+
+

जापान चिनाउने ‘जापान : सपना, सङ्घर्ष र सफलता’

‘जापान : सपना, सङ्घर्ष र सफलता’ जापानसँग जोडिएका नागरिकका लागि ‘आँखा’ हो । किताब जापान चिनाउने एक ग्रन्थ हो । साथै यो पुस्तकले विश्वको जुनसुकै कुनामा बसे पनि जापान चिन्न र बुझ्न चाहनेहरुका लागि सेतुको काम गर्छ ।

मनिषा चम्लागाईं मनिषा चम्लागाईं
२०८१ असोज ७ गते १७:२०

जिज्ञानकुमार थापाद्वारा लिखित ‘जापान : सपना, सङ्घर्ष र सफलता’ नामक गैरआख्यान पुस्तक पढेर भर्खरै सिध्याएँ । चक डस्टर प्रकाशन गृह बानेश्वर काठमाडौं प्रकाशक रहेको उक्त पुस्तकमा लेखक थापाले सपनाको देश जापानमा गरेको सङ्घर्ष र सफलतालाई बडो सरल र मनछुने किसिमले प्रस्तुत गरेका छन् । हेर्दै आकर्षक आवरणको उक्त पुस्तकमा थापाले बाल्यकालमै नेपालमा भेट भएका जापानी नागरिक र उनीहरुसँगको कुराकानीले जापान आउने इच्छा बढेको विषयसँगै पुस्तकको प्रारम्भ भएको छ ।

२०३६ सालमा ललितपुरमा जन्मिएका थापा बाल्यकालदेखि नै जापानी नागरिक, जापानी संस्कृति र जापानी प्रविधिकाबारेमा जिज्ञासा राख्थे । विद्यार्थी जीवनमा नै जापानी भाषाको स्वअध्ययन गरेका थापा पहिलो पटक नेपालमा कार्यरत जापानको गैरसरकारी संस्थामा अनुवादकको काम गर्न पहिलो पटक जापान आएका थिए । उनको जापानसँगको सम्बन्धको सुरुवात जाइकाका स्वयंसेवक संस्थाबाट भएको उल्लेख गरेका छन् ।

त्यसबेला तीन हप्ता जापान बसेका थापालाई जापानी मोहले छोडेन । त्यसपछि २१ वर्षे उमेरमा विश्वविद्यालय शिक्षाका लागि उनी जापान आए । तर यसपटक परिस्थिति फरक थियो । अध्ययनका लागि जापान आएका थापालाई केही खर्च जुटाउनुपर्ने बाध्यता पनि थियो ।

त्यस समयमा पढ्दै अस्पतालको ऐना सफा गर्ने काम गरेका थापा आज कानागावा प्रिफेक्चर गभर्नरको सल्लाहकार बन्न सफल भएका छन् । उनै लेखक थापाले आफ्नो दुई दशक लामो जापान बसाइको अनुभवलाई साङ्गोपाङ्ग प्रस्तुत गरेको पुस्तक हो ‘जापान : सपना, सङ्घर्ष र सफलता’ । यो यात्रामा थापाले भोगेको, पढेको र देखेको वास्तविक जापानलाई सबै नेपालीले चिनुन् भन्ने उद्देश्यले पुस्तकका विषय वस्तु समेटेका छन् ।

थापाले जापानको सरकारी सेवा सुविधा लिनेदेखि जापानी टेलिभिजनमा समाचार विश्लेषक बन्न गरेको संघर्ष निक्कै रोचक छ । जापानमा जुनसुकै क्षेत्रमा जापानी भाषाको प्रयोग हुनाले विदेशीले यो स्तरसम्मको सफलता हात पार्न कम मेहनतले पक्कै पुग्दैन । हामीले सहजै अनुमान लगाउन सक्छौं आफ्नो लक्ष्य प्राप्तिका लागि अनेक अप्ठ्यारा घुम्ती छिचोलेका छन् थापाले ।

