+

माछामासु नखानेलाई पनि किन हुन्छ कोलेस्टेरोल ? (भिडियो)

२०८१ असोज  ८ गते ८:०० २०८१ असोज ८ गते ८:००
माछामासु नखानेलाई पनि किन हुन्छ कोलेस्टेरोल ? (भिडियो)

नेपाल सरकार, विश्व स्वास्थ्य सङ्गठन र नेपाल हेल्थ रिसर्च काउन्सिलले २०१९ मा गरेको अध्ययनमा संलग्न ९८ प्रतिशत नेपालीलाई कोलेस्टेरोल उच्च भएपनि त्यसबारे थाहा नै थिएन । अर्थात् कोलेस्टेरोलको समस्या धेरै भयावह छ । तर अधिकांश मान्छेलाई यसबारेमा थाहा छैन किनकि यसको कुनै लक्षण हुँदैन ।

सन् २०१४ मा गरेको एउटा अध्ययनमा संलग्न ९० प्रतिशत व्यक्तिलाई उच्च कोलेस्टेरोल तथा ट्राइग्लाइसेराडको समस्या देखिएको थियो । यसको अर्थ २० वर्ष भन्दा माथिका प्रत्येक युवाले कम्तीमा एक पटक आफ्नो रगतको जाँच खाली पेटमा गर्नु जरुरी छ । यसबाट कोलेस्टेरोल सामान्य छ कि छैन र ट्राइग्लाइसेराड सामान्य छ कि छैन भन्ने कुरा पत्ता लाग्छ । यो उच्च छ भने नियन्त्रण गर्नुपर्छ ।

धेरै वर्षसम्म कोलेस्टेरोल तथा ट्राइग्लाइसेराड नियन्त्रणमा भएन भने यसले पछि गएर मुटुरोग, मस्तिष्क रोग र विभिन्न प्रकारको समस्या उत्पन्न गर्न सक्छ । त्यसैले कोलेस्टेरोलको जाँच समय-समयमा गर्नु आवश्यक हुन्छ ।

कोलेस्टेरोल बढ्ने कारण

कोलेस्टेरोल बढ्ने धेरै कारण छन् । मुख्य कारणमा मधुमेह, उच्च रक्तचाप, जन्मजात कोलेस्टेरोल बढी भएको समस्या आदि पर्छन् । तर अहिले कोलेस्टेरोलको अर्को प्रमुख कारण खानपान हो ।

गलत खानपान, शारीरिक निष्क्रियता, मोटोपन, चुरोट एवं रक्सी सेवनको कारणले कोलेस्टेरोल बढेको पाइन्छ । तर यी सबै कुरामा ध्यान दिने व्यक्तिमा पनि कोलेस्टेरोल भएको छ भने वंशाणुगत कारणले कोलेस्टेरोल उच्च भएको हुन्छ । यस्ता व्यक्तिको शरीरमा कोलेस्टेरोल बढ्नाको कारण पाचन प्रक्रियामा समस्या भएर हो, जसलाई मेटाबोलिजम भनिन्छ ।

थोरै चिल्लो खाएपनि कसैको कोलेस्टेरोल उच्च हुन्छ भने कसैले धेरै चिल्लो खाएपछि कोलेस्टेरोल उच्च हुँदैन । कसैको मेटाबोलिजम प्रभावित छ भने थोरै चिल्लो खाँदा पनि कोलेस्टेरोल बढ्छ । म त शाकाहारी हो माछा मासु पनि खाँदिन तर मेरो किन कोलेस्टेरोल उच्च भयो भन्छन् । यस्तोमा मेटाबोलिजम प्रभावित भएर हुनसक्छ ।

कोलेस्टेरोल हा भयो भने यसले कस्तोकस्तो समस्या निम्त्याउन सक्छ ?

कोलेस्टेरोल बढेको हाम्रो शरीरले थाहा पाउँदैन । रगत जाँच गरेपछि मात्र थाहा हुन्छ, त्यसैले धेरैले यसलाई बेवास्ता गर्छन् । दुई-चार वर्षदेखि कोलेस्टेरोल बढी रहेको हुन्छ तैपनि त्यसको पत्ता लागेको हुँदैन । पत्ता लागे पनि अलिकति बढेर केही हुँदैन भनेर चिकित्सकलाई नभेट्ने, औषधि नखाने र जीवनशैली पनि परिवर्तन नगर्ने गर्छन् ।

कोलेस्टेरोल बढ्ने एक, दुई वा १०, १५ दिनको कारण होइन यो वर्षमा गणना हुन्छ । तपाईंको कोलेस्टेरोल कति वर्षदेखि उच्च भइरहेछ, कति उच्च रहेछ यी दुई कुराले मुटुको समस्या निम्तिन्छ कि निम्तिंदैन र मस्तिष्कघात कति बेला निम्तिन्छ भन्ने कुरा निर्धारण गर्छ ।

