+

आईभीएफले निःसन्तान दम्पतीलाई दिएको खुसी

२०८१ असोज  ७ गते १४:११ २०८१ असोज ७ गते १४:११
आईभीएफले निःसन्तान दम्पतीलाई दिएको खुसी

काठमाडौं । ललितपुरस्थित भैसीपाटी बस्दै आएकी ४५ वर्षीया विनु चौधरी गत पुसमा दुई जुम्ल्याहा सन्तानकी आमा बनिन् । जीवनमा आमा बन्ने आश नै मारेकी चौधरीको त्यो सपना वात्सल्य नेचुरल आईभीएफ सेन्टरले पूरा गरेको उनी सुनाउँछिन् ।

‘२२ वर्षको उमेरमा विवाह भयो । तर वर्षौंसम्म सन्तान हुन सकेन । कति अस्पताल धाएँ, कति औषधि खाएँ । सन्तानको सपना विपनामा पूरा हुने आश मारिसकेका थियौं,’ उनी भन्छिन्, ‘जुन विवाह गरेको २२ वर्षपछि पूरा भयो ।’

चौधरीको दम्पतीले जति प्रयास गर्दा पनि सन्तान नभएपछि अस्पतालको चक्कर धेरै काटे । तर उपचारको टुंगो लागेन ।

विमलाका अनुसार अर्को अस्पतालमा देखाउँदा पाठेघरमा नली बन्द भएकाले शल्यक्रिया गरे बच्चा बस्ने चिकित्सकले बताएका थिए । सो बमोजिम शल्यक्रिया गर्ने तयारी भयो । ‘ ठुलो शल्यक्रियाले कतै जटिलता बढी हुने होकी भन्ने भयले शल्यक्रिया गर्न मनले मानेन् । त्यसपछि सन्तानको माया मारेर बसेका थियौं’ उनले सुनाइन् ।

उनले आईभीएफ सेन्टरबारे कतैबाट सुनिन् । उपचार गराउन उनी सुनेकै भरमा वात्सल्य आईभीएफ सेन्टर पुगिन् । त्यहाँका चिकित्सकले पाठेघरमा मासु पलाएको र सो निकालेपछि गर्भधारणको सम्भावना हुनसक्ने बताएपछि चौधरीको खुसीको सीमा नै रहेन ।

उनको उपचारमा संलग्न आईभीएफ अस्पतालकी निःसन्तान विशेषज्ञ डा. लता श्रेष्ठ भन्छिन्, ‘उनको पाठेघरमा मासु पलाएको थियो । त्यसको शल्यक्रियापछि आईभीएफबाट उपचार गर्‍यौं । अहिले उनी एक छोरा र एक छोरीको आमा बनेकी छिन् ।’

डा. लता श्रेष्ठ

डा. श्रेष्ठका अनुसार बच्चा जन्मिन महिलाको स्वस्थ डिम्ब चाहिन्छ । चौधरीसँग जम्मा दुईवटा अण्डा बाँकी थियो । त्यो पनि कमजोर रहेकाले दुईवटा अण्डा दाताबाट लिएर भ्रूणलाई आईभीएफ मार्फत पाठेघरमा राखेपछि उनी गर्भवती भएकी थिइन् । अहिले चौधरीबाट जन्मिएका सन्तान स्वस्थ रहेको उनी बताउँछिन् ।

****

बाग्लुङका एक दम्पतीको पनि जति कोसिस गर्दा पनि सन्तान भइरहेको थिएन । आईभीएफको बारेमा सुनेका ३५ वर्षीय अशोक कार्की (नाम परिवर्तन) बागलुङदेखि ३३ वर्षीया श्रीमती संगीता कार्की (नाम परिवर्तन) लाई लिएर वात्सल्य सेन्टरमा बुझ्न आए ।

दुवैको परीक्षण गराउँदा अशोकमा शुक्राणुको संख्या कम रहेछ । संगीता भन्छिन्, ‘विवाह भएको पाँच वर्षमा पनि सन्तान भएन । सन्तान नभएपछि आफूलाई छुट्टै तनाव थियो । त्यसमा पनि आफन्त, छिमेकी सबैले बारम्बार बच्चा किन भएन भनेर कोसिस रहने कारणले वैवाहिक वा अरु समारोहमा जान मन लाग्थेन ’ उनी भन्छिन् ।