जापान सरकार अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२३ डिसेम्बरसम्म जापानमा एक लाख ७६ हजार हाराहारीमा नेपालीको संख्या पुगेको छ । यसरी नेपालीको संख्या वृद्धि भइरहेको अवस्थामा कसरी क्षमता विकास र गुणस्तरमा जोड दिनुपर्छ भन्ने ज्ञान ‘जापान : सपना, सङ्घर्ष र सफलता’ मार्फत पाठकले पाउँछन् । खासमा थापाले पुस्तकमा अवसरको देश जापानमा शिक्षा र स्वास्थ्य क्षेत्रका प्रावधानहरु, नेपालीहरुको अवस्था र बढ्दो क्रम, सफलता हासिल गर्ने उपायहरु, दैनिक जीवनमा पालना गर्नुपर्ने नियमदेखि लिएर विद्यार्थी जीवन कसरी उपयोगी बनाउने भन्ने विषयमा मिहिन ढंगले व्याख्या गरेका छन् ।

‘वाकाइ तोकिनो कुरो वा खात्ते देमो सिरो’ नेपाली भाषामा अर्थ लगाउँदा ‘जीवनमा दुःख गर्नुपर्छ, दुःख छैन भने किनेर भएपनि दुःख गर्नुपर्छ’ भन्ने जापानी उखानलाई शिरोधार्य गर्दै अघि बढेका थापाको अनुभवलाई साक्षी राख्ने हो भने जापानमा सफल हुन नेपाली सर्कलमा मात्र सीमित र परनिर्भर हुनुहुँदैन । फरक भाषा, संस्कृति छुट्टै परिवेश रहेको देश जापानमा आउने अवरोधहरुका बीच नहडबडाई निरन्तर कोसिस जारी राखे सफलता अवश्य हात पर्छ ।

विद्यार्थीबाट रोजगारी हुँदै आश्रित परिवारले पनि सफलता हात पार्न सक्ने देश जापानमा समय, नियम र बाचा पालनामा नचुकेको खण्डमा जापानीले नेपालीप्रति गर्ने विश्वास बढेर जान्छ । जापानमा आफ्नो भन्दा अरुको बारेमा बढी सोच्ने गरिन्छ । आफ्नो कारण कसैलाई अप्ठ्यारो नपरोस् भन्ने सोच भएका जापानीसँग नेपालीहरु मिल्दोजुल्दो व्यवहार प्रस्तुत चुकिरहेको विषय पुस्तकमा उजागर गरेका छन् ।

जापानको सरकारी माध्यमिक विद्यालय हिरानुमा हाईस्कुलको सञ्चालक समितिमा बसेर काम गरिसकेका थापाले बालबालिकाका लागि हरेक दिन महत्वपूर्ण हुने उल्लेख गर्दै जापानमा जन्मेका बालबालिकाहरुलाई विभिन्न स्माइल जेमी, स्मार्ट सप्लि जस्ता एप प्रयोग गरेर वा कुमोन जस्तो ट्युसन समेत पढाउन सकिने अनुभव साटेका छन् ।

विश्वमा नै अनुशासित भनेर चिनिएका जापानी नागरिक सार्वजनिक क्षेत्रमा उपस्थिति जनाउँदा कसैलाई पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पुर्‍याउँदैनन् । ट्रेन, बस तथा सार्वजनिक यातयातको प्रयोग गर्दा शान्त रहने, झोला पछाडि भिरेर बोक्दा अरुलाई असर पर्ने भएर, झोला अगाडि भिरेर बोक्ने, बाटोमा हिंड्दा चुरोट खान नमिल्ने, फोहोरलाई छुट्याएर मात्र फ्याँक्ने, साइकल चलाउँदाका नियम पालना गर्ने जापानी नियम तथा संस्कृतिलाई यस किताबमा समेटिएको छ ।