कोलेस्टेरोल एकदमै उच्च छ मानौं नराम्रो कोलेस्टेरोल १०० मिलिग्राम प्रतिडेसिलिटर भन्दा कम हुनुपर्नेमा २०० मिलिग्राम प्रतिडेसिलिटर छ भने मुटुको समस्या र मस्तिष्कघातको समस्या छिटो हुनसक्छ, कसैको १३० मिलिग्राम प्रतिडेसिलिटर छ भने उनीहरूलाई ढिलो हुनसक्ला । तर अन्य सहायक तत्व जस्तो कोलेस्टेरोल उच्च भएको मान्छेले चुरोट पनि खान्छ भने उसलाई हृदयघातको सम्भावना प्रबल हुन्छ ।

मधुमेहको समस्या भएको व्यक्तिको कोलेस्टेरोल उच्च छ भने उसमा पनि हृदयघातको सम्भावना बढी हुन्छ । कसैमा वंशाणुगत रुपमा कोलेस्टेरोल उच्च छ, लामो समयदेखि उच्च छ, उमेर धेरै छ भने यसले अन्य जोखिम बढाउँछ ।

लामो समयदेखि कोलेस्टेरोल उच्च छ भने यसले मुटु, मस्तिष्क, हातखुट्टा, मिर्गौलाका रक्तनलीका भित्ताहरुमा बोसो जम्न थाल्छ, जसले गर्दा रक्तनली साँघुरिंदै गएर बन्द नै भएर हृदयघात हुनसक्छ ।

कोलेस्टेरोल अदृश्य रोग हो, जुन मृत्युको कारण बन्न सक्छ । शारीरिक रुपमा फिट हुनुहुन्छ तर कोलेस्टेरोल जाँच गरेको छैन र त्यो उच्च रहेछ वा जाँच गर्दा हल्का बढेको छ वा नियमित जाँच गरेको छैन, औषधि पनि खाएको छैन र बढेको कोलेस्टेरोल नियन्त्रणमा रहेको छैन भने यसले पछि नसामा जमेर पाँच-१० वर्षपछि समस्या निम्त्याउँछ ।

अहिलेको अवस्थामा नेपालमा ३० वर्षको युवाको कुरा गरौं, जसले कोलेस्टेरोल जाँच गरेको छैन, चुरोट खान्छ, खानपान र जीवनशैली पनि राम्रो छैन । यस्तोमा १० वर्षसम्म उसको कोलेस्टेरोल उच्च भयो भने उसको मुटुमा अवरोधको अवस्था आइसकेको हुन्छ । भारतमा हृदयघातको उमेर ५० वर्षमा आइसक्यो । अर्थात् कुनै व्यक्तिमा ३५ वर्षको उमेरमा कोलेस्टेरोल उच्च हुन्छ । १० वर्षको अवधिमा अवरोध बढ्दै गएर हृदयघातको अवस्था आउँछ । यो सुषुप्त किसिमको समस्याले हो,  जसले दुर्घटना निम्त्याउन सक्छ । त्यसैले यस्तो अवस्था आउनुभन्दा अघि यसलाई रोक्न सक्नुपर्छ ।

कोलेस्टेरोल नियन्त्रण गर्न के गर्ने, औषधि नै खानुपर्छ ?

कोलेस्टेरोल नियन्त्रण गर्ने दुईवटा उपाय छ । एउटा जीवनशैली परिवर्तन गर्ने त्यसमा खानपान, व्यायामको कुरा आउँछ । दोस्रो उपाय, औषधि सेवन । कोलेस्टेरोललाई तुरुन्त नियन्त्रण गर्न औषधि एकदमै प्रभावकारी उपाय हो । तर कोलेस्टेरोल नियन्त्रण गर्ने पहिलो उपायको रुपमा जीवनशैली परिवर्तनलाई नै रोज्नुपर्छ ।

यदि जीवनशैली परिवर्तन गर्दा पनि नियन्त्रण गर्न सकिएन भने मात्र औषधि खानुपर्छ । तर केही अवस्थामा भने पहिले औषधि नै दिनुपर्छ जस्तो मधुमेह भएको व्यक्ति, चुरोट खाने व्यक्ति, परिवारमा कसैलाई मुटुको समस्या भएको व्यक्ति, मोटोपन भएको व्यक्ति, तनावपूर्ण जीवनशैली भएको व्यक्ति र उच्च रक्तचाप र मधुमेह लगायत अन्य धेरै समस्या छ र उमेर ४० भन्दा माथि छ भने औषधि खाएर कोलेस्टेरोल नियन्त्रण गर्ने र जीवनशैलीलाई पनि बिस्तारै परिवर्तन गर्दै लैजानुपर्छ । यसो गर्दा बिस्तारै औषधि कम गरेर बन्द गर्न सकिन्छ ।

