+
+

दुई महिनामा भित्रिए १६ सय ईभी

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते १९:१५
फाइल तस्वीर

७ असोज, काठमाडौं । नाडा अटो शो र चाडपर्वले गर्दा भदौमा विद्युतीय गाडी (ईभी) आयात बढेको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ पहिलो दुई महिनामा १ हजार ६ सय २ युनिट ईभी (कार, जिप र भ्यान) को आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । गत आव सोही अवधिमा ८ सय ९८ युनिट मात्रै ईभी आयात भएको थियो ।

सरकारले १५ जेठमा संसदमा पेस गरेको आर्थिक विधेयक मार्फत ईभीमा लाग्ने भन्सार र अन्तःशुल्क बढाएको थियो ।  सरकारले कर बढाए पनि ईभीप्रतिको आकर्षण झनै बढ्दै गएको छ ।

चालु आव साउनमा ३ सय ८१ र भदौमा १ हजार २ सय २१ युनिट ईभी आयात भएको छ ।  गत आव साउनमा १ सय १० र भदौमा ७ सय ८८ युनिट गाडी आयात भएकोमा चालु आवमा उल्लेख्य वृद्धि भएको छ ।

सरकारले आर्थिक विधेयक मार्फत ईभीमा भन्सार र अन्तःशुल्क समेत गरी १० प्रतिशत कर बढाएको छ । सरकारले इन्ट्री लेभलका गाडीको भन्सार र अन्तःशुल्क समान ५ प्रतिशतले बढाउँदा उच्च क्षमताका मोटर जडित गाडीको भन्सार बढाएर अन्तःशुल्क घटाएको थियो ।

१० प्रतिशतले कर वृद्धि हुँदा पनि ईभीप्रतिको आकर्षण भने बढ्दो देखिन्छ । ईभीमा इन्ट्री लेभलतर्फ ५० किलोवाटसम्म र ५१ देखि १०० किलोवाट मोटर क्षमता भएका गाडी उच्च रहने गरेको छ ।

चालु आव दुई महिनामा ५० किलोवाटसम्म मोटर क्षमता भएका ५ सय ६० र ५१ देखि १०० किलोवाट मोटर क्षमता भएका ९ सय ३८ युनिट गाडी आयात भएका छन् ।

यस्तै १०१ देखि २०० किलोवाट मोटर क्षमता भएका ९९ युनिट, २०१ देखि ३०० किलोवाट मोटर क्षमता भएका ३ र ३०० किलोवाटभन्दा माथि मोटर क्षमता भएको २ युनिट गाडी आयात भएका छन् ।

१ हजार ६ सय २ युनिट ईभी आयात हुँदा ४ सय ७५ युनिट भारत र १ हजार १ सय २५ युनिट चीनबाट आयात भएको छ । त्यस्तै १/१ युनिट गाडी अमेरिका र जर्मनीबाट आयात भएको भन्सार विभागको तथ्यांक छ ।

यसले नेपालमा आयात हुने ईभीमा ७० प्रतिशतभन्दा धेरै हिस्सा चीनको रहेको देखाउँछ । दुई महिनामा ३ अर्ब ८२ करोड ७४ लाख ९१ हजार रुपैयाँ बराबर ईभी आयात हुँदा सरकारले २ अर्ब ३१ करोड २२ लाख राजस्व प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?