुविधाहरू उपलब्ध गराउँदो रहेछ। अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि छुट्टै ‘सेन्टर’नै स्थापना गरेर विश्वविद्यालय भित्र मात्र होइन बाहिर पनि विद्यार्थीले भोग्नुपर्ने अप्ठ्यारा तथा समस्याहरूलाई समाधान गर्न सहयोग गरिंदो रहेछ।

निश्चित नियम र पाठ्यक्रमभित्र रहेर विद्यार्थीको मूल्याङ्कन गर्ने काममा प्राध्यापकहरूलाई पूर्ण रूपमा स्वतन्त्र छोडिंदो रहेछ। प्राध्यापकहरूले आवश्यकता बमोजिम लिखित जाँच लिने वा नलिने निर्णय गर्दा रहेछन्। कुनै कुनै प्राध्यापकले लिखित जाँच पनि लिने गर्दा रहेछन् तर लिखित जाँचको अंकभार ५० प्रतिशत भन्दा माथि नहुँदो रहेछ। बाँकी अन्य विधिद्वारा मूल्याङ्कन गरिंदोरहेछ।

पढ्दै काम गर्दै

जापानमा विद्यार्थीले हप्तामा २८ घन्टा कानून बमोजिम काम गर्न पाउँछन्। त्यसैले उनीहरू पढ्दै गर्दा काम पनि गर्छन्। पढ्दै काम गर्दै गर्दा विश्वविद्यालयमा सिकेका कुरालाई कामसँग जोड्न, आफूले गरिरहेको काममा भविष्यमा करियर बनाउन तथा पछि गएर आफ्नै व्यवसाय गर्न पनि निकै सहयोग पुग्छ। यहाँका विश्वविद्यालय र जागिर प्रदान गर्ने कम्पनीहरू एकआपसमा जोडिएका हुँदा रहेछन्। अर्थात् समन्वय हुँदोरहेछ।

विश्वविद्यालयमा समय–समयमा विभिन्‍न कम्पनीले रोजगार मेला आयोजना गर्दा रहेछन्। जहाँ विद्यार्थीले आफूले रोजेको काम गर्नको लागि कम्पनीसँग आवद्ध भएर सम्झौता गर्दा रहेछन्। अर्थात् काम खोज्दै विद्यार्थी कम्पनी कम्पनी धाउने होइन कि कामको प्रस्ताव गर्दै कम्पनीहरू नै विश्वविद्यालयसम्म आउँदा रहेछन्।

जापानमा मानिसहरूले कुनै पनि कामलाई सानो–ठूलो नमान्ने हुँदा काम नपाउने भन्ने पनि नहुँदो रहेछ। पछिल्लो समय तीव्र रूपमा बढिरहेको बुढ्यौलीको कारण जापानमा कामदारको अभाव बढ्दै गएकोले पनि काम पाउन सजिलो हुँदोरहेछ।

 पढाउने शैली : प्राध्यापकको सहजीकरण, विद्यार्थी नै बढी सक्रिय

प्राध्यापकहरूले अध्यापनमा सहजीकरण मात्र गर्दा रहेछन्। बरु विद्यार्थीहरूलाई नै सबैभन्दा बढी पढाइमा केन्द्रित गराउँदा रहेछन्। विद्यार्थीहरूलाई नै प्रस्तुति गर्न लगाउने, उनीहरूले गरेको प्रस्तुतिमा प्रश्नहरू सोध्ने, उनीहरूले कुनै प्रश्न सोधेमा ती प्रश्नहरू उपर पहिला उनीहरू बीच नै छलफल गराउने र अन्त्यमा प्राध्यापकहरूले राय मात्र प्रस्तुत गर्दा रहेछन्।

