+
+

मुम्बईमा कन्सर्ट गर्दै कोल्डप्ले, टिकट खुलाएको केही मिनेटमै बुकिङ सर्भर डाउन

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते १२:४३
ब्याण्डका लिड भोकलिस्ट क्रिस मार्टिन प्रस्तुति दिंदै

काठमाडौं । बेलायती रक ब्याण्ड कोल्डप्लेको भारत टुर यतिबेला विश्वव्यापी चर्चामा छ । उच्च संख्यामा टिकट बिक्री हुँदा ‘बुक माइ शो’को वेबसाइट र एप आइतबार ‘क्र्यास’ भए ।

मुम्बईको डीवाई स्टेडियममा जनवरी १९ र २० मा हुने कन्सर्टको टिकट आइतबार दिउँसो १२ बजेदेखि बिक्री सुरु भएको छ । ३५ सयदेखि ३५ हजार भारुसम्मका डेढ लाख टिकट बिक्रीका लागि राखिएको थियो ।

यी टिकट खरिदका लागि १.३ करोड व्यक्तिले एकैपटक लगइन गर्दा सर्भर नै ठप्प भयो । करिब एक घण्टापछि बुक माइ शो सर्भर फेरि सुरु भयो । त्यसबेला करिब १४ लाख मानिसले टिकट बुकिङका लागि लगइन गरेका थिए ।

यस्तो अवस्थामा प्रयोगकर्तालाई प्रतीक्षाको सूचीमा राखिएको थियो । समाचार एजेन्सी एएनआईले बुक माइ शोको साइटलाई उद्धृत गर्दै दिउँसो १.३९ बजे ८.४३ लाख प्रयोगकर्ता प्रतीक्षामा रहेको जानकारी दिएको छ ।

मिडिया रिपोर्टअनुसार शोका लागि कुल साढे एक लाख टिकट बिक्रीका लागि जारी गरिएको छ । तर आयोजकले टिकटको निश्चित संख्या भने खुलाएको छैन । साइटलाई फेरि क्र्यास हुनबाट जोगाउन बुक माइ शोले प्रयोगकर्तालाई अधिकतम चार टिकट बुक गर्न अनुमति दिएको थियो, जहाँ पहिलेको सीमा आठ टिकट थियो ।

माग बढेपछि कोल्डप्लेले भारतमा आफ्नो कार्यक्रम दुई दिनबाट बढाएर तीन दिन गर्ने घोषणा गरेको छ । कोल्डप्ले ब्यान्डले सन् २०१६ मा मुम्बईमा आयोजित गोल्डेन सिटिजन फेस्टिभलमा प्रस्तुति दिएको थियो । त्यतिबेला ८० हजार व्यक्ति उक्त प्रस्तुतिमा सहभागी भए जसमा धेरै बलिउड सेलिब्रेटी पनि थिए । कोल्डप्लेका गीत भारतमा निकै लोकप्रिय छन् ।

कोल्डप्ले ब्यान्डको स्थापना सन् १९९७ मा लण्डनमा भएको थियो । क्रिस मार्टिन, जोनी बकल्याण्ड, गाय ब्यारीम्यान, विल च्याम्पियन र फिल हार्वे यस ब्यान्डका सदस्य हुन् । कोल्डप्लेले ३९ मनोनयनमा ७ पटक ग्रामी अवार्ड प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?