+
+

साना तथा मझौला उद्योगमा लगानीको सम्भावना छ : अध्यक्ष ढकाल

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते १४:४२

७ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकमा साना र मझौला उद्यम अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको बताएका छन् ।

उनले यस्तो उद्योगमा लगानी बढाउन र निर्यात बजारमा थप सहुलियतका लागि आह्वान गरेका छन् ।

एसियाली व्यापार प्रवर्द्धन फोरम एटीपीएफको थाइल्यान्डको राजधानी बैंककमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले  समावेशी समृद्धि : एसियाली व्यापार अर्थतन्त्रमा एसएमईको सशक्तीकरणका मुद्दामा साझा आर्थिक दृष्टिकोणका लागि पनि आग्रह गरे ।

नेपालमा साना तथा मझौला उद्योगहरूले जिडिपीको करीव २२ प्रतिशत योगदान गर्ने भएकाले सो क्षेत्रको विकास तथा प्रवर्द्धनमा अन्तरक्षेत्रीय साझेदारीको महत्व रहेको अध्यक्ष ढकालले बताए ।

साना तथा मझौला उद्योगलाई क्रियटिभ इकोनोमीसँग जोडेर विकास तथा प्रवर्द्धनमा जोड दिन थालिएकाले लगानी तथा बजारका सम्भावना बढेको उनले बताए ।

नेपालको निर्यात व्यापारमा हातले बुनेका गलैँचा, थाङ्का, चित्रकला र परम्परागत संगीतका वाद्य यन्त्रहरूको उल्लेख्य हिस्सा रहेको उनले बताए ।

सांस्कृतिक उद्योगमा लगानी गरेर समावेशी समृद्धिमा योगदान गर्न पनि अध्यक्ष ढकालले आग्रह गरे ।

पर्यटन मार्फत पनि साना तथा मझौला उद्यमलाई प्रवर्द्धन गर्न सकिने भएकाले नेपाल भ्रमण गरी लगानी गर्ने अवसर खोज्न पनि अध्यक्ष ढकालले लगानीकर्तालाई आग्रह गरे ।

बढ्दो पर्यटन बजारलाई लक्षित गरी होटल, थिम पार्क, केबलकार लगायतका पर्यटन पूर्वाधारमा लगानी खोजिरहेकाले साझेदारीका लागि पनि अध्यक्ष ढकालले लगानीकर्ताको ध्यानाकर्षण गराए ।

भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने भएको र  बंगलादेशमा पनि थप बजार सुनिश्चित रहेकाले जलविद्युतमा लगानीका लागि पनि उपयुक्त अवसर सृजना भएको अध्यक्ष ढकालले बताए ।

लगानीको वातावरण सुधार गर्ने उद्देश्यले व्यवसाय गर्न सम्बन्धी विभिन्न कानुनहरू परिमार्जन गरेको विदेशी लगानीकर्ताहरूलाई सहजीकरण गर्न द्विपक्षीय लगानी सम्झौता फ्रेम वर्क पारित भएकाले सहज अवसरको उपयोग गर्न पनि अध्यक्ष ढकालले बाह्य लगानीकर्ताहरुलाइ आग्रह गरे ।

अध्यक्ष ढकालले नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताहरूलाई सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासंघ तयार रहेको र हेल्प डेस्क मार्फत विदेशी लगानीकर्ताहरूलाई नीति र प्रक्रियाहरू बुझ्न मद्दत गरिरहेको जानकारी पनि गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?