+
+

शौचालयको भेन्टिलेसन काटेर भागेका थिए ९ थुनुवा, दुईवटा छानबिन समिति गठन

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८१ असोज ७ गते २०:१६

७ असोज, जनकपुरधाम । आइतबार राति जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर फरार भएका ९ थुुनुवामध्ये ७ जना पुनः पक्राउ परेका छन् । फरार रहेका दुई जनाको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले बताए ।

हिरासत फोडेर भागेकामध्ये धनुषाको जनकपुरधाम–२१ रुपैठाका अमितकुमार झा, विदेह नगरपालिका– ७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल, २४ वर्षीय रोशनकुमार मण्डल, सिरहा नगरपालिका– १३ का ३३ वर्षीय अभास्कर कुमार यादव र धनुषाको औरही गाउँपालिका २ का सत्यम झा पक्राउ परेका छन् ।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिका १ का १७ वर्षीय सुमित मेस्तर र जनकपुरधाम ४ का २२ वर्षीय विक्की कार्की पनि पक्राउ परे ।

धनुषाको औरही गाउँपालिकाका २३ वर्षीय विशाल मुखिया र नगराइन नगरपालिका २ का १८ वर्षीय मनिष मण्डल भने फरार छन् ।

हिरासत फोडेर ठूलो संख्यामा थुनुवा फरारको घटनाले प्रहरीको सुरक्षा लापरबाही देखाएको छ । डेढ वर्षअघि १४ माघ २०७९ मा धनुषाकै इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ थुनुवा भागेका थिए ।

जिल्ला प्रहरीको हिरासतबाट थुनुवा फरार भएको घटनाको छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालयले एसएसपी सुरेन्द्र गुरुङको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । गुरुङका अनुसार समितिलाई १५ दिन म्याद दिइएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय धनुषाले पनि डीएसपी रञ्जन अवाको नेतृत्वमा पाँच सदस्य छानविन समिति गठन गरेको छ ।

आइतबार राति जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको शौचालयको भेन्टिलेसन काटेर ९ जना थुनुवा फरार भएका थिए ।

थुनुवा फरार भएको घटनापछि मधेश प्रदेशका प्रहरी प्रमुख डीआइजी लालमणि आचार्य, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया लगायतले हिरासत कक्षको अवलोकन गरेका थिए ।

थुनुवा भाग्नुमा प्रहरीको चरम लापरबाही रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी अधिकारीहरु बताउँछन् । थुनुवाहरुले पूर्वयोजना बनाएर नै हिरासत कक्षबाट भागेको उनीहरुको भनाइ छ ।

एक प्रहरी अधिकारीका अनुसार थुनुवाहरुले दुईवटा फलाम काट्ने हेक्सो ब्लेडले हिरासतको भेन्टिलेसनको फलामे रड काटेर बाहिर निस्कने बाटो बनाएका थिए ।

‘उनीहरुले पाँच दिनको अन्तरालमा दुईवटा हेक्सो ब्लेड छिराएका थिए । पहिलेको हेक्सो ब्लेडको धार गएपछि अर्को ब्लेडले काटेर बाहिर निस्केको पक्राउ परेकाहरुले बयानमा भनेका छन्’, ती प्रहरी अधिकारीले सुनाए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले पनि हेक्सो ब्लेड प्रयोग गरेर हिरासत काटेर भागेको देखिएको बताए । ‘हेक्सो ब्लेड प्रयोग गरी भेन्टिलेसन काटेको जस्तो देखिन्छ । हतियार कसरी भित्र छिर्‍यो भन्ने लगायतको विषयमा छानबिन प्रतिवेदन नआउँदासम्म के कसरी भएको भन्न सकिन्न’, उनले भने ।

सेन्ट्री बस्नेदेखि प्रहरी उपरीक्षक (एसपी) सम्मले एकसातामा हिरासत कक्षको निरीक्षण अनुगमन नगरेको ती प्रहरी अधिकारीको भनाइ छ । त्यति मात्र होइन हिरासत कक्षको सिसीटिभी क्यामेरा पनि एकसातादेखि बिग्रेको थियो ।

‘कसैले पनि एक सातासम्म हिरासतको निरीक्षण अनुगमन राम्ररी नगरेको देखिन्छ । यदि गरेको भए यस्तो घटना हुनै नै थिएन । यसमा हिरासत व्यवस्थापनदेखि कार्यालय प्रमुखसम्मको ठूलो कमजोरी देखिन्छ’, एक प्रहरी अधिकारीले भने ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी अवाले आफू बिदाबाट तीनदिन अघि मात्र कार्यालय आएको र हिरासत कक्षको निरीक्षण गर्न नसकेको स्वीकारे ।

धनुषाका प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीले आफूले नियमित रुपमा हिरासतको निरीक्षण गर्ने गरेको तर हिरासतभित्र भने १/२ दिनको फरकमा मात्र प्रवेश गर्ने गरेको बताए ।

‘मैले ओभर अल नै नियमित निरीक्षण गर्ने गरेको छु । तर हिरासतको भित्री कक्षमा १/२ दिनमा मात्र भित्र पसेर हेर्ने गरेको थिएँ’ उनले भने, ‘हेक्सो ब्लेड कसरी भित्र छिरायो भन्ने विषयमा छानबिन हुन्छ ।’

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?