अधिकांश व्यक्तिले चाहेमा औषधि विना नै कोलेस्टेरोललाई नियन्त्रण गर्न सक्छन् ।

चुरोट खाने बानी छ भने चुरोट खान पूर्ण रुपमा बन्द गर्नुपर्छ । किनकि चुरोटले खराब खालको कोलेस्टेरोल बढाउँछ । साथै कोलेस्टेरोललाई लगेर मुटुको नलीमा टाँस्न मद्दत गर्छ । कोलेस्टेरोलले २० वर्षमा हुने असर चुरोट खाने व्यक्तिलाई पाँच वर्षमा नै हुनसक्छ । साथै मदिराको सेवन पनि गर्नु हुँदैन ।

तौल घटाउनुपर्छ, तौल घटायो भने कोलेस्टेरोल पनि घट्छ । शारीरिक व्यायाम गरियो भने २० देखि २५ प्रतिशत कोलेस्टेरोलको स्तर घट्न सक्छ ।

त्यसपछि सबैभन्दा ध्यान दिनुपर्ने कुरा खानपान हो । खानपानमा ध्यान दियो भने पनि कोलेस्टेरोल नियन्त्रण हुन्छ । तनावको व्यवस्थापन पनि कोलेस्टेरोल नियन्त्रण गर्न महत्वपूर्ण हुन्छ ।

कोलेस्टेरोल नियन्त्रण गर्न खानपानमा कसरी ध्यान दिने ?

खानालाई दुई भागमा विभाजन गरौं- शाकाहारी खाना र मांसाहारी खाना । मांसाहारी खानाले कोलेस्टेरोल बढाउँछ, अपवादमा अण्डाको सेतो भाग, फ्राई नगरेको माछाले कोलेस्टेरोल बढ्दैन । तर अण्डा र माछालाई फ्राई गरेर खायो भने त्यसले पनि कोलेस्टेरोल बढ्न सक्छ । यी दुई बाहेक कुखुरा, खसी लगायतका अन्य मासुले कोलेस्टेरोल बढाउँछ ।

शाकाहारी खानाले कोलेस्टेरोल बढाउँदैन तर अपवादमा दूधबाट बनेका जति पनि खानेकुरा छन् त्यसले कोलेस्टेरोल बढ्छ । घिउ, बटर, पनिर लगायत सबै खानेकुराले कोलेस्टेरोल बढ्छ । मोहीमा भने फ्याटको मात्रा एकदमै कम हुन्छ, तर यसलाई हटाएर बनाएको दही छ भने त्यसमा फ्याट कम हुन्छ, दूधको पनि तर हटाउँदा फ्याट कम हुन्छ यसरी थोरै मात्रामा खान मिल्छ ।

‘फलानोले यति मासु खान्छ, यति घिउ खान्छ तैपनि ऊ १०० वर्षसम्म बाँचेको छ, उसलाई केही समस्या छैन’ भन्छन् । तर यदि कोही व्यक्ति गाउँमा बसेको छ खेतीपाती गर्छ, मेहनत गर्छ र सहरियाको जस्तो बिलासी जीवन र तनावपूर्ण जीवन बिताएको छैन, रसायनयुक्त खाना खाएको छैन, प्रदूषणमा बसेको छैन भने उसको कोलेस्टेरोल नबढ्न सक्छ । उसले चुरोट नखाएको, मांसाहारी खाना कम खाएको, प्रशोधित खाना पनि नखाएको हुनसक्छ । त्यसैले सहरमा बसेर गाउँको मान्छेसँग तुलना गर्न मिल्दैन ।

हरेक व्यक्तिको शरीरको अवस्था र पाचन प्रणाली फरक हुनसक्छ । त्यसैले सबैलाई यही खानाले कोलेस्टेरोल बढ्छ भन्ने हुँदैन । खानाको बारेमा सामान्य अवधारणा हो । व्यक्तिको स्वास्थ्य अवस्था, जीवनशैली लगायतको कुरामा ध्यान दिएर खानपान कस्तो खाने भनेर निर्धारण गर्नुपर्छ  ।

कोलेस्टेरोल भनेको चाहिं के हो ?