विद्यार्थीलाई यो प्रश्नको उत्तर यो हो भन्दिने होइन कि मलाई यस्तो लाग्छ, यस्तो हुन सक्छ  जस्ता राय दिएर उनीहरूलाई नै अझ बढी जिज्ञासु बनाउने र सो बारेमा थप खोज्न र अध्ययन गर्न उत्प्रेरित गर्ने शैली अवलम्बन गर्दा रहेछन्। जसले विद्यार्थीमा गहिरो अध्ययन गर्ने, खोज गर्ने तथा नयाँ कुरा पत्ता लगाउने क्षमताको विकास हुँदोरहेछ।

 सुपरीवेक्षकको निरन्तर सुपरीवेक्षण

विद्यार्थीहरूकै अगुवाइमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न विभिन्‍न खेलकुदहरू, संस्कृति, पर्यटन लगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न क्लबहरू स्थापना गरिंदा रहेछन्। आफ्नो रुचि अनुसार विद्यार्थीहरू त्यस्ता क्लबहरूमा आवद्ध हुँदा रहेछन् र, त्यही क्लबमा रहेर आफ्नो नेतृत्व क्षमता विकास गर्दा रहेछन्।

विश्वविद्यालयमा भर्ना हुँदा वित्तिकै आफ्नो विषय र शोधसँग सम्बन्धित रहेर प्रत्येक विद्यार्थीको लागि नियमित पृष्ठपोषण तथा सुपरीवेक्षण गर्न सुपरीवेक्षकको रूपमा एक जना प्राध्यापकलाई तोकिन्छ। सुपरीवेक्षकले विद्यार्थीको निरन्तर सुपरीवेक्षण गरी शोध कार्यमा निरन्तर सहयोग गरिरहन्छन्। हप्तामा कम्तीमा १ पटक (आवश्यक परे २-३ पटक पनि) बोलाएर छलफल गर्ने, शोधको विषयमा प्रगति सोध्ने तथा सुझाव दिने कार्य गर्छन्।

साथै, शोधसँग सम्बन्धित सन्दर्भ सामग्री तथा ‘रिसर्चहरू’ अध्ययन गरेर त्यसको बारेमा प्रस्तुति दिन पनि लगाउँदा रहेछन्। जसले विद्यार्थीको अध्ययन तथा शोधलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा निर्णय गर्न सहयोग पुर्‍याउँदो रहेछ र अध्ययनमा निकै निखारता ल्याउँदो रहेछ। विद्यार्थीको शोध सम्बन्धी तथ्याङ्कीय विश्लेषणमा सहयोग पुर्‍याउन कहिलेकाहीं सुपरीवेक्षकले अन्य प्राध्यापकहरू समेत राखेर छलफल गराउँदो रहेछ।

शोध तथा अध्ययनमा विद्यार्थीहरूलाई दु:ख दिने भन्दा पनि सहजीकरण गर्ने सुपरीवेक्षकको भूमिकाको कारण विद्यार्थीले ठूलो प्रेसर वा तनाव लिनु नपर्ने रहेछ। भौतिक रूपमा भेटघाट नहुँदा पनि इमेल तथा सामाजिक सञ्जाल मार्फत निरन्तर छलफल गर्ने, सन्चो–विसन्चो सोध्ने जस्ता कार्यले सुपरीवेक्षकसँग निकै आत्मीय सम्बन्ध पनि बन्दो रहेछ।

विद्यार्थीलाई ल्याब रुमको सुविधा

स्नातकोत्तर वा सोभन्दा माथिल्लो तह अध्ययन गर्ने विद्यार्थीलाई शोध विद्यार्थी (रिसर्च स्टुडेन्ट) भनिन्छ। यी विद्यार्थीको लागि विश्वविद्यालयमा छुट्टै प्रयोगशाला कक्ष (ल्याब रुम) को व्यवस्था गरिंदो रहेछ, जुन कक्षमा विद्यार्थीले आफ्नो पढाइ तथा शोधसँग सम्बन्धित कुराहरू अध्ययन गर्ने रहेछन्। सुविधासम्पन्‍न यस्ता ल्याब रुमहरू सम्भव भएसम्म प्रत्येक विद्यार्थीको लागि छुट्टाछुट्टै नै उपलब्ध गराइँदोरहेछ। यदि त्यसो नभए एउटै कोठाभित्र छुट्टाछुट्टै डेस्कको व्यवस्था गरेर धेरै जना पनि राखिंदो रहेछ।

