+
+

सञ्चालनमा आयो साल्ट ट्रेडिङको सहुलियत पसल, छुट कतिसम्म ?

साल्ट ट्रेडिङका अनुसार चाडपर्व लक्षित सहुलियत पसलमा खाद्यान्न, गेडागुडी, तेल र मसलाजन्य सामग्री मात्रै पाइन्छ । बजार मूल्यभन्दा नुनमा किलोको २ र चिनीमा ५ रुपैयाँ, तेल लिटरमा ७, चिउरा, पिठो र मैदामा प्रतिकिलो ७ रुपैयाँ छुट दिइएको छ ।

अमृत चिमरिया अमृत चिमरिया
२०८१ असोज ७ गते १८:३६
फाइल तस्वीर

७ असोज, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आज सोमाबरदेखि देशभरि सहुलियत पसल सञ्चालन गर्न थालेको छ ।

२३ भदौमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको निर्णय अनुसार सोमबारदेखि सहुलियत पसल सञ्चालनमा आएको साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले बताए ।

राजभण्डारीका अनुसार साल्ट ट्रेडिङले प्रत्येक वर्ष झैं यसपालि पनि सहुलियत पसल सञ्चालन थालेको हो । सहुलियत पसल छठ पर्वसम्म सञ्चालन हुनेछ ।

‘हामीले उपत्यकामा तीन वटा घुम्ती पसल सहित १२ सहुलियत पसल र अन्य २१ जिल्लाका विभिन्न सहरमा सहुलियत पसल सुरु भएको छ,’ राजभण्डारीले अनलाइनखबरसँग भने ।

साल्ट ट्रेडिङका अनुसार काठमाडौं, भक्तपुर र काभ्रेमा सहुलियत पसल सञ्चालन भएको छ ।

उपत्यकाका कुन ठाउँमा छन् सहुलियत पसल ?

१) कालिमाटी

२) सतुंगल

(३) जावलाखेल

४) कोटेश्वर

५) सिफल

६) कपन

७) बालाजु

(८) भक्तपुर (सल्लाघारी)

९) कौशलटार

(१०) बनेपा

११) धुलिखेल (चेम्बरको सहकार्यमा)

१२) घुम्ती ३ वटा

उपत्यका बाहिर कहाँ छन् सहुलियत पसल ?

साल्ट ट्रेडिङले उपत्यका बाहिर २१ जिल्लाका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ । झापा बिर्तामोड, मोरङ विराटनगर, सप्तरी राजविराज, सिरहा लहान, धनुषा जनकपुर, पर्सा वीरगञ्ज, मकवानपुर हेटौंडा, चितवन नारायणगढ र नुवाकोट त्रिशूलीमा सहुलियत पसल सञ्चालनमा आएको हो ।

त्यसैगरी कास्की पोखरा, बागलुङ, रुपन्देही भैरहवा, कपिलवस्तु कृष्णनगर, दाङ, सुर्खेत, बाँके नेपालगञ्ज, कैलाली धनगढी, टिकापुर र अत्तरिया, कञ्चनपुर बेलौरी र महेन्द्रनगर, डोटी दिपायल र बैतडी बैतडी पाटनमा सहुलियत पसल खुलेको हो ।

कति पाइन्छ छुट ?

साल्ट ट्रेडिङका अनुसार चाडपर्व लक्षित सहुलियत पसलमा खाद्यान्न, गेडागुडी, तेल र मसलाजन्य सामग्री मात्रै पाइन्छ । बजार मूल्यभन्दा नुनमा किलोको २ रुपैयाँ र चिनीमा ५, तेल लिटरमा ७, चिउरा, पिठो र मैदामा प्रतिकिलो ७ रुपैयाँ छुट दिइएको छ ।

‘हाम्रोमा मूल्यमात्र सहुलियत होइन, गुणस्तरीय सामग्री पनि बिक्री गर्छौं,’ राजभण्डारीले भने ।

खाद्यको सुपथ मूल्य पसल ३ असोजदेखि नै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने ३ असोज बिहीबारदेखि नै सुपथ मूल्य पसल सञ्चालनमा ल्याइसकेको छ । ४२ जिल्लाका ६३ स्थानमा खाद्यले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरेको हो ।

उपत्यकाका थापाथली, रामशाह पथ, नख्खु र सूर्यविनायकमा बिक्री कक्ष छ । ५० हजार क्विन्टल खाद्यान्न सहुलियतमा बिक्री गर्ने लक्ष्य राखेको खाद्य व्यवस्था कम्पनीले चामल, दालमा बजार प्रचलित मूल्यमा किलोको ५ रुपैयाँ छुट दिइएको जनाएको छ ।

त्यस्तै तेल लिटरमा ५ रुपैयाँ तथा गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा किलोको ७ रुपैयाँ छुट दिइएको छ । कम्पनीले कर्णाली सिमी÷गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सीमा किलोको ७ रुपैयाँ छुट दिएको छ । आवश्यकता अनुसार खाद्यान्नका लागि कम्पनीले ठेक्का लगाइसकेको जनाएको छ ।

चाडपर्व लक्षित गरेर कम्पनीले जिउँदो खसी–बोका र च्यांग्रा तथा डीडीसी घिउमा किलोको १० रुपैयाँ छुट दिइएको कम्पनीले जनाएको छ ।

कम्पनीले मकवानपुर, तुल्सीपुर लगायत स्थानबाट खसी–बोका १ हजार ५ सय वटा ल्याएर बेच्ने जनाएको छ । त्यस्तै मुस्ताङको कालो च्यांग्रा ३ सय वटा बेच्ने जनाएको छ । च्यांग्रा र खसी–बोका कम्पनीको प्रादेशिक कार्यालय थापाथलीमा मात्रै पाइने छ ।

च्यांग्रा र खसी–बोका घटस्थापना आसपासदेखि कम्तीमा नवमीको दिनसम्म बेच्ने कम्पनीले जनाएको छ । चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्न सरकारले कम्पनीलाई ३ करोड बजेट विनियोजन गरेको थियो । सहुलियत पसल आगामी २ माघसम्म सञ्चालन हुनेछ ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?