उनीहरुको समस्या हेरिरहेकी डा. श्रेष्ठ भन्छिन्, ‘अशोकको अण्डकोषको सानो शल्यक्रिया गरी वीर्य झिकेर श्रीमतीको डिम्बमा निषेचन गरेर हालेको महिना दिनमै उनी गर्भवती भइन् ।’

हाल संगीता गर्भवती भएको पाँच महिना भइसक्यो । उनको र बच्चाको स्वास्थ्य अवस्था पनि राम्रो रहेको डा. श्रेष्ठ बताउँछिन् ।

सन्तान नहुनुमा महिलाको मात्र समस्या हुँदैन । पुरुषमा पनि समस्या हुन्छ । यदि प्राकृतिक रुपमा सन्तान भएको छैन भने दुवैमा कुनै समस्या छ कि भनेर परीक्षण गराउनुपर्छ । समस्या पत्ता लागेमा आईभीएफ प्रविधिबाट सन्तान जन्माउन सम्भव रहेको डा. श्रेष्ठ बताउँछिन् ।

आईभीएफमा त्यस्तो के हुन्छ ?

प्राकृतिक तरिकाले आमा बन्न नसक्ने अवस्थामा प्रविधिको सहायताले बच्चा जन्माउने विधि आईभीएफ हो । जसमा शरीर बाहिर नै अण्डा र शुक्राणुको निषेचन प्रयोगशालामा गरिन्छ । निषेचित भ्रूणलाई गर्भमा राखी महिलालाई गर्भवती बनाइन्छ ।

वात्सल्यमा उपचार गराएकाहरुले यो प्रविधि चमत्कारभन्दा कम नभएको बताउने गरेको र आफूलाई पनि यस्तै लाग्ने डा. श्रेष्ठ बताउँछिन् ।

‘लाख कोसिस गर्दा सन्तान नहुँदा कति तनाव खेपेको यहाँ आउने दम्पतीहरुको भोगाइ सुन्दा दु:ख लाग्छ’ उनी भन्छिन्, ‘उपचारपछि उनीहरुको काखमा सन्तान देख्दा उनीहरुको मुहारको खुसीले हामीलाई पनि उत्तिकै खुसी दिन्छ । साँच्चै, विज्ञानमा यो चमत्कारभन्दा कम छैन ।’

आईभीएफको सुरुवात 

आईभीएफको सुरुवात सुरुवात सन् १९७८ मा भएको थियो, जब लेन्सी ब्राउन विश्वमै टेस्टट्युब बेबी जन्माउने पहिलो आमा बनिन् । विश्वभर नै आवश्यकता अनुसार फैलिरहेको आईभीएफ नेपालका विभिन्न सहरमा  ३३ भन्दा बढी आईभीएफ केन्द्र सञ्चालनमा छन् ।

ईभीएफका लागि उमेर समा छैन ?

वात्सल्यकी प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा. उपमा बस्नेतका अनुसार धेरै देशमा आईभीएफबाट बच्चा जन्माउनका लागि आमाको अधिकतम उमेर ५० र बुवाको ५५ वर्ष तोकिएको भएपनि नेपालमा भने यसका लागि कुनै उमेर हद राखिएको छैन ।

‘उमेर तोकिनुमा सबैभन्दा ठूलो कारण भनेको ५० वर्षपछि आमा बन्नु स्वास्थ्यको हिसाबले सजिलो हुँदैन’ डा. बस्नेत भन्छिन्, ‘नेपालको हकमा भने ४० वर्षभन्दा माथिको आईभीएफ गर्नुपर्ने भएमा हामी मेडिकल स्वास्थ्य अवस्था ध्यान हेरेर योग्य भएमा उपचार प्रक्रिया सुरु गर्छौं ।’

बढ्दो उमेरमा गर्भावस्थामा मुटुको चाप बढ्ने र रक्तचाप पनि तलमाथि हुनसक्ने उनी बताउँछिन् ।

आईभीएफ कस्तो अवस्थामा सम्भव ?