र, यस्ता ल्याब रुमहरू २४सै घन्टा खुला हुँदा रहेछन्। अर्थात् सार्वजनिक विदा, कार्यालय समयपछि वा विश्वविद्यालय बन्द भएको बेलामा पनि विद्यार्थीहरू उक्त ल्याबमा गएर अध्ययन गर्ने गरी खुला हुँदा रहेछन्। यस्तो सुविधाले विद्यार्थीमा पढाइप्रति रुचि लाग्ने, अध्ययन तथा शोधमा सहयोग पुग्ने रहेछ।

प्राध्यापकहरूको पेशाप्रतिको इमानदारी

जापानी प्राध्यापकहरूको पेशाप्रतिको उच्चस्तरको जिम्मेवारी र इमानदारी देखियो। सेमेस्टरको अन्त्यमा गर्मी बिदा सुरु हुनुभन्दा अगाडि म पढ्ने विश्वविद्यालयले एउटा ‘इन्टेन्सिभ कोर्स’ अफर गरेको थियो। तर, उक्त विषयको पढाइ सुरु हुनुभन्दा केही दिन अगाडि सो विषय पढाउने प्राध्यापक कार दुर्घटनामा परी घाइते भएर निकै दिन अस्पताल बस्नुपर्ने भयो। तर, पनि उनले अस्पतालको ‘बेड’ बाटै अनलाइन मार्फत उक्त कोर्स पढाएर आफ्नो जिम्मेवारी पूरा गरे।

भौतिक रूपमा उपस्थित भएर पढाउन नपाएकोमा उनले हामीसँग निकै खिन्‍नता व्यक्त गरे, मानौं उनले निकै ठूलो गल्ती गरेका छन्। उनले आफ्नो पेशाप्रतिको इमानदारी, गौरव, आत्मबोध र जिम्मेवारीलाई एकइन्च पनि तल-माथि हुनु दिएनन्।

चाहेको भए उनले उक्त विषय नपढाउन सक्थे वा स्थगित गर्न सक्थे। दुर्घटनाको पीडालाई समेत बिर्सेर उनले आफ्नो जिम्मेवारी पूरा गरे। यो किसिमको इमानदारी जापानी प्राध्यापकमा देखिनु यहाँको विशेषता नै रहेछ।

प्राध्यापकहरूप्रतिको उच्च सम्मान

जापानमा विश्वविद्यालयका प्राध्यापकहरूप्रति उच्च सम्मान व्यक्त गरिंदो रहेछ र प्राध्यापन पेशा निकै सम्मानित पेशा मानिंदो रहेछ। विद्यार्थीले आफूले खोजेर वा अध्ययन गरेर पनि नबुझेका कुराहरू मात्र प्राध्यापकसँग सोध्दा रहेछन्। सामान्यतया विद्यार्थीले प्रश्न सोध्दै नसोध्ने अर्थात् प्रश्नको लागि मात्र प्रश्न नसोध्ने, र निकै आवश्यक छ भने मात्र प्रश्न सोध्ने गर्दा रहेछन्। विद्यार्थीले प्राध्यापकसँग मुखामुख गरेर त प्रश्न नै सोध्न नसक्ने रहेछन्।

प्राध्यापकप्रति दुर्व्यवहार गर्ने, अपमान गर्ने जस्ता कार्य कल्पना भन्दा बाहिरका कुरा रहेछन्। समाजले पनि प्राध्यापकहरूलाई उच्चस्तरको सम्मान गर्दो रहेछ। विद्यार्थीहरूले प्राध्यापकहरूमाथि नै मरणासन्न हुनेगरी कुटपिट गर्ने समाजबाट हुर्किएका हामीलाई यो स्तरको सम्मानले निकै भावुक बनाउँदो रहेछ।