कोलेस्टेरोल एक प्रकारको चिल्लो पदार्थ बोसो हो, जुन रगतमा पाइन्छ । यो शरीरका लागि महत्वपूर्ण मानिन्छ त्यसैले रगतमा कोलेस्टेरोल हुनु सामान्य कुरा हो । स्वस्थ कोषिकाहरु, भिटामिन डी, पाचन र ईस्ट्रोजेन, प्रोजेस्टेरोन, टेस्टोस्टेरोन, कोर्टिसोल र एल्डोस्टेरोन जस्ता धेरै हर्मोनको निर्माणका लागि कोलेस्टेरोल आवश्यक हुन्छ ।

शरीरमा कोलेस्टेरोलको निर्माण कलेजोले गर्छ भने भोजनबाट प्राप्त हुन्छ । खराब र राम्रो गरी दुई प्रकारको कोलेस्टेरोल हुन्छ । खराब कोलेस्टेरोल रगतमा बढ्यो भने त्यसले मुटुको रक्तनलीभित्र गएर तथा शरीरका रक्तनली जहाँ-जहाँ छन् त्यहाँ गएर जम्छ । राम्रो कोलेस्टेरोलले भने मुटुरोगको जोखिम घटाउने पुराना अध्ययनहरूले देखाउँछ ।

अर्को ट्राइग्लाइसेराड पनि बोसो हो । यसले हानि त गर्छ कोलेस्टेरोलले जति त हानि गर्दैन तर कति हानि गर्छ भनेर खुलेको छैन ।

शाकाहारीको पनि कोलेस्टेरोल बढ्छ ?

कोही व्यक्ति शाकाहारी छ तर उसमा वंशाणुगत कोलेस्टेरोल हुनसक्छ । यदि शाकाहारी व्यक्तिले धेरै दूधजन्य खानेकुरा खान्छन्, तारेको भुटेको खानेकुराले बढी खान्छन् भने यसले पनि कोलेस्टेरोल बढ्छ । तर पनि मांसाहारी व्यक्तिको तुलनामा कम बढ्छ ।

चाडपर्वको खानपान

चाडपर्वमा परिवारसँग बसेर मीठो मसिनो खाने, रमाइलो गर्ने गरिन्छ । तर त्यो रमाइलोमा चुरोट, रक्सी, कोल्डड्रिंक लगायतका खानेकुरा खानु हुँदैन । घरमा बनेको ताजा खानेकुरा भने मज्जाले खान सकिन्छ ।

यदि कसैलाई मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल र मुटुको समस्या छ भने उनीहरू खानपानमा सचेत हुनुपर्छ । के खाने कति खाने भनेर ध्यान दिनुपर्छ ।

चाडबाडमा माछामासुसँगै सागपात, सलाद जस्ता फाइबरयुक्त खानेकुरा खानुपर्‍यो, जसले कोलेस्टेरोललाई सोस्छ र बढ्दैन । बोसो भएको खानेकुरा कम खानुपर्छ । मांसाहारी खानासँगै गुलियो मिठाई, आइसक्रिम जस्ता खानेकुरा पनि खाइयो भने कोलेस्टेरोल बढ्छ । त्यसैले सबै खाना मिलाएर खानुपर्छ ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

कोलेस्टेरोल डा. ओममूर्ति अनिल मांसाहारी शाकाहारी
डा. ओममूर्ति अनिल
लेखक
डा. ओममूर्ति अनिल
मुटुरोग विशेषज्ञ

मेडिकल काउन्सिल नम्बर : ३९५७ एमबीबीएस, एमडी मेडिसिन, डीएम कार्डियोलोजी, डाक्टर अफ मेडिसिन डिग्री नेसनल कार्डियक सेन्टर, बसुन्धरामा कार्यरत, उक्त सेन्टरका संस्थापक अध्यक्ष  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

अकुपञ्चरले ‘खेलकुद इन्जुरी’का कस्ता चोटपटक निको पार्छ ?

अकुपञ्चरले ‘खेलकुद इन्जुरी’का कस्ता चोटपटक निको पार्छ ?

युवामा हृदयघातको समस्या बढ्दो, जोगिन के गर्ने ?

युवामा हृदयघातको समस्या बढ्दो, जोगिन के गर्ने ?

अल्जाइमर्समा परिवारको भूमिका कस्तो हुनुपर्छ ?

अल्जाइमर्समा परिवारको भूमिका कस्तो हुनुपर्छ ?

किन आउँछ छालामा दाद ?

किन आउँछ छालामा दाद ?

काठमाडौं ‘डेंगुमय’ हुँदैछ ?

काठमाडौं ‘डेंगुमय’ हुँदैछ ?

स्ट्रोकको प्राथमिक उपचार कसरी गर्ने ?

स्ट्रोकको प्राथमिक उपचार कसरी गर्ने ?