+
+

खोटाङमा विद्यार्थीलाई ‘झोला उपहार’

रासस रासस
२०८१ असोज ७ गते १०:०७

६ असोज, खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका एक युवाले आफ्नो पालिकाका सबै विद्यार्थीलाई झोला उपहार दिन सुरु गरेका छन् । बतासेका विनोद राईले आफ्नो गाउँपालिकाका सबै विद्यार्थीलाई उपहारस्वरुप झोला वितरण अभियान सुरु गरेका हुन् ।

राईले गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालय (४९ वटा)मा अध्ययनरत विद्यार्थीलाई उपहारस्वरुप झोला वितरण अभियान थालेका छन् । उनले हालसम्म चारवटा विद्यालयका तीन सय ५४ विद्यार्थीलाई झोला वितरण गरिसकेको बताए ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित श्रीदेवी आधारभूत विद्यालय खमारेका ६५, वडा नं–६ छितापोखरीस्थित जनसेवा माध्यमिक विद्यालयका एक सय २९, वडा नं–७ टेम्मास्थित शान्ति माध्यमिक विद्यालयका एक सय ३० र सोही वडाको आदर्श सदन आधारभूत विद्यालयका ३० विद्यार्थीलाई वितरण गरेको सुनाए ।

राईले सम्बन्धित विद्यालयमै पुगेर उपहारस्वरुप झोला उपलब्ध गराएपछि विद्यार्थीसमेत हर्षित भएका छन् । व्यक्तिगत खर्चमा झोला खरिद गरेर बाल विकास केन्द्रदेखि कक्षा–१० सम्म अध्ययन गर्ने विद्यार्थीका लागि वितरण गर्दै आउनुभएका राईलाई सम्बन्धित विद्यालयले सम्मान गरेको छ ।

झोला अभावमा हातमा किताब/कापी बोकेर हिँड्न बाध्य विद्यार्थीलाई लक्षित गर्दै आफ्नो व्यक्तिगत खर्चमा उपहारस्वरुप झोला प्रदान गर्ने अभियान शुरु गरेको उनले बताए । ‘सानोमा दुई घण्टा हिँडेर स्कूल धाउन पर्थ्यो । हातमा किताब बोक्नुपर्ने, साउनको बेला लड्दा खेतमा किताब खसेर भिजेको थियो’, उनले भने, ‘किताब/कापी, डटपेन हराउने समस्या बेहोरेका थियौँ । त्यही बिगत सम्झिएर विद्यार्थीलाई झोला वितरण गरेको हुँ ।’

विसं २०८४ सालसम्ममा गाउँपालिकाभरीका सबै माध्यमिक तहका विद्यालयमा अध्ययनरत छात्र/छात्रालाई झोला वितरण गर्ने लक्ष्य रहेको राईले जानकारी दिए । विद्यार्थीलाई सामाजिक सेवाको भाव जगाउन पनि झोला वितरण अभियान सुरु गरेको सुनाए । उनले काठमाडौंमा रेस्टुरेन्ट र काष्ठकला व्यवसाय गर्दै आएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?