समाजमा प्राध्यापकहरूको भूमिका बृहत् हुँदोरहेछ। प्राइभेट कम्पनीहरू, सरकारी निकाय तथा स्थानीय तहहरूले प्राध्यापकहरूसँग मिलेर संयुक्त खोज तथा अनुसन्धान गर्दा रहेछन्। ठूल्ठूला प्राइभेट कम्पनीहरूले संयुक्त खोज तथा अनुसन्धान गर्न प्राध्यापकहरूलाई रकम समेत उपलब्ध गराउँदा रहेछन्। सरकारी, गैरसरकारी तथा विभिन्‍न कम्पनीलाई प्राज्ञिक राय सुझाव दिन तथा कुनै समस्या समाधान गर्न प्राध्यापकहरूलाई नै खोजिंदो रहेछ। उनीहरूले दिएको राय तथा सुझावलाई यी निकायहरूले निकै महत्व दिएर आत्मसात् गर्दा रहेछन्।

बौद्धिक सम्पत्तिको सुरक्षामा जोड

कतिपय क्लबहरू विश्वविद्यालय बाहिरका सामुदायिक संस्थाहरू, सरकार वा स्थानीय तहका विभिन्‍न निकायहरूसँग पनि आवद्ध हुँदा रहेछन्, जसले समुदायमा हुने विभिन्‍न जात्रा तथा पर्वको सञ्चालन, संस्कृति, भाषा तथा पर्यटन प्रवर्धनमा स्वयंसेवकको रूपमा भूमिका निभाउँदा रहेछन्।

बौद्धिक सम्पत्तिको सुरक्षालाई जापानका विश्वविद्यालयमा निकै नै महत्व दिएको पाइयो। यहाँको बौद्धिक सम्पत्ति सम्बन्धी कानून पनि निकै कडा छ। पेटेन्ट, डिजाइन, ट्रेडमार्क तथा कपिराइटलाई छुट्टाछुट्टै कानूनद्वारा संरक्षण गरिएको छ। यस सम्बन्धमा विवाद हेर्न छुट्टै अदालतको समेत स्थापना गरिएको छ।

विश्वविद्यालय प्रशासनले विद्यार्थीले बुझाएको शोधको शीर्षक समेत निजहरूको लिखित अनुमति विना कतै प्रकाशित नहुने, अरूले हेर्न वा पढ्न पनि नपाउने गरी बौद्धिक अधिकारको ग्यारेन्टी गरिंदो रहेछ।

विश्वविद्यालयहरूले बौद्धिक सम्पत्तिको सुरक्षासँग सम्बन्धित ‘कोर्सहरू’ नै डिजाइन गरेर उच्च महत्वका साथ अध्यापन गराउँदा रहेछन्। विश्वविद्यालयमा यस सम्बन्धी सेमिनार तथा गोष्ठीहरू पनि बारम्बार आयोजना गरिंदो रहेछ। हाल प्राज्ञिक क्षेत्रमा बढ्दै गएको आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग, च्याट जीपीटी वा अन्य एआई टुल्सहरू मार्फत हुनसक्ने बौद्धिक चोरीलाई समेत निकै संवेदनशील रूपमा लिएको देखियो। विद्यार्थीमा समेत बौद्धिक सम्पत्तिको सुरक्षा सम्बन्धी राम्रो चेतना रहेछ। बौद्धिक चोरीलाई विद्यार्थीहरू स्वयम् निकै ठूलो अपराध मान्दा रहेछन्।