डा. बस्नेत भन्छिन् ‘कुनै कारणवश ढिलो विवाह र ढिलो सन्तान योजनाका कारण बढ्दै गएको बाँझोपन, पाठेघरमा समस्या वा पुरुषमा कम शुक्राणु कम हुने जस्तो समस्या भएकाहरुमा आईभीएफ उपचारले सन्तान जन्माउन सम्भव छ ।’

उनका अनुसार महिनावारी सुकेको अवस्थामा पाठेघरमा अन्य दाताको अण्डा र श्रीमानको शुक्रकीट मिलाएर सन्तान जन्माउन सम्भव छ । इन्डोमेरियोसिसको कारण गर्भ नबसेमा, पाठेघरको नली ब्लक भएमा, बढ्दो उमेर पछि अण्डाको भण्डारण कम हुँदै गएमा पनि सन्तान नबस्ने समस्या भएमा पनि आईभीएफ गरिन्छ । आजभोलि हुर्किसकेका सन्तान गुमाएका आमाबुवा आईभीएफ गर्न आउने गरेको डा. बस्नेत सुनाउँछिन् ।

डा. उपमा बस्नेत

त्यस्तै, क्यान्सरका उपचार गराइरहेकाहरु पनि अण्डा भण्डारणका लागि आउने गरेको डा. लता श्रेष्ठ बताउछिन् ।

‘क्यान्सरको उपचारको क्रममा रेडियोथेरापी र किमोथेरापी गर्दा पाठेघरमा पुगी अण्डामा ह्रास ल्याउने हुँदा उपचार गराउनुअघि अण्डा भण्डारण गराउन आउँछन्’ उनी भन्छिन्, ‘यसरी भण्डारण गरेपछि चाहिएको समयमा बच्चा जन्माउन सकिन्छ ।’

बच्चा र आमा स्वस्थ हुन सक्छन् त ?

आईभीएफको प्रक्रियाले सन्तानको तौल कम हुनसक्ने बाहेक ठूलो समस्या नआउने डा. श्रेष्ठ बताउँछिन् । तर आमामा भने मितिअगावै बच्चा जन्मिने, उच्च रक्तचाप देखिने र शल्यक्रियाबाट मात्र सन्तान जन्मिन सक्ने सम्भावना हुन्छ ।

रक्तचाप बढ्न नदिन बेलाबखतमा अल्ट्रासाउन्ड गर्ने र रक्तचाप पनि परीक्षण गरी नियन्त्रणमा राख्नुपर्ने उनी बताउँछिन् ।

जुम्ल्याहा सन्तानको सम्भावना बढी

धेरैजसो दम्पतीको आईभीएफ प्रक्रियाबाट प्रायः जुम्ल्याहा सन्तान जन्मिएको पाइन्छ । यसबारे प्रष्ट्याउँदै  डा. बस्नेत भन्छिन्, ‘ कहिलेकाहीं एउटा अण्डामा मात्र नतिजा शतप्रतिशत नआउने हुँदा दुईवटा प्रयोग गरिन्छ । जसले गर्दा दुईवटा सन्तान जन्मिन सक्छन् ।’

सन्तानको ढिलो चाहना हुनेलाई आईभीएफ

डा. श्रेष्ठका अनुसार आफ्नो करिअर वा अन्य कारणले ढिला गरी बच्चा जन्माउँदा शिशुमा कतिपय जन्मजात असर देखिन सक्ने भएकाले त्यसबाट बच्न पनि उमेर छँदै वीर्य र डिम्ब भण्डारण प्रभावकारी हुन्छ । बिहे गरेर पनि ढिलो गरी बच्चा जन्माउने दम्पतीका लागि यो विधि प्रभावकारी हुने उनी बताउँछिन् ।

आईभीएफ गर्भधारण नि:सन्तानपन
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

अकुपञ्चरले ‘खेलकुद इन्जुरी’का कस्ता चोटपटक निको पार्छ ?

अकुपञ्चरले ‘खेलकुद इन्जुरी’का कस्ता चोटपटक निको पार्छ ?

युवामा हृदयघातको समस्या बढ्दो, जोगिन के गर्ने ?

युवामा हृदयघातको समस्या बढ्दो, जोगिन के गर्ने ?

अल्जाइमर्समा परिवारको भूमिका कस्तो हुनुपर्छ ?

अल्जाइमर्समा परिवारको भूमिका कस्तो हुनुपर्छ ?

किन आउँछ छालामा दाद ?

किन आउँछ छालामा दाद ?

काठमाडौं ‘डेंगुमय’ हुँदैछ ?

काठमाडौं ‘डेंगुमय’ हुँदैछ ?

स्ट्रोकको प्राथमिक उपचार कसरी गर्ने ?

स्ट्रोकको प्राथमिक उपचार कसरी गर्ने ?