किताबमा जापान र नेपालबीचको व्यापारिक सम्बन्ध कसरी बढाउने भन्ने विषयवस्तु पनि समेटिएको छ । जापानी भाषाको ज्ञान भएका नेपालीले जापानी वा विश्वलाई लक्षित व्यापार गर्नेतिर पनि नेपाली व्यवसायीहरुले व्यक्तिगत तथा सामूहिक लगानीमा काम गर्ने अवसरहरु जापानमा छन् । जापान र नेपालको व्यापारिक नेटवर्क बढाउन सके जापानका टेलिकम्युनिकेसन कम्पनी, बैंक, इन्फ्रास्ट्रक्चर लगायत डाटासेन्टर जस्ता ठूला व्यवसाय नेपालमा गएर काम गर्न खोजिरहेका छन् । तर उनीहरुसँग भरपर्दो संस्था नभएका कारण नेपालले व्यावसायिक फाइदा लिन नसकिरहेको मूल्यांकन थापाले गरेका छन् ।

नेपाल र जापानको सरकारी स्तरका वार्ताहरुमा नेपाल सरकारको तर्फबाट औपचारिक जापानी भाषाको अनुवादक रहेका थापा नेपाली व्यवसायीले जापानमा आफ्नो उत्पादन निर्यात गर्दा एउटै गुणस्तरको सामान पठाउन नसकेको टिप्पणी गर्दै लेख्छन्, ‘नेपालबाट मगाएर सेभिनियर राम्रो बिक्री भएर फेरि मगाउँदा अर्कै आयो भन्ने कुराहरु जापानका व्यापारीबाट सुन्नमा आउँछ । यसले के देखाउँछ भने हामी यस्ता कुरालाई साना-मसिना कुरा भनेर सोच्छौं तर जापानीहरु यस्ता विषयलाई महत्वका साथ हेर्छन् ।’

नेपाली सामान जापानमा र जापानी पर्यटक नेपालमा पुर्‍याउन सकेको खण्डमा नेपालको आर्थिक विकास हुने देखिन्छ । जापानमा चाउचाउ, बियर लगायतका केही नेपाली उत्पादन आएका छन् । जापानमा थप नेपाली कालीगढले कुँदेका बहुमूल्य मूर्ति, नेपालको भर्जिन ल्यान्डमा उत्पादित अदुवा, बेसार, औषधिमा प्रयोग हुने जडीबुटीको माग जापानमा सोचे भन्दा राम्रो रहेको प्रसंग लेखकले उल्लेख गरेका छन् ।

साथै, जापानमा रहेका नेपाली व्यवसायी र नेपालबाट पनि गर्न सकिने व्यवसाय भनेको पर्यटन व्यवसाय हो । वार्षिक दुई करोड जापानी विदेश घुम्न जाने कुरा तथ्यांकले देखाएको छ । तर उनीहरुको रोजाइको देशमा नेपाल पर्न सकिरहेको छैन । त्यसैले जापानमा रहेका नेपालीले व्यक्तिगत पहलमा आफ्नो सम्पर्कमा रहेका जापानीहरुलाई नेपालका पर्यटकीय स्थल तथा आफू जन्मेको गाउँमा पर्यटक लिएर जान सकेको खण्डमा नेपालको स्थानीय क्षेत्रको प्रचारसँगै आयआर्जन वृद्धि हुनुका साथै जापानी समेत खुसी हुने रहेछन् भन्ने सिकाइ यस पुस्तकको अध्ययनले देखाउँछ ।

‘जापान : सपना, सङ्घर्ष र सफलता’ जापानसँग जोडिएका नागरिकका लागि ‘आँखा’ हो । किताब जापान चिनाउने एक ग्रन्थ हो । साथै यो पुस्तकले विश्वको जुनसुकै कुनामा बसे पनि जापान चिन्न र बुझ्न चाहनेहरुका लागि सेतुको काम गर्छ । पुस्तकमा जापानी संस्कृति, रहनसहन, परम्परा, भाषाशैलीदेखि जापान बस्दा अवलम्बन गर्नुपर्ने हरेक विषयलाई थापाले सरल ढंगले व्याख्या गरेका छन् । पुस्तकले दिने महत्वपूर्ण सन्देश भनेको लेखकले परदेशमा अनेकौं कष्ट सहेर सम्भव हुनेसम्मको उन्नति हात पारेका छन् । यसले जोकोहीलाई प्रेरणा दिन्छ ।

लेखकको बारेमा
मनिषा चम्लागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?