चुस्त दुरुस्त विश्वविद्यालय प्रशासन

विद्यार्थीका हरेक समस्यालाई समाधान गर्न विश्वविद्यालय प्रशासनले अनेक सुविधाहरू उपलब्ध गराउँदो रहेछ। अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि छुट्टै ‘सेन्टर’नै स्थापना गरेर विश्वविद्यालय भित्र मात्र होइन बाहिर पनि विद्यार्थीले भोग्नुपर्ने अप्ठ्यारा तथा समस्याहरूलाई समाधान गर्न सहयोग गरिंदो रहेछ। करिब १ वर्षसम्म त स्नातक (अन्डर ग्र्याजुयट) गर्ने विद्यार्थीलाई विश्वविद्यालयले नै अन्तर्राष्ट्रिय विद्यार्थीको लागि भाषागत लगायतका अन्य विविध समस्यामा सहयोग गर्न भनेर सहयोगी नै नियुक्ति गर्दोरहेछ।

विश्वविद्यालयका हरेक सूचना तथा जानकारीहरू हरेक विद्यार्थीहरूको व्यक्तिगत इमेल, विश्वविद्यालयले उपलब्ध गराएको इमेल र विश्वविद्यालयले विकास गरेको विद्यार्थी सूचना प्रणाली मार्फत गराइँदोरहेछ। सरकार तथा स्थानीय तहहरूले लागू गरेका नयाँ कानून, नयाँ कार्यक्रम, शिक्षासँग सम्बन्धित सूचना, विपद्, घटना वा दुर्घटनासँग सम्बन्धित सूचनाहरू पनि सोही मार्फत प्रवाह गरी विद्यार्थीको अनुशासन र सुरक्षालाई उच्च प्राथमिकता दिने चलन निकै राम्रो लाग्यो।

राजनीतिक पार्टीपिच्छेका विद्यार्थी भ्रातृ संगठनहरूको तीव्र राजनीतीकरणको पृष्ठभूमिबाट जापान पढ्न आउँदा एउटा कुरा अचम्म लाग्यो जहाँ विद्यार्थीहरूमा राजनीतीकरणको कुनै संकेत पनि देख्‍न पाइएन। विद्यार्थी हितको लागि विश्वविद्यालय प्रशासनले नै पर्याप्त चासो दिएको छ। सबै कुरा पद्धति र प्रणालीको सीमामा रहेर हुन्छ।

पढाइ गुणस्तरीय र नियमित छ, परीक्षा समयमै हुन्छ, नतिजा समयमै आउँछ, विद्यार्थीका समस्यामा क्याम्पस प्रशासनले नै पर्याप्त सहयोग गर्छ। यस्तो अवस्थामा राजनीतिक आवरणमा राजनीति गर्न खोलिने विद्यार्थी संगठनहरूको आवश्यकता नै पर्दो रहेनछ। बरु विद्यार्थीहरूसँग राजनीतिक विचार, सिद्धान्त, राष्ट्रिय–अन्तर्राष्ट्रिय घटनाक्रम इत्यादिको बारेमा छलफल गर्न तथा विद्यार्थीमा नेतृत्व क्षमताको विकास गर्न विभिन्न विभागहरूले सम्बन्धित क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ तथा प्राध्यापकहरूलाई बोलाएर समय–समयमा गोष्ठी, सेमिनार तथा वेविनारहरू आयोजना गर्दा रहेछन्।

त्यस्तै विश्वविद्यालयमा विद्यार्थीहरूकै अगुवाइमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न विभिन्‍न खेलकुदहरू, संस्कृति, पर्यटन लगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न क्लबहरू स्थापना गरिंदा रहेछन्। आफ्नो रुचि अनुसार विद्यार्थीहरू त्यस्ता क्लबहरूमा आवद्ध हुँदा रहेछन् र, त्यही क्लबमा रहेर आफ्नो नेतृत्व क्षमता विकास गर्दा रहेछन्।

कतिपय क्लबहरू विश्वविद्यालय बाहिरका सामुदायिक संस्थाहरू, सरकार वा स्थानीय तहका विभिन्‍न निकायहरूसँग पनि आवद्ध हुँदा रहेछन्, जसले समुदायमा हुने विभिन्‍न जात्रा तथा पर्वको सञ्चालन, संस्कृति, भाषा तथा पर्यटन प्रवर्धनमा स्वयंसेवकको रूपमा भूमिका निभाउँदा रहेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?